सोमवार, अशोज ५, २०७७
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • हाम्रा स्याउले जहाज चढ्ने दिन पनि आएछन्
Breaking News

हाम्रा स्याउले जहाज चढ्ने दिन पनि आएछन्

जुकाेटकाे स्याउ नेपालका ठुला बजारमा

  • नागरिक रैबार
हाम्रा स्याउले जहाज चढ्ने दिन पनि आएछन्

निमेन्द्र शाही/बाजुरा ३१ भदाै । ‘मैले स्याउ खेती गरेको २० वर्ष भयो । फलेकाे स्याउ यसअघि बारीमै कुहिन्थ्यो, गाई र भैँसीलाई खुवाइन्थ्यो’, स्वामीकार्तिक खापर गाउँपालिका- ३, जुकाेटका पुरीन्द्र शाहीले भने, ‘तर यस वर्षदेखि मेराे बारीबाटै स्याउ बिक्न थालेकाे छ ।’

स्याउले बजार पाउने भएपछि अब जीवनयापनका लागि सहज हुने अपेक्षा उनले गरेका छन् ।स्याउका लागि जुकाेट उर्वर मानिन्छ । २/४ सय बाेट स्याउ प्रायजसाे परिवारले लगाएका छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् ।

विज्ञापन

यद्यपि, बजार नपाउँदा यहाँ उत्पादित स्याउ बारीमै कुहिने तथा चाैपायाकाे आहारका रूपमा प्रयाेग हुने गरेकाे थियाे । अब भने किसानले उत्पादन गरेकाे स्याउ बारीबाटै बिक्न थालेकाे छ ।’म स्वयंले अहिलेसम्म जहाज चढेको छुइनँ तर मेरो बारीको स्याउ जहाजमार्फत बजारसम्म पुग्न थालेकाे छ’, शाहीले उत्साहित हुँदै भने ।

स्थानीय भूपेन्द्र शाहीको बारी ४ सय बाेटमा लटरम्मै फलेका स्याउले रंगीन देखिन्छ । धेरै स्याउ फल्दा यसअघि उनी खासै उत्साहित हुँदैन थिए बरु यति राम्रोसँग फलेको स्याउ सबै खेर जाने चिन्ताले सताउँथ्यो उनलाई ।

‘यसअघिका वर्ष मुस्किलले एक/दुई हजार रुपैयाँ आम्दानी हुन्थ्याे’, उनले भने, ‘अहिले त गज्जब भयाे, मैले स्याउको बोटमै किलाेकाे ४० रुपैयाँ पाएँ ।’नबिक्ला भनेर उनले स्याउ काट्ने तयारीसमेत गरेका थिए । कुहिएर जाने स्याउ बारीबाटै बिक्री हुन थालेपछि उनमा स्याउ खेती गरेर राम्राे आम्दानी गर्न सकिने आत्मविश्वास बढेकाे छ ।

शुनन्दा माध्यमिक विद्यालयका शिक्षक प्रताप शाही याे वर्ष गाउँका किसानका लागि सुखद रहेकाे बताउँछन् । ‘गाउँमा ठूलो क्षेत्रफलमा गाउँलेले स्याउ लगाएका छन् । यसअघि बोटको स्याउ नबिकेर बारीमै सड्थ्याे वा गाई, भैँसीलाई खाेले बनाएर खुवाइन्थ्याे’, शाहीले भने, ‘यस वर्षदेखि भने किसानले बारीबाटै स्याउ बेच्न पाएका छन् ।’

बाजुरामा २ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ। यहाँ हरेक वर्ष १ हजार ५० मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ। यस वर्ष स्याउ फुल्ने समयमा असिना परेकाले २५ प्रतिशत उत्पादन घटेको छ।

जिल्लाकाे पूर्वाेत्तर क्षेत्रका चार स्थानीय तहमा स्याउ खेती गर्ने किसानकाे संख्या धेरै छ । शिक्षक शाहीका अनुसार किसानहरूले उत्पादन गरेकाे स्याउ गत वर्षदेखि नै गाउँ बाहिर लग्न थालिएकाे हाे । यद्यपि, अघिल्लाे वर्ष किसानले खासै चित्तबुझ्दाे मूल्य पाएका थिएनन् ।

अब भने सडक सञ्जालसँग नजोडिएका कतिपय गाउँमा उत्पादित स्याउ खच्चडलाई बाेकाएर कोल्टी विमानस्थलसम्म पुर्‍याइ जहाजमार्फत नेपालगञ्ज झार्न थालिएकाे छ । यसका लागि कृषकलाई सम्बन्धित स्थानीय तहअन्तर्गतकाे नमुना कृषि गाउँ कृषक समन्वय समिति’ले सहजीकरण गरिदिन्छ ।

‘हातमा पैसा आएको छ, बारीमा टिप्न पनि परेको छैन,’ जुकटकै कृषक वीरेन्द्र राकायाले खुसी साटे, ‘वर्षभरी हामीले हेरविचार गर्ने हाे , सिजनमा समन्वय समितिका मान्छे आउँछन्, स्याउ टिपेर एयरपाेर्टसम्म पुर्‍याउँछन् ।’

सोही गाउँका गजुरु सिंह बिक्री नभएर कुनै बेला स्याउकाे बगैँचा फाडेकाे सम्झँदै भन्छन्, ‘यसअघि बजार नपाएर वार्षिक लाखौं मूल्य बराबरको स्याउ खेर जान्थ्याे । गाउँपालिकाबाट भारी बोकेर कोल्टी बजार पुर्‍याउन दुई दिन लाग्थ्याे अनि बगैँचा नफाँडेर के गर्नु ? अब भने आराम भयो ।’

जुकोटसहित स्वामीकार्तिक खापर गाउँपालिका- १ र २ नम्बर वडा, हिमाली गाउँपालिकाका धीम, पाडी, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाकाको साबिकको पाण्डुसैन प्रशस्तै स्याउ उत्पादन हुने क्षेत्र हुन् ।

स्याउ फलाउन सरकारी तथा गैरसरकारी संस्थाले गरेको खर्चको तथ्यांक छैन तर विश्व खाद्य कार्यक्रमलगायतका गैरसरकरी संस्था र जिल्ला कृषि विकास कार्यालयले हरेक वर्ष स्याउका बिरुवा उत्पादनमा लगानी गर्ने गरेकाे स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जिवी शाहीले जानकारी दिए ।

कसरी पुग्छ धनगढीमा स्याउ ?
स्याउ बढी उत्पादन हुने स्थानीय तहरू ‘नमुना कृषि गाउँ कृषक समन्वय समिति’ का नाममा संगठित भएका छन् । समितिले किसानका बारीमै गएर स्याउ किन्छ, प्याकिङ गर्छ र ग्रेडीङ्ग गरी कृषकहरूलाई स्याउको मुल्य बुझाउँछ । खच्चडमा राखेर स्याउ विमानस्थलसम्म पुर्‍याउने पनि समितिले नै हाे ।

स्याउ धेरै फल्ने कतिपय स्थानीय तहका केन्द्र नै सडक सञ्जालसँग जोडिएका छैनन्। त्यसैले बारीमा टिपेर कार्टुनमा प्याक गरिएको स्याउ कोल्टीको विमानस्थलसम्म ल्याउन खच्चडकाे प्रयाेग गरिन्छ, कतिपय अवस्थमा मानिसले नै बाेकेर पुर्‍याउँछन् ।

यसरी विमानस्थल हुँदै नेपालगञ्जसम्म स्याउ पुर्‍याउन प्रतिकेजी १५ रुपैयाँ खर्च हुन्छ ।

गत वर्ष बाजुराबाट पहिलो पटक स्याउ ब्रण्डसहित बजारमा गएको थियो। रसिलाे स्याउले लाेभिएका उपभोक्तामाझ याे लाेकप्रिय बन्याे र यस वर्ष माग बढ्याे ।

त्यसाे त यसअघि नै यहाँकाे स्याउ नेपालगञ्ज पुर्‍याउने प्रयास नभएकाे भने हाेइन । त्यस बेला जहाजले प्रति केजी भाडा ५५ रुपैयाँ भनेपछि उडाउन सकिएकाे थिएन । तर, अघिल्लाे वर्षदेखि तारा एयरलाइन्सले प्रति केजी १५ रुपैयाँमै उडाउन थालेपछि बाजुराका किसानले स्याउ बेचेर जीवनयापन सहज बनाउन पाएका छन् भने नेपालगन्जका उपभाेक्ताले बाजुराकाे रसिलाे स्याउ खान पाएका छन् ।

तारा इयर र जिएस इयर फास्ट कार्गाे सर्भिसका संचालक लक्ष्मीराज शाहीको पहलमा बाजुराको स्याउ सस्तो भाडामा नेपालगञ्ज पुगेको हो । अहिले बाजुरा आउने सबै जहाजले १५ रुपैयाँ प्रति केजीमा स्याउ बोकी रहेका छन्।

सरकारी सहायता
लामाे समयदेखि जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका किसानका स्याउ बारीमै कुहिने गरेकाे थियाे । यही कुरा मध्यनजर गर्दै यसवर्ष कृषिज्ञान केन्द्र बाजुराले ६ सय क्वीन्टल स्याउ ढुवानी अनुदानमार्फत् बजारसम्म पुर्‍याउने गरी काम थालेकाे केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले जानकारी दिए । अर्थात्, किसानकाे बारीबाट खच्चड र जहाज हुँदै नेपालगञ्जसम्म स्याउ झार्दाकाे भाडा किसानले अनुदानमा पाएका छन् ।

जैशीले भने, ‘बारीबाट बजारसम्म ढुवानी गराइदिने काम समन्वय समितिले गर्छ । जगन्नाथदेखि पिलिचौर र जुकोटदेखि पिलिचौरसम्म प्रतिकिलो १८ रुपैयाँ ७५ पैसा, कोल्टीदेखि मार्तडीसम्म १८ रुपैयाँ ९० पैसा र पाण्डुसेनदेखि मार्तडीसम्म १३ रुपैयाँ ५० पैसा प्रतिकिलो ढुवानी अनुदान निर्धारण गरिएको छ।’

अहिले गाउँमा स्याउ भण्डारण गर्ने र ग्रेडीङ गर्ने काम पनि भइरहेकाे छ । ‘पहिलापहिला बोटबाट टिपेर एक रुपैयाँको तीन दाना स्याउ बेच्नुपर्थ्याे’, जुकोटका महेन्द्र बहादुर शाहीले भने, ‘यस वर्ष बोटमै किलाेकाे ४० रुपैयाँ पाएका छाैँ ।’

उनको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो।

जिल्ला कृषिज्ञान केन्द्रले स्याउको ग्रेड निर्धारण गरेको छ। बाजुरामा अहिले रोयल डेलीसेस, रेड डेलिसेस, गोल्डेन डेलिसेस फुजी र गाला हाइडेन्सीटी गरी पाँच प्रजातिका स्याउ पाइन्छ । किसानको बारीमा ए ग्रेडको स्याउको प्रति केजी ४० रुपैयाँ, बी ग्रेडको प्रति केजी ४० र सी ग्रेडको स्याउको प्रति केजी ३० रुपैयाँ ताेकिएकाे छ ।

सुदूरपश्चिम प्रदेशको एक मात्र स्याउ फल्ने जिल्ला बाजुरा भएकाले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमअन्तर्गत गत वर्ष स्याउमा ढुवानी अनुदान दिँदा जिल्लाले ६० लाख बराबरको स्याउ निर्यात गरेको थियो । त्यहीअनुसार यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

यस वर्ष थप व्यवस्थापन गरी नमुना कृषि गाउँ कृषक समन्वय समिति गठन गरिएकाे छ । किसानहरूसमेत सम्मिलित समितिले नै स्याउकाे मूल्य निर्धारण गर्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार