३० मंसिर, बुटवल । अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीभित्रको विवादले सरकारको निरन्तरतामा असर नपर्ने बताएका छन् ।
मंगलबार बुटवलस्थित कान्ति माविको विज्ञान तथा छात्रावास भवनको शिलन्यास गर्दै उनले केपी ओली नेतृत्वको सरकार पूरा कार्यकाल टिक्ने दाबी गरे ।
‘नेकपा भित्रको अन्तरविरोधमा सुँड घुसाएर मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास भएको छ, तर त्यस्तो सपना पूरा हुँदैन’, कार्यक्रममा पौडेलले भने ।
पार्टीभित्र अहिले देखिएका समस्यालाई समाधान गरेर एकताबद्ध भएर अघि बढ्न पार्टी नेतृत्व सफल हुने उनको दावी छ । अन्तरविरोधले पार्टी एकतामा असर नगर्ने उनको भनाइ थियो ।
केही व्यक्तिहरूको अवरोधका कारण बुटवलको सडक निर्माण कार्य वर्षौंदेखि रोकिएको भन्दै अर्थमन्त्री पौडेलले अब सडक बिस्तारको काम अगाडि बढ्ने बताए ।
भवन निर्माणको लागि लुम्बिनी प्रदेश र संघीय सरकारको समपूरक बजेट अन्तर्गत १८ करोड ३० लाख ७८ हजार स्वीकृत भई १३ करोड ६५ लाख १ हजारमा अर्घाखाँची लुम्बिनी जेभीले दुई वर्षमा काम गर्ने गरी सम्झौता भएको विद्यालयका प्रधानध्यापक गोविन्द ज्ञवालीले बताए ।
फेसबुक प्रतिक्रियाहरु