होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक १४, २०७७
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • महिला र आर्थिक दायित्व
विचार/ब्लग

महिला र आर्थिक दायित्व

  • नागरिक रैबार
महिला र आर्थिक दायित्व

 सम्झना असफल ।

विचार ।

हाम्रो समाज कति एकलकाँटे र अमानवीय छ भन्ने जान्न धेरै टाढा जानै पर्दैन। आफ्नै घरपरिवार र छिमेक, नाता, कुटुम्बसम्म पुग्दा नै काफी हुन्छ। वैवाहिक सम्बन्धका आडमा जिउँदा–जाग्दा अवस्था खेपेको छ नारी समाजले। तराईका अधिकांश महिलाले साडी ब्लाउज लगाउँछन्। अझ साडीको आँचल टाउकाबाट तल झर्नै हुँदैन। कान्छी नन्दलाई लोग्नेले नितम्बमा चुरोटले पोलिदिए। कारण बच्चाले चुसेको नितम्ब घोप्टिएर काम गर्दा ब्लाउजबाट देखियो।  उनको विवाह मेरोभन्दा करिब चार वर्षअघि भएको थियो। मधेसी समुदायमा प्राय छोरीको विवाह चाँडै गरिदिने कु–परम्परा छ। उनी विवाह गरेर आफ्नो घर गएपछि एउटा सन्तान जन्मेपछिको घटना हो, यो। तर पनि लोग्नेलाई परमेश्वर मान्दै खुसी साथ बसेको, बाँचेको नक्कल गरिरहन्छिन् वरा। मेरो विवाहपछि मसँग त्यो कुरा खोलिन तर कसैलाई पनि नभन्ने सम्झौतामा। सुनिसकेपछि त मनमा सहन शक्तिको बाँध फुट्यो। भनिदिएँ –तिनलाई पनि अगुल्टाले हान्नु पर्थेन। तातो पानीले खन्याउनु नी ! छि, म भएको भए त त्यति नै बेला जबाफी कारबाही गर्ने थिएँ। कस्तो काँतर कान्छी तपाइँ त’ भने।

विज्ञापन

मन एकतमासले रोई रह्यो। मनमा अट्टाहस भएर आयो। निक्कै समयसम्म अधमरो बाँचे। तर उनको बाचाले गर्दा कुरा कसैसँग गर्नै सकिनँ। माइतबाट घर गइनँ, समय बित्दै गयो, उनको आउने जानेक्रम चलिरह्यो। तर मेरो मनमा परेको  नारीले भोगेको त्यो अपमान झन् आगो हुँदै गयो।

जबसम्म आर्थिक रूपमा महिला पूर्णरूपले सक्षम हुँदैनन् तबसम्म यो पुलिंगीय सत्ता र तिनका साझेदारहरूले महिलालाई भोग्य वस्तुभन्दा माथि उठ्न दिँदैनन् र पृथक बाँच्न पनि।

एकजना बहिनी थिइन्, उसले पनि लोग्नेलाई परमेश्वर नै मान्थिन् वरा। तिनका लोग्नेले अर्की हाल्दा पनि लोग्नेविना बाँच्नै नसक्ने तिनी। रक्सीको नसामा मात्तिएर मुखभरि पान र रजनी गन्धाले दङ्दङ गन्हाएको लोग्ने देख्नेबित्तिकै संसारका सवैभन्दा सुन्दर चिज टप्केजस्तै गरी कुथ्थिन, लोग्ने भएतिर। जता लोग्ने जान्छ उतै थक थुकेको थाप्न बाल्टी, कप अथवा कुनै भाँडा बोकेर दौडिन्थिन्। लोग्नेले समागमको सोंच राखेमा दिनमा, रातमा, बिहान, बेलुका जति नै बेला पनि आफूलाई सुम्पिन्थिन्। यावत कुरा सुनेर म त डराएँ, पहिले त। अचम्म छ वा ! त्यतिसम्म समर्पित हुँदाहुँदै अर्की ल्याउने लोग्नेको नाउमा कैयांैपल्ट तिनले तीजको व्रत बसिन्। सन्तोषी माताको व्रत बसिन्। तर पनि पति परमेश्वरले थाहै पाएन स्वास्नीको समर्पण, त्याग, प्रेम,। समागमको क्रममा लोग्नेले टोकेका निल र चिमोटेका डाम कसरी सहजै सहन र लुकाउन सकेकी विचरीले। यावत सहेर पनि पति परमेश्वरले छाडेर भागे अर्कीलाई काखी च्यापेर। अहिले दुई बच्चासँग बाँच्न विवश छिन्।

यस्ता महिलाको संख्या गनिसाध्य छैन तराईमा। अधिकांश पति परमेश्वरले महिलालाई वस्तु सम्झेको छ। वस्तुको प्रयोग उनीहरू आ–आफ्नै तवरले गर्न चाहन्छन्। तिनका लागि महिलाको आदर्श, विचार, इच्छा, नैसर्गिक हक, अधिकार, आत्मसम्मान कुनै कुराले पनि छुँदैन। महिला सिर्फ वस्तु हो। हाम्रो मुताविक प्रयोग गर्छौं भन्ने भ्रममा अधिकांश पुरुष बाँचेको तीतो यथार्थ छ। अपाच्य र अमानवीय हर्कतले प्रताडित नभएको कुनै प्रेमिका वा श्रीमती सायदै होलान्।

पतिलाई परमेश्वर मान्नेहरू विरोध गर्नै सक्दैनन्। जति मन नपरे पनि जति असहज भए पनि। भन्दैनन् गलतलाई गलत हो भनेर। कतिपय शिक्षित महिला पनि पतिको प्रताडनाको भागिदार बनेका छन्। यो कस्तो मानसिकता हो। त्यो संस्कार छिचोलेर बोल्नै नसक्ने, आफ्नो कुरा राख्नै नसक्ने। अत्याचार खेपेर पनि बाँच्न विवश हुनैपर्ने। यो कस्तो एकाधिकार पुलिंगीय संस्कार हो, यो कस्तो परमेश्वरप्रतिको आस्था र समर्पण हो, ऐया भन्न नपाउने। समागम कसैको जबर्जस्ती वा एकतर्पm हुँदैन, हुनु पनि हुँदैन। प्रेमरहित समागम अथवा सेक्स भयो भने अथवा दुवैको इच्छा र समर्पणविना त्यस्तो कृया भयो भने त्यो बलात्कार हुन जान्छ। सेक्स भनेको प्रेमिल जोडीको समर्पण हो। अथवा दुवैको शरीरको स्वतःस्फूर्त आएको एक अर्काबीचको आकर्षण हो। जब त्यो आकर्षणमा प्रेम हुँदैन अथवा प्रेमपूर्वक आकर्षण र समागम हुन सक्दैन तब ती सम्बन्ध अमानवीय हुन्छन्। प्रेमरहित सेक्स मानवीय सम्बन्धभित्र पर्दैन।

महिलाले विरोध नगर्नुका कारण

हाम्रो समाज पितृसत्ताले ओतप्रोत छ। हाम्रो देशमा पुरुषको एकाधिकार कलमले लेखिएको धर्मग्रन्थ, उपनिषद् र तिनका नियमपालनका डरलाग्दा कुसंस्कारको सबैभन्दा ठूला वर्चश्व छ। क नपढेका पाठशाला जाँदै नगएका पनि रामायण पढ्छन्, लय हालेर श्लोक गाउँछन्। नारीलाई पढे बोक्सी हुन्छ भन्ने परम्पराबाट पनि स्वास्थानी व्रत कथा पढ्ने र पतिलाई परमेश्वर मनाउने पुरुष सत्ता कम सिपालु थिएन महिलाको स्वतन्त्रता खोस्नमा। जुनबेला महिला बोल्नै सक्षम थिएन, अझ भनौं पुरुषले थिचे/मिचेका थिए, त्यस्तो समयमा कसरी शिवसँग प्रेमलाप सुरु गरिन् होला पार्वतीले ? शिवलाई पति पाउँ भनेर कसरी उत्साह भरिन् होला ? क्रान्तिकारी पार्वती फेरि शिवलाई पति पाइसकेपछि कसरी त्यति धेरै कमजोर भएर पतिको गोडा मोल्ने, गोडा धुने भइन् होला ? यो प्रश्न गर्ने हिम्मत कुनै शिक्षित महिलाले गर्न सकेनन्। महिला पढेलेखेका हुन्थे भने यी धर्मका ग्रन्थ महिलाले नै लेख्थे र शिवको ठाउँमा पार्वतीको गोडा धोइन्थ्यो। शिवले पार्वतीको गोडा धुन्थे। गोडाको पानी खान्थेलगायतको स्वस्थानी कथा बन्थ्यो होला। त्यो विषय पनि उठान गर्ने हिम्मत कुनै शिक्षाले दिएन र शिक्षित महिला पनि चुपचाप जमेर मरिरहे हरदम। अशिक्षित महिला धार्मिक भएर प्रताडना सहे र सहँदै आएका छन् अझसम्म। शिक्षितलाई लाली र साडीले भुलायो।

दोस्रा कारण

पैत्रिक सम्पत्तिमा अंशाधिकार नहुनु कानुनमा जे लेखे पनि हाम्रा पुलिंगीय वर्चश्व कायम राख्ने पिता छोरीलाई अंश दिँदैनन्। पचास हजार मूल्यबराबरको अंशवापत छोरीलाई जमिन अथवा कुनै अचल सम्पत्ति दिनु भन्दा ५० लाखसम्म दाइजो दिनमा उद्यत देखिन्छन् असंख्य पिताहरू। महिला कमभन्दा कम संख्यामा स्वरोजगार छन्। आफ्नो नाममा अचल सम्पत्ति एकबित्ता नभएका र चल्ती सम्पत्तिको नाममा बैंकमा खातासम्म नखोलिएका अधिकांश नारी पतिको प्रताडनाको विरोध कसरी गर्न सक्छन्। जबसम्म आर्थिक रूपमा महिला पूर्णरूपले सक्षम हुँदैनन् तबसम्म यो पुलिंगीय सत्ता र तिनका साझेदारहरूले महिलालाई भोग्य वस्तुभन्दा माथि उठ्न दिँदैनन् र पृथक बाँच्न पनि।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार