होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ४, २०७७
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • ‘हामीकन त्यसाे सजिलाे काँ छ?’
स्वास्थ्य-जीवनशैली

‘हामीकन त्यसाे सजिलाे काँ छ?’

  • नागरिक रैबार
‘हामीकन त्यसाे सजिलाे काँ छ?’

निमेन्द्र शाही बाजुरा, २९ असोज। रारालाई गन्तव्य बनाएर खप्तडबाट हिँडेका थियाैँ । रमा इलाे कुराकानीका साथ यात्रा चलिरहेकाे थियाे । बाजुराकाे बूढीनन्दा नगरपालिकाको नौलाकोट पुगेपछि खरले छाएका केही घर देखिए । राेकिएर यसाे नियाल्याैँ ।

बस्तीतिर डुलिरहेका आँखा अचानक एक बालकमा पर्‍याे, जसले रोटी बेरेर पाेकाे पारेका थिए भने काँधमा थैला पनि बोकेका थिए ।

विज्ञापन

अलि भिन्न देखेर म उनी भए ठाउँ गएर साेधेँ- बाबु कहाँ जान लागेको ?

‘स्कुल जाँदै सर’, उनले जवाफ दिए ।

‘तिम्रो नाम के हो ?’

‘नवराज कडारा’

‘कतिमा पढ्छौ ?’

‘२ मा ।’

‘के बाेकेकाे याे हातमा ?’

‘याे राेटी हाे, थैलाेमा चामल छ ।’

‘खाना नै नखाइ जान्छाै त स्कुल ?’

‘आमा धान काट्न गएकी छन्। बुवा बजार गएका छन्। पकाउने कोही भएन । बेली बासाको (हिजो बेलुकी) रोटो डालो (छाप्री)मा थियो, त्यही खाँदै आया, अबेला भैगो स्कुल जानु ।’

बालक घटाल प्राथमिक विद्यालयमा अध्ययन गर्दा रहेछन् ।

अलिक पर पुगेर उनी सात जनाकाे समूहमा मिसिए, ती उनकै सहपाठी थिए ।  सबैलाई विद्यालय जाने हतारो थियो। तीमध्ये एक जनाले हातमा पाँच लिटर क्षमता भएको पलास्टिकको जर्किन बोकेका थिए । उनीहरूसँग हिँड्दै मैले केही कुरा गरेँ ।

‘बाबुहरूको स्कुल कति टाढा छ ?’

‘परी-परी कुलाका डिलौदो छ’, अर्थात् अलि उता सिँचाइ नहरकाे मुन्तिर छ, प्लास्टिकका जर्किन बाेकेका तिनै बालकले उत्तर फर्काए ।

‘कति कक्षासम्म पढाइ हुन्छ ?’

‘२ सम्म ।’

‘पलास्टिकको जर्किनमा के ल्याएकाे ?’

‘पानी हो ।’

‘स्कुलमा पानी छैन ?’

‘छैन।’

‘बाटो कस्तो छ स्कुल जाने ?’

‘ठूल्का कन त सजिलै छ। नान्काकन कर्‍या मर्‍या गरी जानु पर्छ’, अर्थात् अलि ठूलालाई त हिँड्न सजिलै छ, हामी साना केटाकेटीलाई कठिन छ ।

उनीहरूको घरबाट विद्यालय जाने बाटो असजिलो रहेछ। भिरालो बाटाे हुँदै जानुपर्ने भएकोले कहिलेकाहीँ त लडेर घाइते हुने गरेकाे उनले सुनाए । त्यसमाथि खाजापानी बाेकेर जानुपर्दा उनीहरू हैरान रहेछन् ।

‘स्कुलमा खानेपानी भएकाे भए यसरी जर्किन बाेकेर जानुपर्दैन थियाे’, ती बालकले हैरानी प्रकट गरे ।

स्वामीकार्तिक गाउँपालिका-५ जेरा गाउँबाट आधा घण्टाजतिमा पुगिने कर्णालीको किनारनजिकै केही केटाकेटी हतारमा हिँडिरहेका थिए। हातमा डोरी बेरेका थिए, त्यसको बीचबीचमा पासाजस्तो मसिनो धागो बाँधिएको थियो।

राेकेर मैले साेधेँ, ‘तिमीहरू कहाँ जान लागेकाे ?’

दुई बालक एक साथ बाेले, ‘झराउला हाल्न।

‘के हो झराउला भनेको ?’

अर्का एक बालकले भने,  ‘माछालाई पासो हाल्ने ।’

‘कति मार्छाै दिनमा ?’

‘भाग्य भएको दिन तीन/चार माछा परेका हुन्छन्।’

‘जहिल्यै आउँछौ ?’

‘आज स्कुलबाट भागेर आएका हौँ, नत्र त बिदाका दिन मात्र आउँदा छियौँ ।’

‘माछा मारेर के गर्छाै ?’

बडाे अचम्मकाे जवाफ दिए ती बालकले, ‘माछा साउजीलाई बेचेर कापी कलम किन्छाैँ ।’

यति भनेर तीन जनाकाे बाल समूह कर्णालीको तिर लाग्याे । उनीहरू स्कुलबाट टिफिनकाे समयमा भागेर माछा मार्न हिँडेका रहेछन् ।

केही पर जैतुनको बाक्लो जंगल थियाे । बाटोको छेउमा थकाइ मार्न ढुङ्गा भेटियाे, म र साथीहरू त्यहीँ बस्याैँ । छेउमै बाख्रा हेर्न आएका एक बालिका र दुई बालक केही बाँडिरहेका थिए ।

मैले उनीहरूसँग पनि कुरा गरेँ ।

‘तिम्रो नाम के हो?’, एक बालिकातिर हेरेर मैले साेधेँ । ्र

‘पबित कडारा’, उनले जवाफ फर्काइन् ।

‘स्कुल जाँदैनौँ ?’

‘जान्छु । तर आज जान पाइनँ ।’

‘किन ?’

‘आज गाउँमा बाख्रा हेर्ने पालो मेराे हो ?’

‘यी बाख्रा तिम्रै घरका हाेइनन् र ?’

‘तीन बाख्रा मेरा हुन् । अरु बाख्रा गाउँलेका हुन् । पालाे सिस्टम छ ।’

‘महिनामा कति दिन पालो पर्छ ?’

‘महिनामा चार दिन पालो पर्छ, अरुदिन आमा आउनी छिन् । आज आमा बिरामी भइन्। बाख्रा चराउन जा भनिन् ।’

‘तिम्रा बुवा छैनन् ?’

‘बुवा इन्डिया गएका छन् । दसैँमा आउँला, तँलाई, बहिनी र भाइलाईलाई कपडा र भेलि (गुड) ल्याइदिउँला भन्याका छन् ।’

‘बाख्रा हेर्न सजिलो कि स्कुल जान ?’, मैले साेध्दै गएँ ।

उनी पनि फटाफट जवाफ दिँदै थिइन्, ‘स्कुल जान सजिलाे ।’

‘किन ?’

‘बाख्रा हरायो वा कसैको सरु खायो भने घर गएपछि कुटाइ खानुपर्छ। दिनभरी जंगलमा दाैडनुपर्छ।’

‘कति कक्षा पढ्छौ ?’

‘५ कक्षामा ।’

‘पलास्टिकमा के ल्याएको ?’

‘खाजा हुन् । मकै भुटेका भोक लाग्यो, जना बाँडेर खान लागेका ।’

हामी पनि भाेकाइसकेका थियाैँ, त्यसमाथि साँझ बस्ने व्यवस्था मिलाउनु नै थियाे । हामी त्यहाँबाट पनि अघि बढ्याैँ । कर्णालीको छेउ हिँड्दाहिँड्दै मुगुकाे सुकाडिक पुगियो।

बाटाेमा अन्दाजी सात वर्षका एक बालकसँग भेट भयाे । विद्यालय पोसाकमा रहेका उनले घाँटीमा परिचयपत्रको खोल झुण्ड्याएका थिए तर परिचय पत्रकाे ठाउँमा कागज बेरेका थिए । नाकैमा सिँगान कटकट देखिन्थ्याे । बाेल्न त खाेज्याैँ तर उनी बाेल्नै नमानी कुलेलम ठाेके ।

हामी रातापानी पुगेर बास बस्याैँ । बिहान सबेरै सुन्दर रारालाई गन्तव्य बनाएर निस्कियाैँ ।  माझ घट्ट नेर अर्थात् रारा पुग्नै लागेका थियाैँ । विद्यालय पाेसाकमा रहेका अर्का बालक काठको ठेलागाढा कुदाउँदै थिए ।

‘यो गाडी कसको हो ?’

‘मेरो हो।’

‘कहाँबाट ल्याएको ?’

‘बुवाले बनाइ दिएका हुन् ।’

‘कहाँसम्म जान्छ याे गाडी ?’

‘गमगडी , नेपालगञ्ज, कोल्टी जहाँ पनि जान्छ।’

साेचेँ, शहरबजारका बालबालिका टिभीमा मोटु-पत्लु, ब्यान्टेन, माेबाइलमा पब्जी, फ्री फायरमा झुमिरहेका हुन्छन् । स्कुल जाँदा घरको ढोकैमा गाडी आउँछ, अभिभावकले उचालेर गाडीमा बसाउँछन्। पढ्नका लागि प्रशस्त सामग्री पाउँछन्। तर, लेकका केटाकेटीकाे अवस्था यति दयनीय छ कि स्कुलमा पानी पाउँदैनन्, पढ्न लेख्न कापी कलम पाउँदैनन् । कलिला हातले कलम समाउनुअघि खर्च जाेह गर्न आफैँ अघि बढ्नुपर्छ, यसका लागि चाहे खाेलामा माछा मार्न पराेस् वा गाेठालाे नै जानु किन नपराेस् । मीठाेमसिनाे खान र नयाँ लुगा लगाउन त दसैँ वा परदेश गएका बुवा नै फर्किनुपर्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार