शनिबार, माघ १०, २०७७
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • प्रधानमन्त्रीज्यू, हाम्रो नाममा पनि एउटा पत्र कोरिदिनुस् न !
विचार/ब्लग

प्रधानमन्त्रीज्यू, हाम्रो नाममा पनि एउटा पत्र कोरिदिनुस् न !

  • नागरिक रैबार
प्रधानमन्त्रीज्यू, हाम्रो नाममा पनि एउटा पत्र कोरिदिनुस् न !

नमस्कार प्रधानमन्त्रीज्यू ।

आशा छ, आरामै हुनुहुन्छ । हामीलाई पनि सञ्चै छ । सञ्चै छ भन्दा पनि अहिलेसम्म कोरोनाको संक्रमणले भेटेको छैन भन्नपर्ला ।

 

विज्ञापन

म खास चिठ्ठी लेख्ने मान्छे त होइन । यो चिठ्ठी पढ्दै गर्दा मान्छेहरू अचम्ममा पनि पर्लान् । तर, यसमा ठूलो रहस्य केही छैन । छ त केवल, मेरो फुर्सदको समय । अचेल बेरोजगार भएकी छु । कोरोनाले जागिर लग्यो । खुशी यसमा छु, हामी अझै बाँच्न पाएका छौं । र, भविषयमा पनि यही आशा रहनेछ ।

यो, मेरो जीवनको छैटौं चिठ्ठी हो । यसअघि कक्षा ६ देखि १० सम्म नेपाली विषयको परीक्षामा, चिठ्ठी लेख्नुपर्थ्यो । त्यतिबेला साथीका नाममा, अहिले म देशको प्रधानमन्त्रीको नाममा चिठ्ठी लेख्दैछु ।

त्यतिबेला शिक्षकले अह्राएर बाध्यताले म चिठ्ठी लेख्थें । आज आफ्नै मनले अह्राएर लेख्दैछु । थोरै नमिलेको हुन सक्छ, मिलाएर पढिदिनुहोला । मैले भनें नि, म खास चिठ्ठी लेख्ने मान्छे नै होइन ।

काठमाडौंमा चिसो बढेको छ, स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । हुन त तपाईंको पार्टीभित्रको सल्लाहले काठमाडौं मात्रै होइन, देश छोडेर छिमेकमा समेत गरमा गरम छ रे ।

चिसोको खास चिन्ता नलिए पनि हुने हो । तर, हप्ता दिन अघिमात्रै रेडियो सुन्दै गर्दा, एकजना विशेषज्ञ डाक्टरको अन्तरवार्ता सुनें । ज्येष्ठ नागरिक र साना बालबालिकाको विशेष ख्याल गर्नु भन्दै हुनुहुन्थ्यो । त्यो दिनदेखि त झन, बेस्सरी तपाईंको चिन्ता लाग्छ ।
फेरि यसो भनेर मैले तपाईंलाई बुढो हुनुभयो भन्न खोजेको होइन । तपाईं आफैंमा युवा हो । हामीजस्ता लाखौं युवाका लागि प्रेरणा । करोडौं नागरिकको ढुकढुकी । तपाईं युवा हो भनेर मैले यो चिठ्ठीमा व्याख्या गरिराख्नुपर्छ जस्तो लाग्दैन । बेला-बेला सार्वजनिक हुने तपाईंको अभिव्यक्तिमा त्यो प्रष्ट देखिन्छ । तपाईंका जोशिला भाषण, हँसिला उखान टुक्का अनि कहिलेकाहीँ आउने गम्भीर कविता । ओहो ! म त फ्यान नै हुँ ।

तर नि प्रधानमन्त्री ज्यू, रोगले न युवा भन्दोरैछ । न प्रौढ । झन यो कोरोनाको त के कुरा गर्नु ? बच्चा, बुढा, युवा…कसैलाई नछोड्ने भो । हेर्नु त, हेर्दाहेर्दै संक्रमितको संख्या साढे दुई लाख नाघिसक्यो । उबेलै तपाईंले भनेको मानेर, यसो २/४ ग्लास बेसार पानी खाएको भए, अहिले यो अवस्था आउने नै थिएन । के गर्नु, जनता सबै ‘भेडा’ छन्, भनेको केही मान्दैनन् । खाली सरकारको खेदो खन्नबाहेक केही जान्दैनन् । तर के गर्नु ? जस्ता भए पनि आफ्नै जनता हुन्, सहनै पर्ने । धन्न सहनुहुन्छ तपाईं।

स्कुलको परीक्षाहरूपछि मलाई, पत्र लेख्ने मौकै जुरेन । हामी पत्रको जमानामा जन्मिएको मान्छे नै होइन । इमेल/इन्टरनेटको जमानामा जन्मिएको मान्छेलाई पत्र लेख्ने बाध्यता किन आइपरोस् ? तर, समय न हो…हेर्नुस् त अहिले तपाईंलाई कस्तो अप्ठेरो ! आफ्नै घरको मान्छेलाई हप्ता-हप्तामा पत्र कोर्नु परेको छ । दोब्बर जवाफ लेखेर पत्रको जवाफ पत्र नै पठाउनु परेको छ । जीवनमा कहिल्यै सोच्नुभएको थियो र, २१ औं शताब्दीमा यो सब हुन्छ भनेर ?

तपाईंहरुको यो पत्र सक्रियताले देश र जनतालाई कति फाइदा गर्‍यो ? त्यो त मलाई थाहा छैन । तर, मलाई भने यसले गज्जव फाइदा गरेको छ । पुरानो दिन सम्झन पाएको छु, मेरो स्कुले जीवन । दाजुदिदीहरूको पत्रमित्रताको समय फेरि एकपटक याद आएको छ । मैले किताबहरूमा पढेको चिठ्ठीपत्रको समय फेरि सम्झिएको छु । त्यो भन्दा ठूलो कुरा, नमिल्दै भए पनि तपाईंका नाममा एउटा पत्र कोर्ने अवसर पाएको छु ।

विशेष अवसर केही आएर मैले यो पत्र कोरेकी होइन । न त मलाई ठूला ठूला आर्टिकल र लेखहरू लेखेर पत्रिकामा छपाउने अभ्यास गर्नु छ । रातको साढे एक बज्दा पनि निन्द्रा नपरेपछि, छट्टपट्टी भएर यो पत्र कोर्दैछु । कहिले बालाई सम्झिन्छु, कहिले सर्लाहीका उखु किसान रामआधार रायलाई । कहिले सिराहा विष्णुपुरकी प्रेमशिला यादव सम्झनामा आउँछिन् । कहिले निर्मला पन्त सम्झिन्छु, कहिले सम्झना बिक ।

बालाई सम्झिद सँगै सम्झिन्छु, हाम्रा वाद बुझेका कृषिमन्त्रीलाई । बटैया गरेको खेतमा यो वर्ष पुग्नेगरी धान फलेन रे ! बा भन्नुहुन्छ, ‘यो वर्ष चामल पठाउन सक्दिनँ ।’ फलोस् पनि कसरी ? न बेलामा मलखाद पाइयो, न कुलोमा पानी आयो । उमेरले ७० टेक्न लाग्नुभएका मेरा बा मरी धस्सी खेतमा काम गर्नुहुन्छ । तर, तीन बाली फल्ने हामीले बटैया गर्दै आएको खेतमा अचेल एक बाली पनि मुस्किलले भित्र्याउन सकिन्छ ।

जनवाद, पुँजीवाद, समाजवाद, साम्यवाद…सबै वाद बुझ्नुभएका, हाम्रा घनश्याम दाइले खाद/मल बुझ्नुभएन । कुलो/पानी बुझ्नुभएन । चैते र बर्खे धान बुझ्नुभएन । हिउँदमा लगाउने आलु, तोरी र गहुँको महत्व बुझ्नुभएन । गुलियो उखु फलाउने किसानको तीतो कथा बुझ्नु भएन । सरकारले तोकेको मूल्यमा मोटा र मसिना धान बेच्न नपाएका बर्दियाका किसानको बेथा बुझ्नुभएन । बुझ्नुहुन्थ्यो भने, किसानको पोल्टामा सधैं किन नुनिलो आँसु मात्रै पर्थ्यो ? उत्पादन, बजार, मूल्य र त्यसले दिने खुशी किन कहिल्यै किसानको भागमा पर्दैन ? किन पर्दैन मेरा बाको भागमा त्यो खुशी ? किन छाउँदै मुस्कान, उनको चाउरी परेको अनुहारमा ?

रामआधार अंकलसँग अलि अस्ति दिदीले टेलिफोनमा कुरा गर्दै थिई । के भन्नुभयो थाहा छ प्रधानमन्त्रीज्यू ? ऋण छ, छोरीको बिहे गर्न बाँकी छ । पैसाविना बिहे भइराखेको छैन । हाम्रो गाउँघरको ऋण ३६ प्रतिशत ब्याजमा हो ।

प्रधानमन्त्रीज्यू , निर्मला र सम्झनाको कुरा त मैले के भनिराख्नु पर्छ र ? घामजस्तै, जुनजस्तै, छर्लङ्ग छ । बाँच्न त पाएनन् नै ती कलिला मुनाहरूले, न परिवारले न्याय पाएको छ । बरु यसो फुर्‍यो भने, उनीहरूका नाममा पनि दुई/चार लाइन कोरिदिनुस् न ल ?
अघिल्लो वर्षमात्रै सर्लाहीका किसान झिटीगुन्टा बोकेर काठमाडौं आएका थिए । उखुको पैसा दिलाई पाउँ भनेर । फेरि योपटक पनि नियति उस्तै दोहोरिएको छ । यो मंसिरको चिसोमा नाइट गाडी चढेर सयौं किसान राजधानी आएका छन् । खेत खन्न होइन, बाली लगाउन पनि होइन, बेचेको बालीको पैसा पाउँ भनेर माइतीघरमा आन्दोलन गर्न । देख्नुभयो, उनीहरुलाई माइतीघरमा ? कि हेर्न भ्याउनुभएको छैन ?

हुन त तपाईंले यो पत्र पढ्ने फुर्सद पाउनुहुन्न होला । अस्तिमात्रै अर्का अध्यक्षको पत्र आएको थियो क्यार । मैले त पढ्न भ्याएको छैन । भ्याएको छैनभन्दा पनि मन भएन भन्न पर्ला । पत्र लामै थियो रे । सायद तपाई‌ंले त पढ्न भ्याउनुभयो होला । पढेर नै त्यसको दोब्बर जवाफ फर्काउनुभयो होला । केही दिनमै फेरि तपाईंको अर्को पत्र आएछ । अहिलेको यो इमेल/इन्टरनेटको जमानामा किन सबले पत्र मात्रै लेख्छन् भनेर दिक्क पनि लाग्दो हो । सबका पत्र पढ, फेरि त्यसको जवाफ लेख । हैरानी पनि कति हो के तपाईंलाई ? तर, देश र जनताका लागि दैनिक १८ घण्टा खटेर थोरै फुर्सद मिल्यो भने यो पत्र पढिदिनु होला है प्रधानमन्त्रीज्यू ?
अँ साँच्चै, बाको र रामआधार अंकलको मात्रै कुरा गरें । प्रेमशिला यादवको नाम सुन्नुभएको छ ? त्यही के त, हाम्रोभन्दा पल्लो गाउँ विष्णुपुर २ कि हुन् ।

हुन त तपाईं भर्खर किमाथांका र घुन्सा पुगेर आउनुभएको । विष्णुपुर सम्झिनुहुन्न होला । तर, विष्णुपुरले सधैं तपाईंलाई सम्झिरहन्छ । अझ प्रेमशिलाले त बेस्सरी सम्झिन्छिन् । किन थाहा छ ? ४ लाख ७० हजार ५ सय रुपैयाँ अस्पतालमा बुझाउन नसक्दा कोरोना लागेर मृत्यु भएका श्रीमान् अरुणको शव पाइनन् उनले । उनले अन्तिम संस्कारका लागि श्रीमानको शव नमागेकी पनि होइनन् । तर, अस्पतालले पैसा नतिरेसम्म शव दिन्न भन्यो ।

अँ साँच्चै, हाम्रो देश नेपाल, विश्वमै सबै नागरिकको कोरोना उपचार निःशुल्क गर्ने एउटा मात्रै देश हो क्यारे । हैन, प्रधानमन्त्रीज्यू ?
निर्मला र सम्झनाको कुरा त मैले के भनिराख्नु पर्छ र ? घामजस्तै, जुनजस्तै, छर्लङ्ग छ । बाँच्न त पाएनन् नै ती कलिला मुनाहरूले, न परिवारले न्याय पाएको छ । बरु यसो फुर्‍यो भने, उनीहरूका नाममा पनि दुई/चार लाइन कोरिदिनुस् न ल ?

अचेल फुर्सद बढी भएर होला, समाचारहरु बढी नै पढ्छु । सम्झनाका बहिनीहरु हिजोआज पनि झस्किरहँदा रहेछन् । हजुरबुवा र हजुरआमा ती नातिनीहरुको पीडा देखेर रातोदिन आँखा भिजाएरै बस्ने रहेछन् । अस्ति पत्रिकामा खबर आएको थियो । त्यसअघि प्रेमशिलाको खबर अनलाइनमा छापिएको थियो । रामआधार अंकलको पीडा मैले रेडियोमा सुनेकी हुँ । बाको दुःख त मैले, मेरै आँखाले देखेकी छु । एक दिन, दुई दिन होइन, जीवनको झन्डै दुई दशक । बासँगै दुःखें । सानामा अलि बुझ्दिन थिएँ । ठूलो भएपछि सँगै निराश भएँ । खेत खन्न गएँ, सँगै खुइय्…गरें । पानी पटाउन नपाएर धाँजा फाटेका गराहरुलाई सँगै हेरें । झारेर थुप्रयाएको धानमा बनियाँले लगाएको भाउ चुपचाप सुनिमात्रै रहें । मैले केही गर्न सकिनँ ।

हुन त समाचारहरु तपाईंको निवासतिर पनि बज्दा हुन् । तर, बालुवाटारमा सकारात्मक समाचार मात्रै सुनाउने नाममा जनताका यी अप्ठ्याराहरु तपाईंलाई सुनाउँदैनन् कि जस्तो लाग्छ । नत्र तपाईं पनि मुटु नै नभएको मान्छे त होइन नि । दुख्नुपर्ने हो, जनताको पीडा, आँसु र वेदना । ढुंगाको मुटु त पक्कै पनि छैन होला तपाईको ।

माफ गर्नुहोला प्रधानमन्त्रीज्यू । मैले तपाईंका सल्लाहाकारहरुलाई कम आँक्न खोजेकी होइन । तर, वास्तविक जनताको पीडा देश चलाउनेहरुसम्म नपुग्दा बीचमा ठूलो खाडल बन्छ । यसलाई अचेल हाम्रो भाषामा, ‘कम्युनिकेसन ग्याप’ भन्छन् ।

कुरा यतिमा मात्रै सीमित रहँदैन । यही क्रम लम्बिँदै गए, समयले कोल्टे फेर्छ । देख्नुभएको छ सडकमा, राजा माग्नेहरुको भिड ?
अस्ति तपाईंका एकजना सल्लाहकारले ‘फुर्सद’मा लेख्नुभएको थियो, ‘सरकारको कामको प्रशंसा गर्ने मान्छे नै भएन । नेपाली मिडियाहरू साह्रै नकारात्मक भए ।’

मिडिया मात्रै होइन, हामी जनता पनि सकारात्मक हुन उत्तिकै आतुर थियौं, त्यसैले त भोट हालेर देश चलाउने जिम्मा तपाईंहरुलाई सुम्पिएका थियौं । तर हेर्नुस त, हामीले त्यत्रो विश्वास गरेर देश चलाउन पठाएका तपाईंहरू, आफ्नै पार्टी पनि चलाउन नसकेर यो हालतमा पुग्नुभएको छ । हामीले पनि कहाँ सोचेका थियौं र दिन यस्तो पनि आउला भनेर ।

सकारात्मक त यति हुन मन थियो नि प्रधानमन्त्रीज्यू, पाइपबाट आएको ग्याँसमा खाना पकाएर, हावाबाट बलेको बिजुलीको उज्यालोमा भात खाएर, काठमाडौंमा मेट्रो चढेर, पानीजहाजमा यात्रा गर्दै, त्यही दिन फास्ट ट्रयाकबाट तराई झरेर रेल चढ्न जाने मन थियो । पूर्वपश्चिम चल्ने रेलबाटै फेरि अर्को कार्यकालका लागि भोट माग्ने मन थियो । तर, समयले धोका दियो…। झन्डै थाल बोकेर भात माग्न खुल्लामञ्च पुग्ने बनाइदियो ।

कहिलेकाहीँ त लाग्छ, किसानकी छोरी भएर जन्मिनु नै मेरो दुर्भाग्य हो । अनि, कृषि पेशा रोज्नु मेरा बाको । केही वर्ष अघिसम्म समाचारहरूमा बाक्लै पढिरहेकी हुन्थें, भारतका विभिन्न राज्यहरूमा किसानले आत्महत्या गरेको कुरा । बहुत डर लाग्थ्यो । बाको कानसम्म त्यो खबर नपुगोस् भनेर म, रेडियो अलि सानो बनाउँथें ।

तपाईंसँग ठूलो आशा केही छैन । गुलाब साह खातुनहरुका बारेमा सोचिदिनुस् । सम्झना र निर्मलाका बा आमालाई सम्झिदिनुस् । प्रेमशिलाको परिवारको दुःख सुनिदिनुस्, प्रधानमन्त्री ज्यू
अनेकन दुःख गरेर, वर्षदिनभरि मेहनत गरेर लगाएको उखु मिलसम्म पुर्‍याउन चलान नपाउँदा, दुईवटा दुहुना भैंसीको दूध दही जमाएर मोही पारेर फेरि त्यही भैंसीलाई खुवाउनुपर्दा, वर्षदिनकै मेहनत धान, बनियाको भाउमा बेच्नुपर्दा, झन्डै आधा दशक दुःख गरेर हुर्काएको बोटमा बल्ल फलेको आँपले किलोको १० रुपैयाँ पनि नपाउँदा, खेतभरिको गहुँ असिनाले सोत्तर बनाउँदा, असारको मेलो बित्नलाग्दा पनि हल गोरु नपाउँदा, विकासे भनेर लगाएको मकैमा दाना नलाग्दा…टन्न पैसा कमाएर छोराछोरीलाई राम्रो स्कुलमा पढाउन नपाउँदा, वर्षदिनमा पनि एकजोर गतिलो लुगा हालिदिन नसक्दा, घरको छानामा टाली फेर्न नसक्दा, माटाका भित्ताहरू भत्काएर इँटा लगाउन नसक्दा, पुस माघको जाडोमा आमालाई एउटा गतिलो बर्को किनिदिन नसक्दा, कतै मेरा बाले पनि त्यही बाटो समाउने त होइनन् ? मन खुब आत्तिन्थ्यो ।

भगवानको कानमा नपरोस्, हाम्रो नेपालमा किसानले त्यो बाटो समाएका छैनन् । आफूभन्दा अग्लो दुःखको पहाडले घर्लप्पै छोप्दा पनि मेरा बा चुपचाप चुपचाप बसे । चुपचाप चुपचाप खेत खनिरहे, आली ताछिरहे ।

अहिले पनि भारतमा किसानहरू आन्दोलनमा छन् । विषय फरक होला । उनीहरु अहिले सरकारले ल्याएको कानुनको विरोधमा छन् । तर, थाप्लोमा ऋणले थिच्दा, घरका केटाकेटी र जहानलाई दुईछाक खुवाउन नसक्दा चुपचाप चुपचाप संसार छाड्ने किसानको संख्या, भारतमा धेरै छ । सम्झनुस् त, त्यही नियति नेपालमा दोहोरियो भने ?

एकातिर रासायनिक मलको चरम अभाव छ, अर्कोतिर प्राङ्गारिक मलले बजार पाएको छैन । फोहारलाई मोहरमा परिणत गर्ने लक्ष्य बोकेर, देशलाई मलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित अर्गानिक मल उत्पादन गरिरहेका उत्पादकको निराशा हामीले क्वीन्टल र टनमा मापन गर्न सक्दैनौं । मुला, काउली, बन्दा लयायतका तरकारी विक्रि नभएर खेतमै ट्रयाक्टर लगाउने किसानको कथा अझै लामा छ ।

अन्तिममा, धेरै आशा राख्नु भनेको निराशा बढाउनु पनि हो । त्यसैले तपाईंसँग ठूलो आशा केही छैन । गुलाब साह खातुनहरुका बारेमा सोचिदिनुस् । सम्झना र निर्मलाका बा आमालाई सम्झिदिनुस् । प्रेमशिलाको परिवारको दुःख सुनिदिनुस् । रामआधार रायहरुलाई उखुको पैसा दिलाइदिनुस् । मेरा बा र उनीजस्तै किसानहरुका लागि समयमै मल र पानीको व्यवस्था गरिदिनुस् । बर्दियाका किसानले सरकारले तोकेकै मूल्यमा धान बेच्ने वातावरण बनाइदिनुस् ।

अनि, कोरोनाले काम गुमाएर बेरोजगार भएका मजस्ता लाखौं युवाहरुका नाममा एउटा पत्र कोरिदिनुस् न, ल प्रधानमन्त्री ज्यू ?
कुनै जमानामा म तपाईंको खुब ठूलो फ्यान थिएँ । साथीहरु मलाई उडाउँथे । मलाई खुब रिस उठ्थ्यो । म उनीहरुलाई बेस्सरी गाली गर्थें र तपाईंको प्रशंसा गरेर कहिल्यै थाक्दैन थिएँ । तर, अहिले आएर बुझ्दै छु, उनीहरुले मलाई किन उडाएका रहेछन् ।
यो पत्र पढेर रीसै उठेछ भने पनि तपाईं रिसाउनु हुन्न भन्ने आशा छ । किनकि, अस्तिमात्रै तपाईंले भन्नुभएको छ…स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शन बन्न सक्छ ।

पत्र दोहोरीबाट तपाईंहरुले छिट्टै मुक्ति पाउनुहोस्, जनताको मत मजाक बन्नबाट जोगियोस्, मेरो शुभकाना छ प्रधानमन्त्रीज्यू ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार