होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडी बस दुर्घटनाका घाइतेको बयान : बस त हावामा घुम्यो, अब बाँचिदैन भन्ने लाग्यो
समाचार

बैतडी बस दुर्घटनाका घाइतेको बयान : बस त हावामा घुम्यो, अब बाँचिदैन भन्ने लाग्यो

  • नागरिक रैबार
बैतडी बस दुर्घटनाका घाइतेको बयान : बस त हावामा घुम्यो, अब बाँचिदैन भन्ने लाग्यो

२८ कात्तिक, कैलाली । दार्चुलाबाट तिहार मनाउन भन्दै कैलाली आउँदै गरेका कैलाली गोदावरीका यज्ञराज कठायतका लागि बिहीबारको रात सबैभन्दा त्रासदीपूर्ण र भयानक बन्यो । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बसले एक्कासी सडक छाड्दा अब बाँचिदैन भन्ने लाग्यो ।

अहिले आफूलाई अस्पतालको शय्यामा पाउँदा उनलाई पुनर्जीवन पाएजस्तै भएको छ । बसको अन्तिमतर्फको सिटमा थिए उनी । जब बसले नियन्त्रण गुमायो, उनको होस हवास गुम्यो । ‘आकाशमा गाडी तीन पल्ट घुम्यो, के भइरहेको छ भनेर अनुमान गर्न नपाउँदै रुखमा बजारिएँ,’ उनले सुनाए ।

 

दशरथ चन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा उनलाई रुखले जोगायो । झ्यालतर्फ रहेका उनी रुखमा बजारिए र त्यहिँ रोकिए । तर, उनीजस्तै ९ जना यात्रुको मृत्यु भयो, ३४ जना घाइते भए । ‘म बाच्छु जस्तो लागेकै थिएन,’ उनले भने, ‘भाग्यले मात्रै जोगिएको हुँ ।’

बस घुम्ती सडकबाट करिब ६ सय मिटर तल खसेको छ ।

जसले दुर्घटनाको जानकारी दिए

बैतडीको दोगडाकेदारका नितेस भट्टको होस खुल्दा घटनास्थलमा चित्कार मात्रै थियो । ‘बचाउ’, ‘बचाउ’ भन्दै रोएका आवाज उनले सुने । बिहीबार ७ बजे कञ्चनपुरका लागि प्रस्थान गरेका उनीलाई त्यो दुर्घटनाको सम्झनाले मात्रै पनि त्रसित बनाउँछ ।

‘बसले रोड छोडेको आभास भइसकेको थियो,’ शुक्रबार बिहान डडेल्धुरा अस्पतालबाट उनले भने, ‘गाडी घुमेको याद छ । र त्यो पछि के भयो थाहै भएन ।’

उनको होस आउँदासम्म त्यहाँ उद्धारकर्मी पुगेका थिएनन् । उनले फोन गरेर सडक दुर्घटना भएको जानकारी दिए । त्यसपछि उद्धार टोली पुग्यो ।

‘म आफैं घाइते थिएँ । धेरैले मलाई नै बचाउ–बचाउ भन्दै थिए,’ त्यो पल सम्झँदै उनले भने, ‘एक बालक थिचिएको थियो । उनकी आमाले रुँदै बचाउन भन्नुभयो । मैले सकिनँ ।’

पछि प्रहरीको सहयोगमा बालकको उद्धार गरिएको उनले बताए । दुर्घटना हुनुभन्दा केही समय अघि बस बिग्रिएको उनले जानकारी दिए । ‘त्यो बस बिग्रिएको थियो,’ उनले भने, ‘त्यहि भएर दुर्घटना भएको हुन सक्छ ।’

प्रहरीले अहिलेसम्म दुर्घटनाको कारणबारे तथ्यगत जानकारी दिन सकेको छैन । तर, घाइतेहरूले प्राविधिक गडबढी भएको र तीव्र गतिमा बस रहेको बताएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

‘यकिन कारण अझै खुल्न सकेको छैन । चालक पनि घाइते छन्, हामीले बुझ्नपाएका छैनौं,’ उनले भने, ‘यात्रुले गति बढी रहेको र बस बिग्रिएको बताएका छन् ।’

प्रहरीलाई पूर्णरुपमा उद्धार गर्न करिब ८ घण्टा लागेको थियो । बस चालकसहित ९ जना घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ । केही सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटना भएको खबर प्रहरीले राति १०ः२४ मा पाएको थियो । त्यसलगत्तै उद्धारमा खटिएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै