होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • यो वर्ष पनि एसईई अनिश्चित
देश/प्रदेश

यो वर्ष पनि एसईई अनिश्चित

  • नागरिक रैबार
यो वर्ष पनि एसईई अनिश्चित

यो वर्ष (२०७७ साल) को माध्यमिक शिक्षा परीक्षा (एसईई) कहिले र कसरी गर्ने भन्ने अन्योल भएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण गत वर्ष विद्यालयलको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरे पनि यो वर्ष कहिले र कसरी गर्ने भन्नेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छैन । मन्त्रालयले निर्णय नगर्दा राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी गर्न पाएको छैन ।

चैतमा परीक्षा सम्भव छैन : बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको विकल्पसहित मन्त्रालयमा पत्र पठाएको छ । परीक्षा बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयलाई नै जिम्मा दिन सकिने प्रस्ताव बोर्डले पत्रमा उल्लेख गरेको छ । ‘मन्त्रालयलाई लेखेर पठाएका छौँ । जवाफ आएको छैन’, बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘परीक्षाको तयारी गर्न ढिला भइसकेको छ । छिटो निर्णय गर्न मन्त्रालयलाई भनेका छौँ ।’

विज्ञापन

तयारी नभएकाले यो वर्ष चैतमा परीक्षा गर्न नसकिने बोर्डले स्पष्ट पारेको छ । ‘यो समयमा कक्षा ९ का लागि रजिष्ट्रेसन फाराम र कक्षा १० का लागि आवेदन फाराम खुला र प्रश्नपत्र तयार पार्नुपर्ने हो’, अध्यक्ष पौडेलले भने, ‘कति ठाउँमा विद्यालय खोलेको पनि छैन । अब चैतमा परीक्षा गर्न सम्भव छैन । पछि धकेलिने सम्भावना छ ।’

विगतका वर्षमा पुसमा नै विशेषज्ञले प्रश्नपत्र तयार पारेर छपाइका लागि पठाइसकिएको हुन्थ्यो । यतिबेलासम्म पनि प्रश्नपत्र बनाउने कि नबनाउने भन्नेमा बोर्ड नै अलमलमा छ । गत वर्ष ३ करोड खर्च गरेर प्रश्नपत्र तयार पारेको बोर्डले नष्ट गर्नुपरेकाले यो वर्ष पनि त्यस्तै हुने डरले प्रश्नपत्र तयार गर्न ढिला गरेको हो ।

एसईईको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्डले तयार गर्दै आएको छ भने परीक्षा सञ्चालन प्रदेशले गर्दै आएको छ । शिक्षा ऐनका कारण प्रश्नपत्र बोर्डले नै तयार गर्ने गरेको हो । प्रदेश तहमा अनिवार्य विषयका फरक-फरक प्रश्नपत्र बनाउने गरिएको छ ।

अघिल्लो वर्ष हचुवाको भरमा मूल्याङ्कन गरिएकाले यो वर्ष त्यसरी नगर्ने पक्षमा बोर्ड छ । ‘हचुवाको भरमा आन्तरिक मूल्याङ्कन गर्नु हुन्न । यदि विद्यालयले नै गर्ने हो भने पनि समयमै कार्यविधि बनाएर गर्नुपर्छ’, उनले भने ।

तीनवटा विकल्पमा छलफल गर्दै मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाका तीनवटा विकल्पमा छलफल गरिरहेको जनाएको छ । ‘चैतमै परीक्षा गर्ने भन्ने भएन । कहिले र कसरी गर्ने भन्नेमा छलफल गरिरहेका छौँ’, मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘केही दिनमै टुंगो लगाउँछौँ ।’ मन्त्रालयले तीनवटा विकल्पमा छलफल गरिरहेको छ । ‘परीक्षा केही समयपछि गर्ने, विद्यालयलाई नै जिम्मा दिने वा सेन्टरबाट गर्ने भन्नेमा छलफल भइरहेको छ’, प्रवक्ता शर्माले भने ।

विद्यालयलाई दिँदा उपयुक्त : एनप्याब्सन

सरोकारवाला निकायबाट भने परीक्षाका विषयमा मिश्रित प्रतिक्रिया आएको छ । एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले परीक्षाको जिम्मा विद्यालयलाई नै दिँदा उपयुक्त हुने बताए । ‘विद्यालय कतै खुले कतै बाँकी नै छ । पूर्ण रूपमा खोलेको छैन । अनलाइनबाट कक्षा भइरहेको छ । कुनै न कुनै रूपमा पढाइ भइरहेको छ’, उनले भने, ‘होम सेन्टरबाट परीक्षा गर्दा राम्रो हुन्छ । परीक्षा समयमै सञ्चालन गर्नुपर्छ ।’

परीक्षाका लागि विद्यालयलाई जिम्मेवार बनाउनुपर्ने उनको राय छ । ‘१० कक्षाको परीक्षापछि विश्वविद्यालयमा जाने होइन । विद्यालय तहकै परीक्षा हो । विद्यालयको अन्तिम परीक्षा १२ कक्षा हो । त्यसैले १० को परीक्षाका लागि विद्यालयलाई नै जिम्मेवार बनाउनुपर्छ’, उनले भने ।

वैशाखमा परीक्षा गरौँ : प्याब्सन

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले परीक्षाको क्यालेन्डर निकालेर काम गर्नुपर्नेमा जोड दिए । ‘केही महानगरबाहेक अरू ठाउँमा विद्यालय सञ्चालन भएका छन् । अब परीक्षाको कार्यक्रम ल्याउनुपर्छ’, उनले भने, ‘एसईई दिने विद्यार्थीकोे फारम भराउने र परीक्षाका लागि क्यालेन्डर निकाल्न मन्त्रालयले परीक्षा बोर्डलाई निर्देशन दिनुपर्छ ।’ विद्यालयको आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न नहुने उनको तर्क छ । ‘चैतमा परीक्षा सम्भव छैन । एक महिना सारेर बैशाखमा गर्न सकिन्छ’, उनले भने, ‘भौतिक रूपमा नै परीक्षा गनुपर्छ । सधैँ आन्तरिक मूल्याङ्नबाट गर्नुहुन्न ।’

एसईई खारेज गरौँ : नेपाल शिक्षक महासंघ

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले १० कक्षालाई भनिँदै आएको एसईईको औचित्य नरहेको बताए । ‘विद्यालय तहको अन्तिम भनेको १२ कक्षा हो । १० कक्षाको स्कुलले नै प्रबन्ध गर्नुपर्छ । १० कक्षा पनि अरू कक्षाजस्तै हो । अब पुरानै ढंगबाट जाने पक्षमा हामी छैनौँ’, उनले भने ।

अभिभावकको प्रश्न : पढाइ नै भएको छैन, कसरी गर्ने परीक्षा ?

कोरोनाका कारण पढाइ नभएकाले परीक्षा कसरी गर्ने भन्ने अभिभावकको प्रश्न छ । ‘स्वास्थ्य मन्त्रालयले अहिले विद्यालय खोल्न नहुने भनेको छ । पालिकाले खोल्न थालेका छन्’, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘कोरोनाका कारण पढाइ नै भएका छैन कसरी परीक्षा गर्ने ? अनलाइन कक्षा पनि प्रभावकारी भएको छैन । अहिले वैकल्पिक विधिबाट नै जानुपर्छ । अन्य कक्षाको जसरी परीक्षा हुन्छ, १० को पनि त्यसैगरी लिनुपर्छ ।’

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा चैतमा शैक्षिकसत्र सम्पन्न गर्ने भनिएको छ । तर, सरकारी अधिकारीले नै परीक्षा सार्ने बताएकाले चैतमा परीक्षा हुने सम्भावना छैन । शैक्षिकसत्र प्रभावित हुने निश्चित भएको छ । कोरोनाका कारण पठनपाठन पनि प्रभावकारी भएको छैन ।

१ असोजदेखि वैकल्पिक शिक्षण सिकाइलाई मान्यता दिएर पठनपाठन भइरहेको छ । तर, वैकल्पिक शिक्षण सिकाइ प्रभावकारी नभएपछि कोरोनाको प्रभाव नभएको ठाउँमा विद्यालय सञ्चालन गर्न थालिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार