काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि आपतविपद् आएको समयमा पनि कसैले भ्रष्टाचार गर्छ भने त्यो सैह्य नहुने बताएका छन्। बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले संकटको समयमा अनियमिता भयो भनेर लान्छना नलगाउन आग्रह गरे।
‘जेमा पनि अनियमिता भयो भनेर लान्छित गर्ने खालका प्रवृत्तिहरु पनि देखिन्छन्, म त्यो प्रवृत्ति नबग्न आग्रह गर्न चाहन्छु।’ ओलीले भने, ‘कहिँकतै यदि अनियमितता भएको छ भने यस सरकारले कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचार जस्ता कुराहरुलाई सहदैँन, त्यस्तोमा कारबाही गर्छ नै। त्यस्तामा छानवीन गर्छ, कारबाही गर्छ, कानुनको कठघरामा उभ्याउँछ र दोषी पाइएमा दण्ड गर्छ।’
१० अर्ब कहाँ खर्च भयो भनेर प्रश्न उठाएको स्मरण गर्दै ओलीले त्यसको आफ्नै प्रणाली भएकाले हरहिसाबको आफ्नो प्रक्रियाबाट आउने धारणा राखे। उनले केन्द्रबाट प्रदेश र स्थानीय तहमा रकम पठाएको उल्लेख गर्दै लेखापरीक्षणमा भन्दा सरकार काममा बढी केन्द्रीत भएकाले बताए। उनले दैनिक लेखापरीक्षण नहुने बताउँदे यस्तो परिस्थितिमा प्रदेश र स्थानीय तह भ्रष्टाचार गर्न पर्खेर बसेका छन् भनेर आशंका गर्नुपर्ने अवस्था नभएको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले विपद्को समयमा स्थानीय जनप्रतिनिधीले गरेको कामको प्रशंसा गरेका छन्। उनले भने,‘बजेटको सिमा छ, खर्चको सिमा छ र आवश्यकता असिमित हुँदापनि जनतालाई राहत, सहुलियत वितरणमा खटिरहनु भएको छ, फिल्डमा जोखिम मोलेर काम गरिरहनु भएको छ।’
उनले सरकारका काम कारबाहिहरुको बार्षिक रिपोर्ट राष्ट्रपति कार्यालयमा गइसकेको र संसद्मा पनि पेश भइसकेको स्पष्ट पारे। ‘महालेखा परीक्षककको प्रतिवेदन वार्षिक रुपमा आउँछ र त्यसमा हरेक कुराको हिसाबकिताब रुजु, बेरुजु त्यो सबै पनि आउँछ। आन्तरिक लेखा परीक्षण त्यो पनि भइरहेको हुन्छ र त्यसको पनि हिसाब आउँछ। त्यसकारण हिसाबको चिन्ता नगरौं, अहिले कोभिड-१९को चिन्ता गरौं।’ उनले भने, ‘अहिले हामीसँग पैसाको अभाव छ। दुरुपयोग भयो किन भन्ने म यसो भन्न सक्दिन, कहिँकतै भएकै हुन सक्दैन भनेर पनि म त्यो दाबी गर्दिन। तर भएको छ भनेर सोच्नुपर्ने स्थिति म देख्दिनँ। यदि भएको रहेछ भने कारबाहि हुन्छ।’
फेसबुक प्रतिक्रियाहरु