शनिबार, अशोज १०, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाज
  • ‘हुँदा खाने’ अनि ‘हुनेखाने’ले माया साटेको देखेर मर्न पाऊँ !
समाज

‘हुँदा खाने’ अनि ‘हुनेखाने’ले माया साटेको देखेर मर्न पाऊँ !

  • नागरिक रैबार
‘हुँदा खाने’ अनि ‘हुनेखाने’ले माया साटेको देखेर मर्न पाऊँ !
– श्रीमन्त भट्टराई

विचार । 

त्यो समय, पहुँचमा भएका मुर्खहरुले जातको रंग भरिदिए। जन्मदै गरेको एउटा भगवान (बालक)लाई उसका पुर्खाको जातसँग जोडेर उच्च–निच्च विभाजन गरे। तल्लो जातका व्यक्तिसँग आफ्नो स्वार्थ अनुसारको शारीरिक शोषण चल्ने भयो। उनीहरुले बनाएका औजार र हातहतियार चल्ने भए। उनीहरुले सिलाएको लुगा लगाइयो। उनीहरुले कला भरेका गहनाहरु झन् विशेष भए। अर्थात्, प्रत्यक्ष रुपमा श्रम, सीप र पसिना जोडिएका सबै कुरा चले।

तर, त्यही हातले छोएको पानी चलेन। उनीहरुको श्रम मिसिएको चामल खाँदैसँगैं बस्न मिलेन। उनीहरुले सिलाएको लुगा लगाउँदा संगत गर्न भने मिलेन। शारीरिक शोषण पवित्र हुँदा बैबाहिक सम्बन्ध अपराध भयो। निश्चित व्यक्तिको ‘स्वार्थ’ र निश्चित व्यक्तिको ‘इगो’ले वर्षौवर्ष एउटा समुदायलाई उत्पीडित, दमित र शोषित बन्न बाध्य बनायो। अहिले पनि नेपाली समाजमा जातको रंग गाढा छ। दर्जनौं पोथीका अगाडि ढक्क छाती फुलाएर बसेको भालेकै स्वभावमा उच्च जातका व्यक्तिहरु फुलिएरै बसेका छन्। शब्दमा भनिन्छ, ‘विभेद अन्त्य भयो।’ व्यवहारमा त्यस्तो छैन। कतै–कतै शैली फेरियो होला। तर, विभेदको सोच र संस्कार फेरिएको छैन।

यतिबेला मलाई नेपालको शिक्षा प्रणालीको विभाजनका सन्दर्भमा चर्चा गर्न मन लागेको छ। त्यो समयको जात विभाजन जस्तै बनाइयो शिक्षालाई। गुणस्तर, प्रतिस्पर्धा र सफलताको नाममा यस्तो गलत संस्कारको विकास भयो कि यसले अबको सयौंवर्ष जातीय विभेदजस्तै ठूलो विभेदको सृजना गराउँदैछ। उच्च अंश, कम अंक। उच्च जीपिए, कम जीपिए। उत्कृष्ट, कमजोर। सफल, असफल। ओहो ! समाजलाई सुन्नुमात्र पर्छ। अझ, धैर्यतापूर्वक सुन्ने क्षमता राख्नुपर्छ। पाच्य, अपाच्य। बैधानिक, अबैधानिक। सही, गलत। सकारात्मक प्रभाव, नकारात्मक प्रभाव। सबै ओकलिदिन्छ समाजले।

रुख चढ्नसक्ने क्षमता भएको व्यक्तिलाई तिमी उड्नुपर्छ भनेर दवाव दिइन्छ। उड्नसक्ने क्षमता भएको व्यक्तिलाई तिमीले पौडनैपर्छ भनिन्छ। अनि पौडन सक्ने क्षमता भएको व्यक्तिलाई तिमीले रुख चढ्नुपर्छ भनेर बाध्य पारिन्छ। विचित्रको छ यो समाज। व्यक्ति कुन क्षमता लिएर जन्मिएको छ वा उसलाई बाल्यकालमा कुन संस्कार दिइएको छ भन्ने ख्याल नै गरिन्न। बच्चा पेटमा हुँदै निर्णय हुन्छ, उसलाई डाक्टर बनाउने वा इञ्जिनियर। हुर्किएर समाज चिन्न नपाई ल्याउनुपर्ने अंक तोकिन्छ। दवाव दिइन्छ। ‘पढाई बिग्रिएला है बिग्रिएला ।’  ‘यसपटक अंक कम आयो।’ ‘फलानोलाई कहिले जित्ने ?’

विज्ञापन

सही गलत छुट्याउने स्तरमा पुग्नु अघि नै जीवनको ‘टार्गेट’ घोकाइन्छ। ‘त्यहाँसम्म पढाई। त्यसपछि जागीर । जागीरको उद्देश्य पैसा।’ पैसा किन ? घर, गाडी, साडी यस्तै यस्तै। बुझिहाल्नुभयो। त्यहाँ भित्र अर्को प्रतिस्पर्धा बाँकी नै छ। कति तले घर ? कस्तो गाडी ? कुन स्तरको साडी ? औकातले भ्याउने कि नभ्याउने त ? जिम्मेवारी र आम्दानीले धान्ने कि नधान्ने त ? आर्थिक रुपमा पौडने क्षमता छ, डौडनुपर्छ। डौडने क्षमता छ, उड्नुपर्छ। उड्ने क्षमता छ, फेरी पौडनुपर्छ। कस्तो गज्जबको छ समाज। उही, गधामा आफूमात्र चढ्दा पनि नहुने, श्रीमतीलाई मात्र चढाउँदा पनि नहुने। दुबै चढ्दा पनि नहुने, दुबै नचढ्दा पनि नहुने।

हामी चुक्यौं कहाँ त ? सबै विषयमा अरुलाई अर्ती दिन हामी सफल भयौं। कुतर्क गरेर पनि जित्ने सामथ्र्य राख्यौं। तर, समस्याको वास्तविक पहिचान र त्यसको समाधान खोज्न हामी चुक्यौं। एउटा खुल्ला छलफलको यो चरणमा मैले भन्नेपर्ने हुन्छ, राज्य नै चुक्यो। जिम्मेवार निकाय चुक्यो। कसरी ?

शब्दहरु लेख्दै गर्दा व्यक्ति केन्द्रित आक्षेप लगाउन खाजेको होइन। तर, पछिल्ला केही दशक यताका नेतृत्व (अधिकांश)ले पुस्तौंसम्म समाज विकृत हुनेगरी शिक्षालाई धमिल्याए। सन्तानलाई निजी विद्यालयमा पढाउनु प्रतिष्ठासँग जोडियो। सामुदायिकमा पढाउनु कमजोरी बनाइयो। अंग्रेजी जान्नु, शब्दहरु घोकेर उच्च अंक ल्याउनु सफल मानियो। विद्यालय पढ्न वा घोक्न नभएर सिक्न जानुपर्ने चेतनाको विकास गरिएन। भाषा सबै समान हुन्। आवश्यकता अनुसार सबै भाषालाई सम्मान गर्नुपर्छ भन्ने ज्ञान दिइएन। कागजमा ल्याएको अंक जीवनसँग मेल खाँदैन भनेर व्यवहारिक पक्ष सिकाइएन। संस्कार सिकाइएन। पढ्नुको अर्थ पैसा कमाउनु भनियो। शिक्षित, सभ्य र सुसंस्कृत हुन पढ्नुपर्ने जानकारी दिइएन। जीवन चलाउन पुग्ने पैसा कमाए हुन्छ भनिएन। सफल हुन र जन्मलाई सार्थकता प्रदान गर्न राम्रो काम गर्नुपर्ने चेतना दिइएन। सीप र संस्कारको पक्षलाई अंकको तुलनाले कहिल्यै नभ्याउने विषयमा बालबालिकालाई बुझाउन सकिएन।

त्यसपछि सुरुभयो अर्को विभाजन। ‘ए प्लस’, ‘ए’ ल्याउने डाक्टर इन्जिनियर बन्ने भए। ‘बी प्लस’ ल्याउने पाइलट बन्ने भए। ‘बी’ ल्याउने वकिल, पत्रकार। ‘सी प्लस, ‘सी’ ल्याउने’ सरकारी जागीरमा जाने भए। ‘डी प्लस’ ल्याउनेले अन्य अन्य पेशामा। विभाजन यस्तै बनायो समाजले। मैले होइन। हिजोको जातीय विभाजन जस्तै। अब त निश्चित विषयमा ‘डी प्लस’ नल्याउने विद्यार्थीले उच्च शिक्षा नै पढ्न नपाउने भए। ओहो, कस्तो बिडम्बना ! बाँकी विद्यार्थीलाई तिमी कहिल्यै केही गर्न सक्दैनौ भनियो। हली भएर बस्न भनियो। घोक्न जान्नेहरुका अगाडि अछुत भएर बस नै भनियो, भावनात्मक रुपमा।

देशभरका अधिकांश सामुदायिक विद्यालयमा विपन्न दलित, जनजाति, आदिवासी, सुकुम्बासी, मधेशी, मुस्लिम,  लगायतको बाहुल्यता रहेछ। म अधिकांश प्रधानाध्यापकहरुलाई प्रश्न गर्छु, ‘विद्यार्थी किन नियमित आउँदैनन् सर ? उहाँहरुको सहज र रेडिमेट जवाफ आउँछ, ‘सबै दलित सुकुम्बासीका छोराछोरी छन् सर, तिनिहरुलाई पढ्नुपर्छ भन्ने चेतना छैन।’ त्यसपछि मेरो दोस्रो प्रश्न हुन्छ, ‘उनीहरुलाई नियमित विद्यालय ल्याउने सवालमा केही पहल गर्नुभयो ?’ झट्टै यस्तो जवाफ पाउँछु, ‘जे गरे पनि आउँदैनन् सर। तिनलाई पढाएर पनि के गर्ने। केटी भाडा माज्नै जाने हुन्, केटा हलो जोत्न वा फ्याक्ट्रिमा काम गर्न जाने हुन्। बरु अहिल्यैबाट घरमा पैसा कमाएर सघाइरहेका छन्।’ जिम्मेवार निकायबाट आउने यसप्रकारको जवाफले म नाजवाफ हुन्छु। पीडा हुन्छ। त्यस्ता मास्टरलाई न हप्काउन सक्छु न त धम्क्याउन। राज्यले नै विभेद्को वातावरण सृजना गरिदिएको छ। राज्य नै नकचरो छ। राज्य नै नालायक छ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको पछिल्लो तथ्याङ्कले देशभरका सामुदायिक विद्यालयमध्ये शुन्य दशमलव ५ प्रतिशत विद्यालय पनि राम्रा छैनन्। जसमा ८५ प्रतिशत विद्यालय विद्यार्थी जानका लागि अनुपयुक्त छ भनेको छ। अब राज्यले शिक्षालाई कुन स्थानमा राखेको रहेछ त ? कति महत्व दिएको रहेछ त ? अहिलेको वर्तमान शिक्षा प्रणालीले कस्तो उत्पादन तयार गर्दैछ त ? यहाँ दुई विषयमा गम्भीर बन्नुपर्ने समय आएको छ। पहिलो, राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी। दोस्रो, त्यहाँबाट निस्किएका उत्पादन।

लगानीका सन्दर्भमा राज्य सय प्रतिशत चुक्यो। यहाँ शिक्षकलाई चार–चार महिनामा तलब खुवाउनु र पहुँच पुगेका विद्यालयलाई भवन उपलब्ध गराउनुलाई लगानी भनियो। जुन सबैभन्दा गलत बुझाई हो। शिक्षाको पूर्ण बजेटमध्ये ४० प्रतिशत शिक्षकको तलब र विद्यालय भवनमा खर्चिएको हुनुपर्छ। हाम्रोमा ९० प्रतिशत छ। हुन त, शिक्षा र शैक्षिक विकाससँग जोडिएका व्यक्तिको सोचमै समस्या छ। इच्छाशक्तिमै प्रश्नचिन्ह छ। बजेटको के कुरा गर्ने ? यहाँ सकारात्मक सोच, सकारात्मक नियत लिएर सकारात्मक परिणामको कल्पना गर्नै पाइन्न। जातीय विभेदमा कथित उच्च वर्ग बसेजस्तै बसेको छ एउटा जमात। आफ्नो टेरिटोरी भत्किएला कि ?, शिक्षामा आमूल सुधार होला कि ?, समाजमा रुपान्तरण आइहाल्ला कि ? भनेर हलो अड्काउने सोचका साथ बसेको उच्च भनाउँदाको जमातले शिक्षा क्षेत्रमा ठूलो विभाजन ल्याएको छ।

आज संसार हाँकिरहेका हिजोका असफलहरु स्मरण गर्दैछु। मैले नाम भन्नै पर्दैन। जसका कारण भौतिक दुनियाँ विकासको उचाईमा पुग्न सफल भयो, उनीहरुमध्ये अधिकांश विद्यालय शिक्षामा असफल थिए। मलाई जहिल्यै मनमा लाग्ने प्रश्न, ‘निश्चित चारघेरा भित्र दिइएको ज्ञान र त्यहाँ भित्रैबाट गरिएको अंकको मापनले व्यक्तिको क्षमता तौलिन मिल्छ ? स्कुलमा हामीले बालबालिकालाई दिइरहेको ज्ञान र बालबालिकाले बडो संघर्ष गरेर लिएको ज्ञानको कति प्रतिशत जीवनमा काम लाग्छ कुन्नि ? अंक हेरेर दिइएको सफलता र असफलताको धब्बाले व्यक्तिको मनोविज्ञानमा कस्तो प्रभाव पार्छ कुन्नि ?

मलाई अनुसन्धान र प्रयोगहरु गर्न मनपर्छ। व्यक्ति कुन समय सफल र कुन समय असफल हुन्छ होला भनेर धेरै घोत्लिन्छु। सफलताको परिभाषा खोज्ने प्रयत्न गर्छु। असफलतामा डुबुल्कि मार्ने प्रयास गर्छु। समाजले तोकिदिएको सफल असफलको घेराभन्दा बाहिर निस्किएर त्यही समाजको प्रतिकृया सुन्न मज्जा लाग्छ। माया गर्नेहरु, सहयोग गर्नेहरु, हौषला दिनेहरुभन्दा असहयोग र घृणा गर्नेहरु, खुट्टा तान्नेहरुसँगको प्यार रोमाञ्चक लाग्छ। पर्दापछि बसेर कुरा काट्नेहरु देखेर दंग पर्छु। रमाउँदा रमाउँदै समाजको सोच, क्षमता र स्तर देखेर आँसु खसाल्छु। पीडा हुन्छ । असाध्यै।

ठ्याक्कै अहिलेको समाजको सोचको विषयमा अनुसन्धान गर्ने हो भने जो कोहीलाई पीडा हुन्छ। विकृत बन्यो समाज। आवश्यकता के थिए, सम्भावना के थिए, माग के थिए ? सबै पाखा लागे। खुल्ला बन्ने नाममा हामी नग्न बन्यौं। सफल हुने नाममा हामी असफलताको यात्रामा अघि बढ्यौं। केही ठीक भएको छैन। मेरा नयनले त सबै गलत मात्र देख्छ। बर्बाद् भएको, भत्किएको, ध्वस्त भएको मात्र देख्छ। फुंग उडेको रंगजस्तै उडेर गए सपनाहरु। रंग उड्नुको एउटै र मुख्य कारण समाजको शैक्षिक स्तर र चेतनाको स्तर नै हो। हामीले देखिरहेको, हेरिरहेको, बोलिरहेको, प्रयोग गरिरहेको सत्य, सत्य होइनन्। धेरै टाढा छ सत्य। हामी चारघेरा भित्रको ढुंगालाई पुजेर बस्यौं, भगवान अनन्त आकाशमा विलिन हुनुभयो। शिक्षामा ठ्याक्कै त्यस्तै भयो।

रोवट बनाउँछु भन्ने विद्यार्थी विज्ञानमा फेल हुन्छ। सबै विषयमा उच्च अंक ल्याएको विद्यार्थी निवेदन लेख्न जान्दैन र अरुको भर पर्छ। हाम्रो शिक्षा यस्तै छ। सायद् यस्तै कारण, औपचारिक शिक्षा सकिएपछि पनि व्यक्ति सन्तुष्ट हुँदैन। पढेर जागीर पाउनुलाई सफलता भनिदियो समाजले। व्यक्ति तुरुन्तै असफल भइहाल्छ। तथ्याङ्क अनुसार नेपालमा अध्ययन पश्चात जागीर पाइहाल्नेको संख्या पाँच प्रतिशत मात्र छ। बाँकी ९५ प्रतिशतले के गर्ने त ? आफूले आफैंलाई असफलताको ट्याग भिराउने र लाचार जीवन बिताउने। जसोतसो हातमुख जोड्ने माध्यमहरुको खोजी गर्ने। त्यतिन्जेलसम्म पाएको शिक्षालाई धिकार्ने, बस्ने।

pic 7

शिक्षामा भएको गलत बिभाजनले निम्त्याएको समस्याको समाधान अब खोज्नुपर्छ। विगत लामो समयसम्म एउटा उद्देश्य बोकेर बिद्रोह गरेको जमातले नेतृत्व लिइरहँदा शिक्षामा समाजबादको खोजी हुनुपर्छ। देशभित्रै अवसरहरुको चाङ् लागेको छ। त्यसको प्रयोग गर्न सिकाउनुपर्छ। व्यक्ति आफू मात्र होइन, सामूहिक भावनाको विकास गराउनुपर्छ।

‘हुँदा खाने’ र ‘हुनेखाने’। दुई परिवारका दुई बालबालिका। एक अर्कालाई माया अनि सम्मान गर्दै। एउटै डेस्कमा।  साथसाथ बसेर। ज्ञान साट्ने, खाजा साट्ने मात्र होइन। माया अनि सम्मान साट्ने। भावना साट्ने। हौषला साट्ने। त्यो दिनको कल्पना गर्छु म। सपना देख्छु म। त्यो कल्पना, त्यो सपना साकार हुनैपर्छ। समाजमा विद्यमान जात, धर्म, भाषा र संस्कृतिको विभाजनलाई शिक्षाले उल्ट्याउन सक्नुपर्छ। अनि, शिक्षा क्षेत्रमा देखिएको विकृति र विभाजनलाई शिखरले किचिदिनुपर्छ। नदीले बगाउनुपर्छ। हावाले उडाउनुपर्छ। सूर्यको तेज किरणले जलाउनुपर्छ।

त्यसपछि, एउटा मानवले अर्को मानवलाई सम्मान गर्न सिकोस्। अंकले अंकसँग नभएर सीपसँग प्रतिस्पर्धा गरोस्। संस्कारले प्राणदान पाओस्। नैतिकता र आचरणले मुक्तिको श्वास फेर्न सकुन्। समाजमा फेरी पारिजात फुलोस्। सयपत्री, मखमलीको वासना आओस्। अनि, सुसंस्कृत र सुगन्धित बनोस् मेरो समाज।

लाेकपाटीबाट

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार