



अनिल शाही/बाजुरा २६ जेठ। बाजुराको कोल्टीमा रहेको सामुदायीक रेडियो बुढीनन्दाको अवरुद्ध प्रसारण सेवा आज देखि शुरु गरिएको छ । गयको ११ गते विद्युत सर्ट भई आगलागि भएर सेवा अवरुद्ध भएको रेडियो बुढीनन्दा ९६.५ मेगाहर्जले प्रसारण सेवा अवरुद्ध भएको दुई सातामा सेवा शुरु गरेको हो ।


आगलागिबाट ट्रान्समिटर लगायतका उपकरण जलेर नष्ट भए पछि सेवा अवरुद्ध भएको र विभिन्न निकायको सहयोगमा आज साँझ देखि सेवा पुनः शुरु गरिएको रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाहीले जानकारी दिनुभयो ।
आगलागिबाट रेडियो बुढीनन्दाको करिव २४ लाख ४५ हजार बरावरको सरसामान जलेको र अहिले तत्कालका लागि विभिन्न ब्यक्तिको सहयोगमा सेवा शुरु गर्ने काम गरिएको उहाँले बताउनुभयो ।
बाजुराको उत्तरपूर्वी क्षेत्रका स्थानिय तहका साथै हुम्ला, मुगु र कालिकोट लगायतका जिल्लाका केहि स्थानिय तहसम्म प्रसारण सेवा रहेको रेडियोमा आगलागि भए पछि सेवा अवरुद्ध भई स्थानिय सूचना पाउनबाट बन्चीत रेडियो बुढीनन्दाका अध्यक्ष सर्पलाल गिरीले बताउनुभयो ।
अहिले कोरोनाका कारण देश जटिल परिस्थितीमा रहेका बेला पनि दुई साता भित्र रेडियो सञ्चालनका लागि विभिन्न ठाउमा समन्वय गर्ने सिआइएन, रेडियो संरक्षक समितिका संयोजक नरेशकुमार शाही, जिल्ला प्रसासन कार्यालय बाजुरा, एचआरसी बाजुराका अध्यक्ष निर बहादुर शाही र पत्रकार महांसंघ सुदुरपश्चिमका अध्यक्ष अर्जुन शाह लगायत नेपाल पत्रकार महासंघ बाजुरालाई रेडियोले धन्यवाद ज्ञापन गरेको छ ।
सूचनाको अन्य कुनै विकल्प नभएका यस क्षेत्रका नागरिकलाई परेको सूचनाको अभाव पुरा गर्न तिव्ररुपमा काम गरी रेडियो सञ्चालनमा ल्याएको रेडियोका स्टेसन म्यानेजर नहकुल जोशीले बताउनुभयो । रेडियोलाई पूर्ण रुपमा सञ्चालन आउन भने अझै केहि समय लाग्ने उहाँले जानकारी दिनुभएको छ ।



फेसबुक प्रतिक्रियाहरु