अछाम — बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारीमा चर्पी सफा गर्ने कामको जिम्मेवारी पाएका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजी समेत रहेका थिए ।
अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिना अगाडि नै अस्पतालले हटाएकाे चिठी दिएपछि सिदार्थ तनावमा रहेको हटाइएका अर्का कर्मचारी विशाल पण्डितले बताए ।
‘म अस्पतालमा चौकीदारको काम गर्थे । सिदार्थ ट्वाइलेट सफा गर्थे । पुरानो नियुक्ति सकिन दुई महिना बाँकी रहेको थियो । हामी काम गर्न अस्पताल गयौं ‘ उनले भने,’ तिमीहरूलाई हटाइसकेको हो । फेरि किन अस्पताल आयौ भन्दै हाकिमहरुले थर्काए । प्रहरी लगाएर बाहिर निकाले ।’ महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका धेरै कर्मचारी तनावमा भएको उनको भनाइ छ । यता बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ ।
अस्पतालको गेट अगाडि साेमबार बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाई हेलिकप्टरमार्फत नेपालगन्ज थप उपचारको लागि लैजाने तयारी भएको प्रमुख जिल्लामा अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
फेसबुक प्रतिक्रियाहरु