गोरखा : नेकपाको केन्द्रमा बढिरहेको मनमुटाव, टकराव र बेमेलको प्रतिबिम्ब जिल्लाका कार्यकर्ता तहमा पनि परेको छ । पार्टी अध्यक्षहरु केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड पक्षधर कार्यकर्ता दिनहूँजसो विकसित घटनाक्रमसँग रुष्ट भएर सामाजिक सञ्जालमा बाझाबाझ, कटाक्ष र आक्रोश पोखिरहेका छन् ।
उनीहरुले सामाजिक सञ्जालमा तुच्छ शव्दसमेत प्रयोग गरेर फरक गुटका नेतालाई गाली गरिरहेको देखिन्छ । कतिपय कार्यकर्ता भने पार्टी एकताका बेला भरिएको जोश, जाँगर र उत्साह गुटगत द्वन्द्वका कारण अहिले माटोमा मिलेको भनेर निराशा पोखिरहेका छन् ।
१. जिल्लामा पूर्व एमाले संवद्ध चिरपरिचित कार्यकर्ता कमल दानी लेख्छन्, ‘केही थान केन्द्रीय सदस्य भनौदाको भनाइ सापटी लिँदा हालको नेकपाको प्राप्ति सबै प्रचण्डमार्फत हो अरे । कम्तिमा बिगतको जनमतलाई हेर्नू नी । नेकपाको जनमतलाई १०० प्रतिशत मान्ने हो भने ७१ प्रतिशत एमाले र २९ प्रतिशत मात्र प्रचण्ड । अब जनताले नै छुट्याउनु होला, कसले कसलाई बनायो विशाल पार्टीको कार्यकारी अध्यक्ष ।’
उनले फेरि लेखेका छन्, ‘पार्टी पंक्तीमा कुनै छलफलै नगरी मिथ्या आरोप पत्रलाई तल्लो कमिटीका निश्चित व्यक्तिमार्फत वितरण गर्न लगाउनु विधान विपरीत हुन्छ कि हुदैन ?’
२. गोरखाली गोरखा नामको फेसबुक पेज चलाउने एक कार्यकर्ता लेख्छन्, ‘२०५२ सालमा गृहमन्त्री चलाएको बामदेव, १४ वर्षसम्म पार्टी प्रमुख, गृहमन्त्री, प्रधानमन्त्री सबै भएका माधव, संकटका बेला पटक पटक पार्टी नेतृत्व गरेका पूर्व प्रधानमन्त्री झलनाथ, जोखिम उठाउन जहिल्यै भाग्ने पूर्व उपप्रधानमन्त्री नारायणकाजी, ३० बर्ष पार्टी नेतृत्व गरेका, बिहान बोलेको कुरा बेलुका बेलुकासम्म टिक्न नसक्ने गतिशील पूर्व प्रधानमन्त्री प्रचण्ड विरुद्ध प्रतिपक्ष जस्तो ओठे जवाफ फर्काउने राष्ट्र प्रमुख केपी शर्मा ओलीको म्याच कहिले अन्त हुने हो ?’
३. पूर्व एमालेमा रहेर काम गरेकी रेखा तामाङ लोप्चन लेख्छिन्, ‘नेकपामा दुई अध्यक्ष बीचको विवाद तँ, म, मम पछि मुक्कामुक्कीतिर जानुपर्ने, तर अनपेक्षित रुपमा प्रेमपत्र आदानप्रदान चरणतिर पो लागेछ । थुइक्क लाजनीति, लाजको पसारो ।
राजनीतिक बेमेल देखेर दिक्क मानेकी लोप्चन फेरि लेख्छिन्, ‘यो राजनीति पनि कोमामा गएको बिरामीलाई १०/१० दिनमा किमो चढाउँदै राख्दै गरे जस्तो भयो । ह्या, बरु कि जुरुक्कै हुनु कि हुरुक्कै । टण्टै साफ ।’
४. पूर्व एमाओवादीबाट पालुङ्टार नगरपालिका ८ का वडाअध्यक्ष समेत रहेका शंकर कँडेल लेख्छन्, ‘अरु जेसुकै गर, तर बैठक बोलाउने काम नगर । न पार्टीको न संसदको । म छलफलमा भाग लिने र सामुहिक निर्णय मान्ने मनुवा होइन । फस्टक्लास चेयरम्यान ।
५. पूर्व एमाओवादीका युवा कार्यकर्ता राजु रोका प्रथम अध्यक्ष ओलीप्रति आगो ओकल्दै लेख्छन्, ‘तोरीलाहुरे भनेको कोचाल्गाँडा बर्गमा पर्ने भनेर बुझिन्छ । देशमा जतिपनि भ्रष्टाचार पूर्व एमालेका नेताहरुबाट भइरहे पनि प्रचण्ड जस्तो त्याग, पार्टी बचाउन केपी ओली लाग्ने हो भने हामी कम्युनिष्टका असल सिपाही हौँ भन्न कत्तिपनि पछाडि पर्ने थिएनौँ । तर पूर्व एमालेका कारण बिसंगति, बिकृति, कुसंस्कार, कुबिचार, अराजनीतिक जस्ता घृणित जनतामा यो पनि पार्टी र कम्युनिष्ट हो भन्न थालिसके । हे राजनेता कमरेड प्रचण्ड, कसरी थेगेका छौ ? धन्य छ कम्रेड, के सोचेका थियौ, के भएको छ । तपाई पुष्पकमल दाहाल होइन, प्रचण्ड नै बन्नुपर्छ ।
६. केपी ओली पक्षधर अर्का कार्यकर्ता ऋषिकेश रेग्मी लेख्छन्, ‘झोले भने नि, अरिंगल भने नि, हनुमान भने नि, दास भने नि भन । हाम्रो आस्था र विश्वास केपी बा नै हो । किन टाउको दुखाउँछौ ? अर्को कुरा, प्रचण्डका कारण केपी प्रधानमन्त्री भए भन्नेहरुले हेक्का राखे हुन्छ, केपी र एमालेले साथ नदिएको भए प्रचण्ड संसद पनि बन्ने अबस्था थिएन ।
७. प्रचण्ड पक्षधर सुबोध डोटेल यसरी आक्रोश पोख्छन्, ‘प्रचण्ड नेकपाकै अध्यक्ष हो । नेतृत्वको रक्षाका लागि कुनै पनि हालतमा चुकिँदैन । राजनेता प्रचण्डको फ्यान क्लव चलाएर हामीले सबैसँग संवाद चलाउँदै आएका हौँ । कोही कसैलाई मन नपर्न सक्छ । पार्टी एकता र समाजवादको प्रशिक्षणलाई बद्नाम गर्न खोजिन्छ भने चुप लागेर बसिँदैन बयलगाडेहरु ।
८. पूर्व एमाले निकटका कार्यकर्ता किरण ढकाल लेख्छन्, ‘तागत छ भने आफूलाई सर्वश्रेष्ठ सोच्ने नेताहरुको घरमा गएर भेटेर सम्झाउने प्रयास गरौँ । कामरेडहरु सामाजिक सञ्जालमा दुनियाँ हसाउने काम बन्द गर्नुस् । को कसको मान्छे हो, हामीलाई पनि राम्रोसँग थाहा छ । तिमीहरुको गुटको राजनीति कहिलेसम्म ?
९. तुच्छ शव्द प्रयोग गर्दै पूर्व माओवादीका कार्यकर्ता उत्तरकुमार श्रेष्ठ यसरी आगो ओकल्छन्, ‘दुखी आत्मा, अलच्छिना आत्मा, भ्रष्टआत्मा, डाक्टर केपी ओलीज्यूको । विश्वभर कोरोना महामारी भइरहेका बेला सत्ता पावरको धमधज्जीको कुरा गरेर एशियाको नंबर एक भ्रष्टाचारमा नाम लेखिदियो पापी कोरीले । नेपाली जनताले सँधैभरि थुकिरहने छन्, डाक्टर केपी ओलीलाई ।
१०. गुट परिवर्तन गरी हाल पूर्व एमाले निकट रहेका मनोज रानामगर अहिलेको गुट राजनीतिप्रति दिक्क मान्दै लेख्छन्, ‘निधारमा छाप पूर्व कमाउवादीको लगाइयो तर यो कमाउवादीबाट मेरो गाउँलाई केही पनि दिन सकेको छैन । जे जति गरेको छु, पूर्व एमालेबाट गरेको छु, साथीहरु । यो कमाउवादीको पत्तासाफ गर्नुपर्छ । नेकपा एमाले जिन्दावाद ।
११. पूर्व माओवादी निकटका अर्का ज्याक अर्याल यसरी लेख्छन्, ‘एउटाले संवैधानिक राजतन्त्रको ढोल पिट्थ्यो । अर्काले बयलगाढाको । यी दुवैको टाउकामा कुल्चेर देशमा गणतन्त्र स्थापना गर्ने प्रचण्ड नै हुन् । आफ्नो मुद्धा र एजेण्डा पास गराएर सत्ताको बागडोर उनको हातमा आउनु आजको आवश्यकता हो ।
१२. अर्का प्रचण्ड गुटका अशोक मरहट्टाको सामाजिक सञ्जालको अभिव्यक्ति पनि कम्ति आक्रोशपूर्ण छैन । ‘लाखौँ कार्यकर्ता, हजारौं नेता, सयौं सांसद र छ प्रदेशमा सरकार भएको नेकपा दुई नेताको स्वार्थमा गुलाम हुन्छ । बाँकी सबै टाँङमुनि पुच्छर लुकाई कुइँकुइँ मात्र गरिरहन्छन् । अब फुट होइन, बिघटन रोजौँ ।
१३. सँधै पार्टीभित्र कलहको समाचार सुनेर दिक्क भएका पूर्व माओवादी निकटका सूर्य भण्डारी यसरी सामाजिक सञ्जालमा लेख्छन्, ‘संवृद्ध नेपालको बिकल्प ः हरेक पार्टीमा पहिलो पंक्तिमा रहेका नेतागणहरुको अवकास र दोस्रो पुस्ताले नेतृत्व लिने । यो हुन सकेन भने यो व्यवस्था असफल घोषणा गरी अर्को व्यवस्थाको परिकल्पना गर्ने ।
१४. पूर्व एमालेको युवा संगठनका जिल्ला अध्यक्ष समेत रहेका वसन्त गुरुङले लेखेका छन्, ‘पार्टी एकीकरणको नाममा बार्गेनिङ गरेर मन्त्री तथा प्रधानमन्त्रीको पद खोज्नेहरुलाई देशभरिका युवा कार्यकर्ताहरुले वैकल्पिक प्रणालीको खोजी गर्ने कि ?
१४. जीपी लामिछाने नाम रहेका पूर्व माओवादी निकटका कार्यकर्ता लेख्छन्, ‘उनैले नयाँ पार्टी एमाले खोल्न लगाए । निर्वाचन आयोगमा दर्ता गराए । चुनाव चिन्ह पनि पुरानै लिए । सांसदहरुको हस्ताक्षर समेत गराउन भ्याए । पार्टी फुटाउने अध्यादेश ल्याए । अब सँगै बस्न सकिँदैन भन्ने सर्कुलर भर्चुअल मार्फत जिल्ला जिल्लामा पठाए । अनी हाम्रो बुझाई यो सबै एकताकै लागि त होनी । अब समर्थनमा ताली पररर ……..सहनको पनि त सिमा होला नि, कम्रेड हैन र ?
१५. समीर प्रधान नामका पूर्व एमाले निकट कार्यकर्ताले सामाजिक सञ्जालमा ओली गुटको बचाउ गर्दै लेखेका छन्, ‘मानिलिउ, ओलीले दुई मध्य एक पद छाड्ने भए, त्यसपछि प्रचण्डले लगाएको आरोप माफी हुन्छ ? बरै तिम्रा राजनीति ।
उनले दिनहूँ पोख्ने गरेको गुटगत आक्रोश मध्य को अर्को हो, ‘ओली अझै १५ बर्ष बाँच्छन, महाधिवेशनमा हराउन सकिदैन, बिधानमा जे लेखेको भए पनि अहिले प्रचण्ड सहमत भएका छन, हाम्रो बहुमत पनि पुगेको छ, यही बेला ओलीलाई फाल्नुपर्छ ।
बिचरा कमरेड तपाइँको हविगत । ललितानिवास काण्ड, बालुवाटार काण्ड, उपत्यका भित्रका करिब १२०० कित्ता कसको पालामा को मोहीको रूपमा उभिएर सबै जग्गा जमिन ब्यक्ति नाममा गरायो ? ती लगायत सबै प्रकार र प्रकृतिका फाइलहरु एकाएक बाहिर निकाल्नु पर्यो प्रधानमन्त्रीज्यू । अनि बल्ल यिनीहरुको बिधि, पद्धतिका नाममा गरिएको बबण्डर सकिन्छ । पार्टी एकताका नाममा लुकाइएका सबै तथ्य बाहिर ल्याइदिनुस, नाङ्गेझार पारिदिनुस । जनताका सामु जब जोरिनै खोज्छन् भने पिलो पालेर राख्नु उपयुक्त नहोला प्रधानमन्त्री ज्यु, जय स्वाभिमान ।
१५. पूर्व माओवादीका कार्यकर्ता दीपक ढकाल अबिरल ‘पार्टी फुटाएर हुन्छ कि के गरेर हुन्छ बरु मलाई १ सिटे भएनी माओवादी चाहियो । यो टुक्केको पार्टीमा बसेर मलाई कम्युनिस्ट भन्न नि लाज लागिसक्यो । प्रचण्ड अघि बढ, हामी साथ दिन तयार छौं’ भन्दै आफ्नो असन्तुष्टि पोख्छन् ।
लगत्तै उनले लेखेका छन्, ‘केपीबाट कहिले मुक्ति पाइएला र धक फुकाएर कम्युनिष्ट पार्टीको कार्यकर्ता हुँ भन्न पाइएला ।’
१६. पूर्व एमालेका परिचित कार्यकर्ता सुधीर कार्की ओली गुटको बचाउ गर्दै लेख्छन्, ‘दुई देशको सम्बन्धलाई राम्रो बनाउनेतर्फ भेट गर्दा हिजोका देशका उद्योगधन्दा बेचुवाहरु, नेपालमा अस्थिरता चाहनेहरु, भारतद्वारा परिचालित पार्टीहरु, व्यवस्था परिवर्तनका नाममा निर्दोष जनताको ज्यान लिने पार्टीका नेताहरु, भारतको बिरोधमा बोल्दा रासन कार्ड गुम्ने पार्टीका नेताहरुको निद हरम भएको छ । यस्तै गर्नुस्, प्रधानमन्त्रीज्यू, हामी तपाइँको पक्षमा छौँ ।’
फेसबुक प्रतिक्रियाहरु