देशमा कोरोना संक्रमण बढ्ने बित्तिकै सरकारले एउटा निर्देशन जारी गरेको थियो– स्वास्थ्य मापदण्ड पालना गरौँ, सामाजिक दूरी कायम गरौँ । जनतालाई कोरोनाबाट बचाउन सरकारले गरेको सबैभन्दा ठूलो काम पनि त्यही नै थियो ।
आखिर जनताप्रति सरकारको ठूलो दायित्व छ । त्यसैले जनतालाई कोरोनाबाट बचाउन केही त गर्नैपर्छ भन्ने दायित्वबोध गरी सरकारले यो काम गरेको थियो । ‘यो काम’ अर्थात निर्देशन जारी गर्ने काम ।
तर, विडम्बना के भयो त भन्दा सरकारले त्यत्रो निर्देशन जारी गर्दा पनि जनताले भने त्यसलाई वास्तै गरेनन् । स्वास्थ्य मापदण्ड कसैले पालना गरेनन् । सामाजिक दूरी त झनै कायम गरेनन् । मलाई त लाग्छ, सामाजिक दूरी कायम गरौँ भन्ने सरकारको निर्देशन कसैले पालना गरेको छ भने त्यो स्वयं प्रधानमन्त्री र नेकपाकै नेताहरूले मात्रै होला । अरु कसैले पालना गरेको छैन ।
तपाईं नेकपामा हेर्नोस्, त्यहाँ सामाजिक दूरी अत्यन्त कडापूर्वक पालना गरिएको छ । नेताहरू एकआपसमा आमने–सामने कहिल्यै पर्दैनन् । अझ सकिन्छ भने बोल्दा पनि बोल्दैनन् । दूरी झन् झन् फराकिलो बनाउँदै लगिएको छ । ‘गले लगाउने’ त कुरै भएन । हात मिलाउने त झनै कुरा भएन ।
उनीहरू अहिले हात मात्र होइन, मन पनि मिलाउन तयार छैनन् । आखिर सरकारको निर्देशन हो, अरुले नगरे पनि कम से कम सरकार चलाउने पार्टीले त पालना गर्नै पर्यो । त्यसैले नेकपाका नेताहरू अहिले पार्टीको सैद्धान्तिक बहस पनि बोलेर होइन चिट्ठी लेखेर अगाडि बढाइरहेका छन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्यूले त अब बैठक बोलाए पनि आफू नजाने भनिसक्नुभएको छ । उहाँ बैठकमै नगएपछि यो सामाजिक दूरी अझै बढ्ने पक्का छ । यति भइसकेपछि अब योभन्दा बढी सामाजिक दूरी कति बढाउने ? शायद यति भएपछि त पार्टीलाई कोरोनाले छुन नसक्ला कि ?
बालुवाटारको केक
प्रधानमन्त्रीनिवास बालुवाटारमा अस्ति बसेको बैठक पनि मारामारीमा गएर टुंगियो रे भन्ने सुनेँ । वास्तवमा पार्टीभित्र जो विवाद थियो, त्यसलाई टुंग्याएर वातावरण सुमधुर बनाउने उद्देश्यका साथ उक्त दिन बैठक बसेको थियो । तर, कसरी एकाएक मारामारीमा बदलियो ?
समाचारमा पढ्न पाइएअनुसार बैठक बस्नुअघि महासचिव कमरेड बिष्णु पौडेलको जन्मदिन मनाइवरि केक खाने काम भएको थियो । केकमा नेपालको नयाँ नक्सा थियो कि पुरानै थियो, त्यो त थाहा भएन । तथापि केकचाहिँ अवश्य पनि मीठै थियो होला भनी अनुमान गर्न सकिन्छ । किनभने, त्यो केक खाइन्जेल वालुवाटारको वातावरण सुमधुर नै थियो । सबैले रमाई–रमाई नै खाएका थिए (केक हो है, अर्थोक होइन !) ।
एकले केक काटे अर्कोलाई खुवाए । फेरि अर्कोले काटे, अर्कोलाई खुवाए । खाने र खुवाउने काम अत्यन्त सौहाद्र्रपूर्ण वातावरणमा सम्पन्न भएको थियो । खाने कुरामा कुनै विवाद पनि थिएन । नेताजीहरूको अनुहार हेर्दा यस्तो लाग्थ्यो कि खान पाएकोमा सबैजना सन्तुष्ट छन् ।
विवाद त तब उत्पन्न भयो, जब त्यहाँ राखिएको थालीमा केक समाप्त भयो । केक सकिएपछि खाने कुरा बाँकी रहेन । खाने कुरा बाँकी नभएपछि खाने काम पनि भएन । खाने काम नभएपछि नेताहरूले लड्ने काम शुरु गरे । यदि त्यहाँ केक (वा अरु कुनै खाने वस्तु) कायमै रहेको भए नेताजीहरू बीच झगडा पनि मच्चिने थिएन । किनभने, सबैजना खानमै व्यस्त भइरहेका हुन्थे, झगडा गर्ने फुर्सद कसरी पाउनु ?
देउवा किन क्रुद्ध हुनु ?
तनहुँमा रामचन्द्र पौडेललाई पक्रनेवित्तिकै यता काठमाडौंमा शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई फोन गरेछन् । समाचारमा आएअनुसार त देउवाले प्रधानमन्त्रीसमक्ष गुनासो पोखेका थिए रे ! पौडेललाई पक्राउ गरेकोमा देउवा साह्रै क्रुद्ध पनि थिए रे !
त्यो समाचारको कुरा भयो । यथार्थमा फोनमा भएको कुराचाहिँ के हो, त्यो कसैलाई थाहा छैन । पौडेललाई पक्राउ गरेकोमा देउवाले प्रधानमन्त्रीलाई आक्रोश पोखेका हुन् कि धन्यवाद दिएका हुन्, त्यो थाहा हुन सकेको छैन । पौडेललाई पक्राउ गरेकोमा देउवा किन क्रुद्ध हुनु ? उनी त खुशी पो हुनुपर्ने । खुशी हुनुपर्ने मान्छे क्रुद्ध किन हुनु ? त्यसैले उनी क्रुद्ध भएकै भए पनि पौडेललाई पक्राउ गरेकोमा क्रुद्ध भएको होइन होला, बरु चाँडै छोड्ला कि भनेर क्रुद्ध भएको हुनुपर्छ ।
पक्राउ जब गरि नै सकेको छ भने कमसेकम कांग्रेसको अर्को महाधिवेशनसम्म नछोड्नु है भनेर पो फोन गरेको हो कि !
फेसबुक प्रतिक्रियाहरु