१८ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)ले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्ने भारत तेस्रो मुलुक हो ।
अमेरिकामा २ लाख ९ हजार र ब्राजिलमा १ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारता मृतकको संख्या एक लाख एक हजार ७८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सेप्टेम्बर भारतको लागि कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्याको आधारमा सबैभन्दा खराब महिना रह्यो । सेप्टेम्बर महिनामा भारतमा औसतमा दैनिक ११०० मानिसको मृत्यु भयो ।
केही राज्यहरुमा अझै पनि कोरोनाबाट मृत्यु हुनेको संख्यमा निरन्तर वृद्धि भइरहेको छ । यसले भारतमा अझै पनि कोरोना महामारी बढ्न सक्ने संकेत दिएको केही विशेषज्ञहरुले बताएका छन् ।
सबैभन्दा अगाडि महाराष्ट्र
भारतको सबैभन्दा ठूलो र धनी राज्यमध्येको एक महाराष्ट्रमा सबैभन्दा धेरै १३ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । राज्यमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ हजार नाघेको छ ।
भारतमा सबैभन्दा पहिला महाराष्ट्रमै कोरोना महामारी फैलिएको थियो । सेप्टेम्बर महिनामा मात्र यो राज्यमा औसतरुपमा दैनिक तीनदेखि पाँचसयसम्मको मृत्यु भएको थियो । अन्य राज्यको तुलानामा यो संख्या धेरै बढी हो । कोरोनाबाट सबैभन्दा प्रभावित बनेका अन्य राज्यहरुमा पनि दैनिक एक सयभन्दा थोरै मानिसको मृत्यु भएको थियो ।
वित्तीय केन्द्रका रुपमा चिनिएको मुम्बई अहिले कोरोनाको महामारी सबैभन्दा धेरै फैलिएको सहर बन्न पुगेको छ । भारतमा सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमा मुम्बई अगाडि छ । दोस्रो स्थानमा पुने छ । पुनेमा कोरोनाबाट पाँच हजार आठसयभन्दा धेरैको मृत्यु भएको छ ।
भारतमा कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने १० जिल्लामध्ये महाराष्ट्रमा पाँचओटा छन् ।
मुम्बईमा एन्टीबडी परीक्षणको सर्वेक्षण गरिरहेका आर्नभ घोष सहरको केही स्थानमा आधा जनसंख्यामा कोरोना एन्टिबडी पाइएको बताउँछन् । उनका अनुसार मुम्बईको तुलनामा पुनेबाट धेरै संक्रमण फैलिएको छ । मुम्बईको संक्रमण मुम्बईबाट धेरै बाहिर गएको छैन तर पुनेमा भने गाउँबाट सहर आउने र सहरबाट गाउँ जानेजस्ता गतिविधि बढेकाले पुनेबाट धेरै संक्रमण फैलिएको हो ।
त्यस्तै कमजोर स्वास्थ्य प्रणाली र समयमा नै उपचार पाउन नसक्ने समस्याको कारण पनि महाराष्ट्रमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको जानकारहरुको दाबी छ ।
पञ्जाबको बिग्रँदो अवस्था
भारतको उत्तरी क्षेत्रमा पर्ने पञ्जाबमा संक्रमितको आधारमा मृत्यु हुनेको संख्या तीन प्रतिशत छ । यो अनुपात समग्र भारतको अनुपातभन्दा दोब्बर हो । यसले पनि पञ्जाबमा संक्रमणको अवस्था कस्तो छ भन्ने देखाउँछ । भारतको ब्रूकिङ्स इन्स्टिच्युटकी डाक्टर शमिका रवि पञ्चाबमा पछिल्लो समय बढ्दो क्रममा रहेको संक्रमण चिन्ताको विषय रहेको बताउँछिन् । ‘यो राज्यमा देखिएको कोरोनाको मृत्युदर मुलुकको सबैभन्दा उच्च मात्र होइन, निरन्तर बढ्ने क्रममा पनि देखिएको छ’, उनले भनिन् ।
डाक्टर रविका अनुसार परीक्षणको दायरा कम हुनु पनि मृत्युदर बढी हुनुको एक कारण हो । परीक्षण सीमित गर्दा अन्तिम अवस्थामा पुगेपछि मात्र मानिसमा कोरोना संक्रमण भएको पुष्टि हुन्छ ।
परीक्षण नै समस्या हो त ?
पञ्जाबमा समग्र परीक्षणमध्ये ६ दशमलव २ प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यो दर महाराष्ट्रको भन्दा निकै कम हो । महाराष्ट्रमा यो दर २४ प्रतिशत छ । तर बिहार र झरखण्डको तुलनामा धेरै हो । बिहारमा दुई दशमलव ५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ भने झारखण्डमा संक्रमण पुष्टि हुनेको संख्या तीन दशमलव ७ प्रतिशत छ ।
कम परीक्षण गर्दा पनि संक्रमण दर धेरै पाइयो भने कोरोना संक्रमण उल्लेख्य मात्रामा फैलिरहेको छ भन्ने बुझ्नुपर्ने डाक्टर रवि बताउँछिन् । समयमै कोरोना संक्रमितले उचित उपचार पाउन नसक्दा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको विशेषज्ञहरुको भनाइ छ ।
भारतको तामिलनाडुमा अहिलेसम्म नौ हजारभन्दा धेरैको कोरोनाको कारण मृत्यु भइसकेको छ । तर, दैनिक मृत्यु हुनेको संख्या भने जुलाईयता घट्दो क्रममा छ । जसको एक कारणको रुपमा समयमा नै कोरोना संक्रमितको पहिचान हुनुलाई लिइएको छ ।
यद्यपि संक्रामक रोग विशेषज्ञ जाकोब जोनकाअनुसार कामजोर स्वास्थ्य सेवाको कारण पनि धेरै मानिसको मृत्यु हुनेतर्फ ध्यान दिनुपर्ने सुझाउँछन् ।
सहरी जिल्लामा धेरै मृत्यु
भारतमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित १० जिल्ला सहरी क्षेत्र छन् । मृत्युको हकमा पनि यो तथ्यांक फरक छैन । कोरोनाबाट मृत्यु हुनेमध्ये ८० प्रतिशत सहरी जिल्लामा भएका छन् । र, धेरै जिल्लामा मृत्युदर पनि भारतको औसत मृत्युदरभन्दा बढी छ ।
सहरी क्षेत्रमा अत्यधिक भिडभाडयुक्त बसोबास हुने र भौतिक दुरी कायम राख्न पनि सम्भव नहुने भएकाले सहरी जिल्लामा कोरोनाको संक्रमण धेरै देखिएको हो । यसले सम्पन्न जिल्लाहरुमा किन धेरै कोरोनाको संक्रमण छ भन्ने कुरालाई पनि देखाउँछ । त्यसका साथै नजिकैका जिल्लाहरुबाट पनि मानिसहरु उपचारको लागि सहरी जिल्लामा आउने गरेकाले यहाँको मृत्युदर बढी हुने विज्ञहरुको भनाइ छ ।
गरीब राज्यमा मृत्युको संख्या कम
भारतको गरीब राज्यहरुमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम छ, जसको एउटा कारण सही तथ्यांक सार्वजनिक नगरिनु हुनसक्छ । त्यसका साथै गरीब राज्यहरुमा मानिसहरुको गतिविधि पनि सीमित हुने भएकाले यी राज्यहरुमा जोखिम केही कम देखिएको छ ।
यद्यपि ग्रामीण क्षेत्रहरुमा कोरोना संक्रमणको जोखिम भने नटरेको जानकारहरु बताउँछन् । डाक्टर घोष बताउँछन्, ‘सौभाग्य मान्नुपर्छ कि कोरोना महामारी महाराष्ट्रजस्ता सम्पन्न राष्ट्रमा फैलियो । यदि यो संक्रमण बिहारमा फैलिएको भए यसले ठूलो संकट निम्त्याउने थियो ।’
स्रोत : बीबीसी
फेसबुक प्रतिक्रियाहरु