होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपाको कम्युनिस्ट आन्दोलन
समाचार

नेकपाको कम्युनिस्ट आन्दोलन

  • नागरिक रैबार
नेकपाको कम्युनिस्ट आन्दोलन
फायल तस्वीर

उज्जल प्रसाइ

विचार ।

नेतृत्वले आफ्ना अभिव्यक्ति र कर्ममार्फत सर्वांग उदांगो पारेर असलियत देखाइसक्दा पनि नेकपालाई सबैभन्दा अग्रगामी र प्रगतिशील पार्टी मान्नेहरुको संख्या ठूलो छ ।

यस घडी नेपालको दलीय राजनीति केही थान कलाविहीन प्रहसन रचेर बसेको छ । यो स्तम्भ लेख्दै गर्दा काठमाडौंको माइतीघर मण्डला र झापाको बिर्तामोडमा प्रधानमन्त्री केपी ओलीको पद जोगाउने घोषित उद्देश्यसाथ प्रदर्शन गरिँदै छ ।

नेपाली लोकतन्त्रको इतिहासमा सबैभन्दा शक्तिशाली मानिएका प्रधानमन्त्री र दलाध्यक्षको पद जोगाउन नियोजित सडक प्रदर्शन गरिएको हो । केही दिनदेखि विवादमा रहेका नागरिकता, अख्तियार एवं निजामती सेवासम्बन्धी ऐनको टुंगो नलगाई संसद्को बजेट अधिवेशन हठात् अन्त्य गरियो ।

विज्ञापन

अमेरिकी सहायता परियोजना (एमसीसी) बारे अन्योल पनि नटुंग्याई अधिवेशन अन्त्य भयो । खास गरी केपी ओलीबाट असन्तुष्ट पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत नेताले ओलीको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागेसँगै सडकदेखि संसद्सम्मको प्रहसन सुरु भएको हो ।

नेकपा स्थायी समितिको छैटौं दिनको बैठक सुरु हुनुअघि बालुवाटार, शीतलनिवास एवं खुमलटारमा सत्ताकेन्द्रित रस्साकस्सीका पटके बैठक चले । यस्ता अनौपचारिक पटके बैठक वैचारिक वा सांगठनिक अड्चनका विषयमा छलफल गर्न आयोजना गरिँदैनन् । मूलतः शक्ति–अभ्यासमा देखापर्ने असहजतालाई लेनदेन वा जोडघटाउबाट मिलाउने यत्नमा भेटघाटका शृंखला रचिन्छन् ।

सके फकाएर लेनदेन मिलाउने, नत्र तर्साउने काम गरिन्छ । वैचारिक एवं सांगठनिक विषयमा केन्द्रित हुनुपर्ने औपचारिक स्थायी समितिको बैठकमा भने दलाध्यक्ष नै प्रायः गयल छन् । पटके छलफलमा सक्रिय रहने उनी स्थायी समितिमा छैटौं दिन पनि आएनन् । बरु छलफल स्थगित गरेर अन्य शीर्षस्थसँग फेरि पटके बैठकमा लागे । यसैबीच, दल–तोडक अध्यादेश ल्याएर राजीनामा माग्नेहरूलाई तर्साउने काममा उनी व्यस्त भएको हल्ला चल्यो ।

नेतृत्वले आफ्ना अभिव्यक्ति र कर्ममार्फत सर्वांग उदांगो पारेर असलियत देखाइसक्दा पनि नेकपालाई सबैभन्दा अग्रगामी र प्रगतिशील पार्टी मान्नेहरूको ठूलो संख्या छ नेपालमा । प्रत्येकपटक शक्ति–अभ्यासमा जटिलता उत्पन्न भएर नेताहरू आपसमा लड्न थालेपछि कार्यकर्ताको ठूलो पंक्ति भन्न थाल्छ, ‘नेताहरू हो, सच्चिनुहोस् ।

तपाईंहरू आपसमा लड्न थाल्नुभयो भने कम्युनिस्ट आन्दोलन सर्वनाश हुन्छ ।’ नेकपालाई आफ्नो पार्टी ठान्ने नागरिक एवं सक्रिय कार्यकर्ताले सर्वनाश होला भनेर साह्रै धेरै चिन्ता गरेको ‘कम्युनिस्ट आन्दोलन’ आखिरमा हो के ? नेपालमा मौजुद रहेको भनिएको यो आन्दोलन सकिँदा खासमा के सकिने हो ? अहिले आपसमा लडिरहेका ती नेताले धानेर बसेको त्यो के हो जसलाई कार्यकर्ता कम्युनिस्ट आन्दोलन भन्दै छन् ?

नेकपा समर्थकले भनेको स्विकार्ने हो भने, अहिले नेपालमा कम्युनिस्ट आन्दोलन हाँकिरहेको सबैभन्दा भरपर्दो पार्टी यही नेकपा हो जसले पछिल्ला निर्वाचनहरूमार्फत सबैभन्दा ठूलो जनसमर्थन प्राप्त गरेको थियो । त्यसो भए विशाल संगठन सञ्चालन गरिरहेको नेकपाले गरिरहेका कामहरूको एकसरो सूची बनाएर हेरौं र उसले गरिरहेको कम्युनिस्ट आन्दोलनलाई बुझ्ने प्रयास गरौं । दस्तावेजमा लेखिएका शब्दले मात्र यथार्थ बताउँदैनन् भन्ने स्वयं दस्तावेजका असली लेखकहरूलाई थाहा छ । त्यसैले नेकपाको संगठन र त्यस संगठनमार्फत भइरहेका काम सम्झनु मनासिब हुन्छ ।

अहिले नेकपा सर्वत्र छ, मूलतः सत्तामा छ । सरकारमा नेकपा मात्रै छ, संसद्मा नेकपाको स्पष्ट बहुमत छ, प्रदेश सरकारहरूमा सबैभन्दा बढी उपस्थिति उसकै छ, स्थानीय सरकार लगभग सबै नेकपाकै हातमा छन् । नेपालको कर्मचारीतन्त्रलाई सञ्चालन गर्ने दलीय युनियन हुन्, जसमा नेकपा नै अरूभन्दा अब्बल छ । प्रहरी र सेनामा समेत नेकपाको बलियो पकड छ, यो तथ्य छिपेको छैन ।

नेपालको सञ्चार क्षेत्रमा सक्रियतापूर्वक काम गर्ने पत्रकारहरूमा बलियो प्रभाव भएको पार्टी नेकपा नै हो । व्यावसायिक भनिएका सञ्चारगृहदेखि पछिल्लो समय बग्रेल्ती खुलेका अनलाइनमा समेत नेकपा पत्रकारको बाहुल्य देखिन्छ । निजीदेखि सामुदायिक सबै शिक्षालयमा काम गर्ने शिक्षकहरूमा नेकपाको प्रभाव असाध्यै बलियो छ । विद्यार्थी संगठनमा नेकपालाई कसले भेट्ने ? गाउँस्तरका सहकारी समूहदेखि युवा क्लबहरूमा पनि नेकपाको जत्ति पकड कुनै दलको छैन । सामाजिक सञ्जालमा हल्ला मच्चाउन सक्ने झुन्डहरूमा सबैभन्दा सक्रिय नेकपा कार्यकर्ता नै हुन् ।

माथि उल्लिखित संगठनले गरिरहेका काम केके हुन् ? सूचनामा पहुँच राख्ने जोसुकैले यी संगठनले गरिरहेका काम बताउन सक्छ । सत्तामा बसेर नेकपाले आफ्ना वरपरका एक दर्जनजति दलालहरूको अकण्टक सेवा गरेको छ । ओम्नीदेखि गोकुल बाँस्कोटाको फोन–प्रकरण सम्झँदा मात्र काफी हुन्छ । नीति तथा कार्यक्रम र बजेटमार्फत सत्ताधारी कम्युनिस्टले बजारको एकोहोरो सेवा गरेको छ । वार्षिक बजेटको एकसरो अध्ययन गर्दा नेकपाले सेवा गर्न खोजेको वर्गको नापनक्सा स्पष्ट हुन्छ ।

नेकपाको कर्मचारी संगठनले आफ्ना कार्यकर्ताको सरुवा र बढुवा, कमिसन र सुविधाजस्ता चासोमा सक्रियतापूर्वक काम गरेको छ । विद्यार्थी संगठन विश्वविद्यालय र कलेजका स्रोतमा दखल राख्ने ध्याउन्नमा सधैं सक्रिय रहेकै छ । गाउँ र नगरस्तरमा सक्रिय संगठनमा आबद्ध युवा गाउँका जंगल, खोला, बालुवा, गिट्टीलगायत स्रोत दोहन गर्ने र निजी सम्पत्ति वृद्धि गर्ने काममा दत्तचित्त छन् ।

वित्तीय कारोबारका वैध एवं अवैध कारबाहीमा पनि दलआबद्ध युवाहरू नै सामेल छन् । आफ्ना गुटका नेतालाई संकट आइपर्दा उनीहरूको पद जोगाउने अभियानमा चोकचौतारामा भेला भएर भाषण पनि गरेकै छन् । त्यस अलावा समाजमा रवाफ कायम गर्न सकिने ‘भाले कप फुटबल टुर्नामेन्ट’, नाचगानका सांस्कृतिक कार्यक्रम र पछिल्लो समय ख्याति कमाएका पर्यटन महोत्सवहरू आयोजनामा गर्नमा पनि उत्तिकै सक्रिय छन् । यही हो कम्युनिस्ट आन्दोलन ? यसबाहेक केही भए, बृहत्तर समाजले त्यो थाहा पाएको छैन । कम्युनिस्ट आन्दोलन भनेको दस्तावेजका शब्दबाहेक कुनै गतिविधि पनि हुन् भने, सबैले देखेका र जानेका गतिविधि यिनै हुन् ।

दलित युवा अन्तरजातीय प्रेम गरेको निहुँमा लखेटेर मारिन्छन्, नेकपा नेतृत्वको कम्युनिस्ट आन्दोलन मारिएका युवालाई उल्टै दोष दिन्छ । प्रेम र जीवनविरुद्ध षड्यन्त्र रचिन्छन्, कम्युनिस्ट आन्दोलन कतै सुनिँदैन । नागरिकताको हकबाट महिलाहरू वञ्चित हुन्छन्, कम्युनिस्ट आन्दोलन ‘देश’ जोगाउन त्यसै गर्नुपर्छ भन्छ ।

राष्ट्रवादको छली पर्दा हालेर सत्ताका सारा नकाम छोप्न खोजिन्छ, कम्युनिस्ट आन्दोलन मधेसलाई दुस्मन करार गरेर निहुँ खोजी बस्छ । सांस्कृतिक धरोहर भएका पुराना बस्तीमा कृषकबाट जमिन खोसेर सेना डोजर चलाउँछ, कम्युनिस्ट आन्दोलन सेनालाई स्याबासी दिन सबैभन्दा अग्रपंक्तिमा उभिन्छ ।

प्राकृति जंगल फाँडेर सिमेन्टका खाँबा गाडिन्छन्, कम्युनिस्ट आन्दोलनको सफलता त्यसैलाई मान्छ नेकपा । विकास र आर्थिक वृद्धिका नाममा चलाइएको पुँजीको अकण्टक चक्रले दलाल मात्रै उत्पादन गर्छ, कम्युनिस्ट आन्दोलन तिनै दलालको सेवामा सबैभन्दा बढी खट्छ ।

अहिले केपी ओली र माधव नेपालको चर्काचर्की पर्दा वा पुष्पकमल दाहाल ओलीसँग रिसाउँदा कार्यकर्ताहरू कम्युनिस्ट आन्दोलनको सर्वनाश हुने भयो भनेर डराएका छन् । नेपाल र ओलीको आपसी सम्बन्ध बिग्रँदा, दाहालसँग बोलचाल बन्द हुँदा वा नेकपा फुटेर एमाले र नेकपा हुँदा सर्वनाश हुने गतिविधि तिनै हुन् जो माथि भनियो ? यी तमाम गतिविधिलाई नेतृत्व गर्ने स्वयं ओली, दाहाल र नेपालहरू नै होइनन् ?

कम्युनिस्ट नाम गरेको कुनै आन्दोलन आवश्यक छ र त्यो आन्दोलन सकिँदै छ भने त यिनै गतिविधिकै कारण सकिँदै छ, होइन र ? नेपाली समाजको प्रगतिका लागि कम्युनिस्ट आन्दोलन जीवित रहनुपर्छ भन्ने कसैलाई लाग्छ भने तिनले ओली र दाहालले कज्याएको संगठनको मोह त्याग्नु श्रेयस्कर हुन्छ ।

रह्यो, केपी ओलीको राजीनामाको सवाल । सबै क्षेत्रमा पूर्णतया असफल भइसक्दा, आफैंले कबोलेको कुनै पनि काम पूरा गर्न नसक्दा र भ्रष्टाचारका घटना प्रमाणसहित पटकपटक सार्वजनिक भइसक्दा पनि कोही मान्छे प्रधानमन्त्री भएर बेसुरा गफ गरिरहन पाउँछ भने, मौजुदा व्यवस्थामाथि नै ठूलो प्रश्न खडा हुन्छ । यो व्यवस्थाको दीर्घजीवन चाहनेले विकल्प खोज्नु सामान्य घटना हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै