सुदूरपश्चिम प्रदेशको ‘भू–स्वर्ग’ मानिने खप्तड क्षेत्रलाई देशभित्र र बाहिर चिनाउन यहाँका स्थानीयवासी र सङ्घ संस्था अग्रसर भएका छन्। कुनैबेला निगालोको जङ्गलका रुपमा चिनिँदै आइएको खप्तड क्षेत्रलाई पछिल्लो समय सुदूरपश्चिमका स्थानीयवासी प्रकृतिले दिएको अनुपम उपहार भन्दै संसारभरि चिनाउन लागिपरेका छन्। असाधारण तपस्वी खप्तड बाबाले ५० वर्ष तपस्या गरेपछि सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भू–स्वर्ग’को उपनाम दिएको थियो। उनी आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिन्छन। सन् १८८० मा भारतको काश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिएका खप्डतबाबा विसं १९८६ मा नेपाल आएका थिए। उनले कलकत्तास्थित ट्रपिकल मेडिकल कलेजबाट एम. बी. बी. एस. र बेलायतबाट शल्य चिकित्साबारे अध्ययन गरेको थियो।
काशीको दक्षिणामूर्ति मठमा पूर्वीय दर्शन अध्ययन गरेपछि गहन साधनाका लागि उहाँले नेपालको खप्तड लेक रोजेको थियो। उनका धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्य लगायतका झण्डै डेढ दर्जन पुस्तकहरू प्रकाशित छन्। प्रकाशन हुन नसकेका उनकै हस्तलिखित अरु थुपै कृतिहरू विभिन्न मन्दिरहरूमा रहेका छन्। खप्तड बाबाको विसं २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको थियो। खप्तड बाबाले भने झै खप्तड भू–स्वर्ग भन्दा कम नभएको यहाँका स्थानियवासीको दाबी छ। खप्तड क्षेत्रमा पर्यटकहरु भित्र्याउन अहिले सुदूरपश्चिमेलीहरु रातदिन खटिरहेका छन्।
गलैंचा बिच्छाए झै लाग्ने विशाल हरिया फा“टहरु, मनै लोभ्याउने रङ्गीचङ्गी फूल, आश्चर्य लाग्ने त्यहा“को मौसम शायदै पृथ्वीका कुनै कुनामा भेटिएलान्। बाइस पाटन ५२ झोती भएको नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज पनि हो खप्तड क्षेत्र। हिउँद, वर्षा, गर्मी मौसममा भिन्न रुपमा प्रस्तुत हुने खप्तड धेरैका लागि नपुगी नहुने गन्तव्य पनि भएको डोटी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए। उनले भने – “सुदूरपश्चिम आउने पर्यटकका लागि खप्तड नपुगी नहुने ठाउँ हो। खप्तड पुग्दा मनका अशान्ति सबै हराउने छन्।” चार रैथानेसहित १३५ प्रजातिका फूल खप्तडमा नियाल्न सकिन्छ । यहाँ २२४ प्रजातिका जडीबुटी, ५३७ प्रजातिका वनस्पति, २७० जातका चराचुरुङ्गी हेर्न पाइन्छ। विश्वमै दुर्लभ मानिने हरियो छेपारो खप्तडमा पाइन्छ। बाह्रै महिना पानीको सतह एकनासको हुने विशेषता रहेको १५० मिटर लामो ५० मिटर चौडा दह पनि यहाँ छ। सहस्रलिङ्ग, नागढुङ्गा, ताल, दुर्लभ बझाङ्गी भ्यागुता खप्तडले पाएका भिन्नै उपहार हुन्।
प्रकृतिले खप्तड धनी छ नै। धार्मिक रुपले पनि यो त्यतिकै प्रसिद्ध छ । पूर्वीचौकी गाउँपालिकाका काँग्रेस नेता रामप्रसाद उपाध्यायले भने – “खप्तड क्षेत्र जति प्राकृतिक रुपमा धनी छ, त्यत्ति नै धार्मिक रुपमा पनि ओजपूर्ण छ। खप्तड पुगे घर फिर्ता हुन मन लाग्दैन।” खप्तडको त्रिवेणी मन्दिर धार्मिक रुपले अत्यन्त महत्वपूर्ण मानिन्छ। गङ्गादशहराका दिन पुजिने त्रिवेणी मन्दिरमा दर्शनार्थीहरुको ओइरो लाग्ने गर्छ । त्यो सँगै खप्तड बाबाको कुटी छ यहाँ। समुद्री सतहदेखि करीब दुई हजार ७०० देखि तीन हजार २२७ मिटरसम्मको उचाइमा अवस्थित खप्तड २२५ वर्ग्किलोमिटरको क्षेत्रफलमा फैलिएको छ। कहिले हिउभित्र लुक्ने त कहिले रङ्गीचङ्गी फूलहरुसँग जिस्कने खप्तड धेरैका लागि अध्ययनको विषय पनि भएको डोटीका नेकपाका नेता तथा सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले बताए।
खप्तड पुगी प्राकृतिक सुन्दरताको आनन्द लिने मात्र होइनन्, धार्मिक आस्था राख्नेहरु पनि अधिक छन्। त्रिवेणी, खापरदह, सहस्रलिङ्ग, नागढुङ्गा, गणेशस्थान जस्ता साँस्कृतिक महत्व बोकेका धार्मिक स्थलहरु पनि खप्तडमा रहेका छन्। गङ्गादशहराको बेला खप्तडको त्रिवेणीमा भव्य मेला लाग्ने गर्छ। पर्यटनका दृष्टिले खप्तड अत्यन्त उर्बर क्षेत्र भएको स्थानीयवासीको दाबी छ । यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने खप्तडको सिमाना जोडिएका सुदूरपश्चिमका चार जिल्ला बझाङ, अछाम, बाजुरा र डोटीको आर्थिक रुपले सबल बन्ने खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका पूर्व अध्यक्ष लालबहादुर खड्काले बताए। उनले भने – “खप्तड क्षेत्रमा पर्यटक मात्रै भित्र्याउन सके यहाँका चार पहाडी जिल्लाको विकास उल्लेख्य मात्रामा हुने देखिन्छ। अरु भन्दा खप्तडको विकास गर्न सके राम्रो।”
खप्तड क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटनसँगै अनुसन्धानकर्ताका लागि समेत उपयुक्त भएकाले वातावरण बनाउन सके खप्तडमा पर्यटकको ओइरो लाग्ने खप्तड पर्यटन विकास समितिका पूर्व अध्यक्ष पूर्णराज जोशीले बताए। उनले भने – “खप्तडमा पर्यटन प्रवद्र्धन गर्न सकिए अर्बौ रुपैयाँको कारोबार हुने छ।” पर्यटन बाहेक खप्तडको जडीबुटी र वनस्पति अर्को आयस्रोत हुन्। जङ्गली विषदेखि संजीवनी बुटीसम्म खप्तडमा रहेकाले त्यसको सही सदुपयोग हुन जरुरी रहेको खप्तड क्षेत्र आउनुभएका अनुसन्धानकर्ता नारायण रुपाखेती बताउँछन्।
खप्तड राष्ट्रिय निकुञ्जमा वार्डेनका रुपमा समेत काम गरिसकेका रुपाखेतीले खप्तडको जडीबुटीको मात्र सदुपयोग गर्ने हो भने पनि सिङ्गो सुदूरपश्चिम धानिने दाबी गरे। खप्तडको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि विसं २०६३ सालमा खप्तड पर्यटन विकास समितिको गठन गरिएको थियो। त्यसयता झण्डै २२ करोड रुपैयाँ विकास समितिमा आइसकेको छ तर, अहिलेसम्म पर्यटकलाई खाने बस्ने समेत खासै व्यवस्था हुन सकेको छैन।
खप्तडको बिचपानी र पाटनमा दुई वटा विश्राम गृह बनाइएको भए पनि ती गुणस्तरहीन भएकाले पाहुना बस्न लायक नभएको हालै खप्तड पुगेर फर्किनुभएका सञ्चारकर्मी मोहन शाहीले बताए। हरेक समिति र त्यहाँका कर्मचारी वर्षेनी आर्थिक अनियमितताको आरोपले मुछिँदै आएका छन्। खप्तड मध्यवर्ती क्षेत्र विसं २०६१ सालमा गठन भएको हो। खप्तडको मध्यवर्ती क्षेत्रअन्तर्गत चार जिल्लाका तत्कालीन २१ गाविस रहेका छन्। निकुञ्जको आम्दानी न्यून छ। निकुञ्जका वार्डेन लालबहादुर भण्डारीले भने – “पर्यटकबाट केही आम्दानी हुन्थ्यो, त्यो पटक्कै छैन। अरु आयस्रोत अहिले निकुञ्जसँग छैन।”
निकुञ्जबाट आएका वन्यजन्तुले अन्नपात खाइदिने, मान्छेमाथि आक्रमण गर्ने गरेकाले मध्यवर्ती क्षेत्रका स्थानीयवासी निरास छन्। निकुञ्ज भएकाले आफ्ना बस्तुभाउहरुको चरिचरनमा पनि समस्या भएको स्थानियवासी धनबहादुर विष्टले दुःखेसो गरे। उनले भने – “निकुञ्जका जनावरले हाम्रा खेतीपाती र अन्नबाली सबै खाई दिन्छन, राहत पाइँदैन। हाम्रा चौपायालाई निकुञ्जमा चर्ने अनुमति छैन। हामीलाई समस्या छ।” रासस
फेसबुक प्रतिक्रियाहरु