होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • विप्लवको निशानामा स्थानीय सरकार
राजनीति

विप्लवको निशानामा स्थानीय सरकार

  • नागरिक रैबार
विप्लवको निशानामा स्थानीय सरकार

प्रदेश ५ ब्युरो

बुटवल : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आधार इलाका मानिन्छ, प्रदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रूकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरूले विगतमा झैं ‘जनसरकार’ खडा गरेका छन् । उनीहरूका उर्दी र चन्दाको मुख्य निशाना भने जनप्रतिनिधि र स्थानीय सरकार बनेका छन् ।

प्रदेश ५ का अधिकांश स्थानीय तहमा उक्त पार्टीको ‘सहयोग अपिलपत्र’ पुगेको छ । विप्लव कार्यकर्ताले धम्की र चेतावनीसमेत दिएका छन् । जनप्रतिनिधिले भने यसको प्रतिवाद गर्न सकिरहेका छैनन् । ‘प्रतिरोध गर्न सक्ने अवस्थै छैन’, रोल्पाका एक जनप्रतिनिधिले भने, ‘यही गाउँमा बस्नु छ । हुँदैन, गर्न सकिँदैन भन्ने अवस्था छैन ।’

विज्ञापन

जनप्रतिनिधिको समस्या मात्रै होइन यो, ठेकेदार, शिक्षक, प्राध्यापकको पनि हो । रोल्पाका तत्कालीन नेकपा माओवादी केन्द्रनिकट प्राध्यानाध्यापकलाई गत वर्ष ५/५ लाख रुपैयाँ चन्दा दिनुपर्ने माग भयो । त्यसले उनीहरूको भागाभाग मच्चिएको थियो । त्यो क्रम अझै रोकिएको छैन ।

चन्दा नदिएको भन्दै विप्लव कार्यकर्ताले रूपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरी, प्युठानको स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकाया र पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेलाई मोसो दले । ‘एक साताअघि आर्थिक सहयोग गर्नु हुन भनेर चिठी प्राप्त भएको छ’, स्वर्गद्वारीका मेयर रोकायाले भने, ‘यसअघि हाम्रो कब्जामा छस् भनेर धम्की दिए । अहिले सहयोग मागेका छन् ।’

यसअघि पनि उनीहरूले कामकारबाही नसच्चिए कठोर कदम चाल्ने धम्की विज्ञप्तिमार्फत दिएका थिए । जनप्रतिनिधिले जनभावनाविपरीत काम गरेको आरोप विप्लव पक्षले लगाएको छ । उक्त पार्टीले जिल्लाका नौवटै स्थानीय तहमा सहयोगका लागि पत्र पठाएको छ । ‘सहयोगका लागि पत्र हात परेको छ’, माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोका मगरले भने, ‘यो विषयमा थप निर्णय गरेका छैनौं ।’

दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा आइतबार आगजनी भयो । विप्लवका यस्ता गतिविधि बढ्ने आशंका स्थानीयले गरेका छन् । उक्त गाउँपालिका प्युठानको माण्डवी गाउँपालिकासँग जोडिएको क्षेत्र हो ।

निर्माणका काममा कमिसन माग्ने क्रम अधिकांश जिल्लामा चलिरहेको छ । ज्यान जोगाउन कमिसन दिनुपर्ने बाध्यता रहेको निर्माण व्यवसायी बताउँछन् । वडा कार्यालय र सवारी साधनमा आक्रमण भएपछि जनप्रतिनिधि त्रसित छन् । प्रदेश ५ का रोल्पा, बर्दिया, दाङ, कपिलवस्तुमा वडा कार्यालय र गाडीमा क्षति पु¥याउने काम विप्लवका कार्यकर्ताले गरेका छन् ।

कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष र दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा शनिबार राति आगजनी भएको छ । मायादेवीका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु.१झ ४०० नम्बरको गाडी आगजनीबाट क्षतिग्रस्त भएको छ । आगजनी कसले ग¥यो भन्ने पत्तो नपाएको उनले बताए ।

विप्लव कार्यकर्ताले सरकारी गाडीउपर कारबाही गर्ने नीति लिएको देखिएको छ । घटनाको अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए । दाङको बंगलाचुली गाउँपालिकाको रा.१झ १५२ नम्बरको गाडी आगजनीबाट क्षति भएको छ । शनिबार राति पौने १ बजे गाडीमा आगजनी भएको थियो । वडा नम्बर ५ को वडा कार्यालय मुर्कुटीमा गाडी पार्किङमा थियो । प्रहरी सहायक निरीक्षक गोपालप्रसाद शर्माका अनुसार स्थानीयले आगो निभाएका थिए ।

प्रदेश ५ मा यी दुई घटनाअघि पनि स्थानीय तहमा आक्रमणका घटना भएका थिए । बर्दियाको गेरुवा गाउँपालिका–६ को कार्यालयमा असार २३ मा आगजनी भएको थियो । विप्लवको पार्टीका प्रचार सामग्री घटनास्थलमा भेटिएको थियो ।

रोल्पाको गंगादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले भाडामा प्रयोग गरिरहेको गाडीमा उनीहरूले फागुन २१ गते आगजनी गरेका थिए । रातको समयमा भे.१ज २७८५ नम्बरको भाडाको गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताएका थिए । सोही रात त्रिवेणी गाउँपालिकाको गाडी तोडफोड भएको थियो । गाडीनजिकै र गाउँपालिका कार्यालयनजिकै बम भेटिएको थियो ।

फागुन २२ गते राति त्रिवेणी गाउँपालिकाको रा.१ क ७१२ नम्बरको जेसीबीमा पनि आगजनी भएको थियो । गाडी र कार्यालयमा शृंखलाबद्ध आक्रमणले जनप्रतिनिधि त्रासमा छन् । प्रहरीकहाँ सुरक्षा माग गर्नेहरू भने छैनन् । रोल्पाका प्र्रहरी उपरीक्षक खड्काले लिखित र मौखिक उजुरी नआएको बताए । प्रहरीले विप्लव गतिविधि रोक्दै कार्यकर्ता पक्राउलाई निरन्तरता दिएको छ । आक्रमणका घटना भने रोकिएका छैनन् ।

पक्राउ गर्दै छाड्दै

प्रहरीले विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ । केहीबाहेक अधिकांश छुटेका छन् । बर्दिया जिल्ला सेक्रेटरी गणेश अर्याल आइतबार पक्राउ परे । जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले सदरमुकाम गुलरियास्थित राधाकृष्ण चोकबाट उनलाई नियन्त्रणमा लिएको हो । गेरुवा गाउँपालिकाको वडा कार्यालय आगलागी घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।

विप्लवनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य पुष्पराज न्यौपाने बर्दियाबाट रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशले न्यौपाने छुटेका हुन् । उनी पक्राउ पर्दै रिहा हुँदै आएका छन् ।

खेम बुढा/रोल्पा, केशर रोका/प्युठान, गोपाल शर्मा/दाङ, यादव आचार्य/बर्दिया, गोपाल भण्डारी/कपिलवस्तु

साभार अन्नपूर्ण पाेष्टबाट 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार