होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र २८, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ऋषिपञ्चमी, रजस्वला र अधिकार
समाचार

ऋषिपञ्चमी, रजस्वला र अधिकार

  • नागरिक रैबार
ऋषिपञ्चमी, रजस्वला र अधिकार
लेखक: बिमला पाण्डे

ऋषिपञ्चमी
भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गरेर मनाईने पञ्चमी विशेषतः महिलाहरुले मनाउने गर्छन । महिनावारीका बेला गरिएको पाप हटाउनका लागि हिन्दु धर्मावलम्बी महिलाहरुले पूजा गर्ने चलन र विश्वास छ । बिहानै उठेर नुहाउने र ब्राह्मणलाई निमन्त्रणा गरि पूजा आजा गर्ने चलन छ । पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई १०८ वा ७ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो, पीना र खरानी आदि लगाई स्नान गर्ने गर्छन् । नेपालमा बिहानै नुहाउने र ३ सय ६५ वटा दत्तिवन टोक्ने चलन छ । रजस्वलाका समयमा छाइछुई लगायत अन्य कुनै अदृष्य त्रुटि भएको अवस्थामा अरुन्धती सहित सप्तषिको पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइने शास्त्रीय वचन छ ।
के हो महिनावारी ?
महिला किशोरावस्थामा प्रवेशपछि हरेक महिना योनीबाट ५, ६ दिनसम्म रगत बग्नु नै महिनावारी हो । यो महिलाहरुमा मात्र सम्भव छ । महिनावारीले महिलालाई परिपक्व भएको र आमा बन्न सक्षम हुँदै गरेको संकेत गर्दछ । तर महिनावारी हुुनुलाई नेपाल लगायत दक्षिणपूर्वी एसियामा पापको रुपमा हेरिने गर्छ । महिनावारी कुनै पाप होइन, महिलाको प्राकृतिक देन हो । गर्भाधान नभएका डिम्बहरु महिलाको योनीवाट निष्काषित हुने सरल र सामान्य प्रक्रियानै रजस्वाला हो ।
महिनावारी, प्रजनन अधिकार र धर्म
महिनावारी अर्थात महिलाको मासिक धर्म, पन्छिने, राजश्वला, छाउपडी र राजधर्मका रूपमा हिन्दु संस्कृतिमा प्रचलित परम्परा आज निकै आलोचनाको विषय बनेको छ । जसलाई पूर्व जन्मको कुकर्मको पाप भनेर धार्मिक शास्त्रले भनेको छ भन्दै ब्याख्या गरि सदियौँदेखि हिन्दु नारीलाई चरम यातना दिईदै छ ।
मानवीय व्यवहारको सहजताको उपजका रुपमा धार्मिक संस्कारहरु बनाइएको हुन्छ । जुन समय अनुसार परिमार्जनको जरुरी हुन्छ । तर बुझेका मानिसहरु पनि यो संस्कारलाई जस्ताको तस्तै अनुशरण गर्दा समाज परिवर्तन हैन पीडा दिने माध्यमका रुपमा विकास भएको छ ।
पञ्चमी पूजा र कथालाई आधार मानेर अहिले पनि महिलाहरुलाई छाउ वार्न लगाईन्छ । महिनावारीलाई सरसफाई र प्रजनन अधिकारसँग जोडेर हेरिदैन । हाम्रो पुस्ताले महिनावारी हुनु भनेको प्रजनन क्षमताको विकास भएको वा सन्तान जन्माउन योग्य भएको प्रमाण हो भनेर बुझाउनु पर्ने टड्कारो आवश्यकता देखिएको छ । महिनावारी बार्ने प्रथाका कारण अहिले पनि नेपाली महिलाहरुका लागि चरम शोषण र पिडा दिने माध्यम बनिरहेको छ ।
रजश्वला फल दिनु पूर्वको सुनौलो फुलका रुपमा बुझाउन आवश्यक छ तर पापको रुपमा धार्मिक रुपमा बैधानिकता दिईएको छ । रजस्वला पाप हो र मोक्षका लागि भन्दै व्रत पूजा आजा गराउनु, महिनावारीका बेला छि छि दुरदुर गर्नुले महिलाको मानवअधिकारको समेत हनन गरेको छ ।
यसलाई सकारात्मक र मानव विकास तथा विस्तारका लागि नभई नहुने पक्ष हो भनेर बुझाउन धर्मले सकेको छैन । यदि महिला र पुरुषबीचको अन्तर यति थिएन भने सृष्टि सम्भव थिएन भनेर बुझाउने कस्ले । र यस्तो बेलामा आराम, सरसफाई र स्वस्थ खानेकुराको अति आवश्यकता छ भनेर बुझाउन अवको पुस्ताले सक्नुपर्छ ।

     महिनावारीका बेलामा छुवाछुत गर्नु, खानपान, सरसफाईमा प्रतिवन्ध लगाउनु मानवअधिकार हननका रुपमा विश्वभर लिइन्छ भनेर बुझाउन आवश्यक छ तर छाउगोठमा राख्ने प्रथा कायम राख्नु हुदैन । यो सँगै महिनावारी चक्रको सुरुवात भए पनि महिलाहरु सम्पूर्ण रुपले आमा बन्न योग्य हुन कम्तिमा २० वर्ष पुग्न जरुरी छ भनेर पनि बुझाउन आवश्यक छ । महिलाका महिनावारीका समस्यालाई मध्येनजर गर्दै विद्यालय, सरकारी कार्यालय, सार्वजनिक स्थलहरु, घर लगाएत सबै क्षेत्रलाई महिलामैत्री बनाउन आवश्यक छ । सार्वजनिक स्थलका शौचालय पानी, सेनेटरी प्याड लगाएतका व्यवस्थापन सहितका हुन आवश्यक छ ।

स्मृति र धर्मसिन्धुमा महिलाहरूले राजोधर्म भएका दिनहरूमा दैनिक क्रियाकलापहरू जस्तै पूजापाठ, घरब्यबहार, शारीरिक श्रम, आध्यात्मिक संलग्ता र शारिरीक सुखभोगबाट जोगिन सल्लाह दिइएको छ । महिनावारीको बेलामा महिलाहरु कमजोर हुन्छन । पुरुष प्रधान समाजले महिलालाई सहज तरिकाले लिएको छैन भन्ने हिसावले उपयुक्त थियो भनेर विश्लेषण गर्न सकिन्छ तर रजस्वला पूर्वजन्मको कुकर्मको पाप हो भनेर व्याख्या गर्नु उपयुक्त हुदैन ।

विज्ञापन

महिनावारी हुँदा ९० प्रतिशत महिला पीडामा हुने गरेको एक अध्ययनले देखाएको छ । हुन त रजश्वला हुनु महिलाहरूको प्राकृतिक नियम हो । यो बेलामा महिलाको स्वास्थ्यमा संक्रमणको जोखिम बढी हुन्छ । महिलाहरु बढी मानसिक तनावमा हुन्छन । अतः आधुनिक विज्ञानले रजस्वला भएका वखतमा महिलाहरूले पूर्ण रूपमा दैनिक श्रमबाट विश्राम लिन सल्लाह दिन्छ ।
पूजाआजा र दैनिक शारीरिक श्रम तथा स्पर्शबाट जोगिदा पुरुषलाई भन्दा महिलाहरूलाई नै बढी फाइदा छ भनेर बनाइएको संस्कार आजभोली आएर बेथितीले भरियो । कामकाजी महिलाहरू, पढ्ने विद्यार्थीहरू महिनावारी भएकै कारण परीक्षा दिनबाट समेत वा अन्य अत्यावश्यक कामबाट वन्चित गराइनु घरपरिवारले हेलाहोचो, छिछिदुरदुर गर्नु अनुचित हो ।

आजभोलिका प्रबुद्ध महिलाहरूले सांस्कृतिक परिपेक्षको रक्षा गर्दै रीतिरिवाज कायम राख्ने पहल गर्नुपर्छ । अर्काको नक्कल गर्दैमा कुनै समाज विकसित हुन्छ भन्ने सोच पनि गलत हो । ऋषि पञ्चमी, अर्थात नारीहरुले ऋषीहरुको पूजा अर्चना गर्ने विशेष दिन, यो दिन तीजपछि लगतै आउछ । तीज पछि एकदिन विट मारेर फेरि महिलाहरुले उत्साह उत्सवका रुपमा रमाईलो गर्ने दिनका रुपमा पञ्चमीलाई लिनुपर्छ । पञ्चमी पूजा अव महिनावारी उत्सवका रुपमा मनाईनुपर्छ ।

मानव श्रृष्टि नारीहरु विना संभव छैन र हामीले रजस्वालालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख रुपमा हेरे पनि श्रृष्टिको प्रथम र पुण्य गुण नै नारीहरुको रजस्वला हो । रजस्वाला नारीहरुको गर्भाधान गर्न सक्ने क्षमताको प्रमाण अनि नितान्त प्राकृतिक प्रक्रिया हो भनेर बुझाउने दिनका रुपमा पञ्चमीलाई लिनुपर्छ ।
हिन्दु नारीहरुले आफ्नो परिवार र शौभाग्यको रक्षार्थ मनाउने एउटा विशेष दिनलाई रजस्वला सम्बन्धी कुनै दोष या जान अन्जानमा वर्षभरि भएका कुनै रजस्वला भएका वेलामा गरिएका ‘गल्ती’ मोचन हैन सत्कर्मको प्रयायःका रुपमा ब्याख्या गर्न आवश्यक छ ।
म फेरी पनि भन्छु की शास्त्रहरुले पनि रजस्वला र यस प्राकृतीक गुणप्रति समस्त मानव जगतको ध्यान आकर्षित गर्न ऋषी पञ्चमीको परिकल्पना गरेको हो तर यस्लाई कुनै दोष वा पाप भन्दा पनि गुण र श्रृष्टिको कारकका रुपमा बुझ्दै र बुझाउँदै छुवाछुत भन्दा पनि सरसफाईलाई प्राथमिकता दिन र रजस्वला अवधिभर आराम र ख्याल गर्ने वातावरण श्रृजनाको प्रतिबद्धता कायम गरौं । नारीहरु भनेको माया र शक्तिका प्रतिमूर्तीहरु हुन उनीहरु कहिल्लै अछुत हुदैनन भनेर बुझाऔं ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै