२० असोज, काठमाडौं । यतिबेला गाउँ सहर सबैतिर दशैंको रमाइलो छ । दशैंमा दक्षिणा पाएका हुन् वा दक्षिणा दिन तयार पारिएका नयाँ नोटहरु बजारमा प्रशस्त छन् । दशैंको टीकापछि पसलमा केही सामान किन्यो भने फिर्ता रकम पनि नयाँ नोट नै आउँछ । नयाँ नोट बजारमा छ्याप्पछ्याप्ती रहेका बेला तिनै नोटमा कतै नक्कली त मिसिएको छैन ? यसबारे भने ध्यान दिनुपर्छ ।
ठूला चाडबाडका बेला नक्कली नोटहरु भेटिन सक्छन् । नक्कली नोटको कारोबार ठूला चाडपर्व र चुनावका बेला धेरै हुने गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निर्देशक निरौला बताउँछन् ।
चाडवाड तथा चुनावका बेलामा सुरक्षा अंग र राज्यको ध्यान शान्ति सुरक्षामा हुने हुँदा यस्तो मौकामा नक्कली नोटको कारोबार गर्न सहज हुने ठानेर अपराधिक गिरोहले नक्कली नोटको कारोबार गर्न सक्ने निरौलाको ठम्याइ छ ।
दशैंका बेला जतात्यतै भीड हुने भएकाले पनि नक्कली नोटको कारोबार बढी हुने गरेको उनको अनुभव छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका प्रवक्ता निरौला भन्छन्, ‘दशैंमा जताततै भीड हुन्छ, व्यापारीले पनि राम्रोसँग नोट हेर्न फुर्सद पाउँदैनन्, त्यसकारण पनि नक्कली नोटको कारोबार भइरहेको छ ।’
दशैंमा नयाँ नोटको प्रयोग गर्दा सजग हुनुपर्ने राष्ट्र बैंकका अधिकारीहरुको सुझाव छ । तपाईले अञ्जानमा बोकेका नोटका कारण पनि कानूनी झमेलामा फस्न सक्नुहुनेछ । किनभने, नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।
तर, नक्कली नोटहरु बजारमा छरिएमा त्यसले अर्थतन्त्रमा पार्न सक्ने नकारात्मक प्रभाव चाहिँ अपराधीले पाउने यस्तो सजायँ भन्दा धेरै बढी हुन्छ । यसका साथै आफूसँग भएको नोट नक्कली पर्यो कि भनेर सबै उपभोक्तहरुमा मनोवैज्ञानिक त्रास बढ्छ ।
कसरी चिन्ने त नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो नहुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निरौला बताउँछन् । ‘सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन्’ निरौलाले अनलाइनखबरसँग भने, ‘छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो ।’
निरौलाका अनुसार सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । तर, नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।
सबैभन्दा महत्वपूर्ण कुरा त नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी उल्लेखित सम्पूर्ण सुरक्षण विशेषताहरु भए/नभएको बारे यकिन गर्नु पर्ने हुन्छ ।
वि.सं. २०७३ (नोटको अग्रभागमा लेखिएको) अथवा २०१६ -नोटको पृष्ठभागमा लेखिएको) नोटमा रहेका नोटका विशेषताका बारेमा यहाँ चर्चा गरौं । अहिले धेरै बजारमा रहेका यहि सिरिजका नयाँ नोटहरु हुन् ।
नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।
उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट पि्रन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग (एक वटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।
त्यसैगरी नेपाल राष्ट्र बैंकको संक्षिप्त रुप एनआरबी (अंग्रेजीमा) को केही अंश नोटको अग्रभागमा र उक्त एनआरबी को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक पि्रन्ट गरिएको छ ।
नोटको उक्त एनआरबी पि्रन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ । उक्त एनआरबी अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।
सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।
नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ । उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट पि्रन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवैतर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ ।
साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट पि्रन्ट भएको देखिन्छ । धेरै जसो नक्कली नोटहरु ठूला दरका हुन्छन । नेपालमा नक्कली नोट अधिकां ५ सय र १ हजार दरका नोटहरु भेटिएको तथ्यांकले देखाउँछ ।अनलाइनखबरबाट
फेसबुक प्रतिक्रियाहरु