होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ओलीको तर्क : ७० वर्षे लगाउने हो भने मैले जेल बसेको समय घटाउनुपर्छ
देश/प्रदेश

ओलीको तर्क : ७० वर्षे लगाउने हो भने मैले जेल बसेको समय घटाउनुपर्छ

  • नागरिक रैबार
ओलीको तर्क : ७० वर्षे लगाउने हो भने मैले जेल बसेको समय घटाउनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्ने सूचना सार्वजनिक भएपछि ठूलो संख्यामा समर्थकहरू च्यासल पुगेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने योजना अध्यक्ष ओलीले शनिबारको पोलिटब्युरो बैठकमै सुनाएका थिए । पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण, पार्टी भूमिका लगायतबारे बसेरै टुंग्याउने ओलीले बताएका थिए ।

त्यसैअनुसार ओलीले आज पूर्वराष्ट्रपति भण्डारी र उनी निकट नेताहरूसँग संवादको योजना बनाएका हुन् । स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीका बारेमा छलफल गर्नकै निम्ति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ओलीले बालुवाटार बोलाएका थिए । पोखरेलसँगको संवाद सकेर पूर्व राष्ट्रपतिसँग कुरा गर्ने ओलीको योजना थियो ।

विज्ञापन

तर भण्डारी बालुवाटार जान मानिनन् । ‘अस्ति ३ जेठमा बालुवाटार गएर कुरा गरेकै हो, तर त्यो भेटको कुरालाई अध्यक्षले मान्यता दिनुभएन । र, सल्लाह विना राजनीतिमा आउने घोषणा गरेको कुरा भनिरहनुभएको छ’, भण्डारी निकट स्रोत भन्छ, ‘बालुवाटारको कुरा रेकर्डमा रहँदैन भने च्यासलमै बसौं भनिएको हो ।’

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणबारे छलफल हुने अभिव्यक्ति र पार्टी नेतृत्व हस्तान्तरण नगर्ने ओलीको अडानका कारणले पनि यो भेटवार्तालाई चासोका साथ हेरिएको छ । च्यासलमा शीर्ष नेताहरू र भण्डारी समर्थक युवा-विद्यार्थीको भीड लाग्नुले पनि आजको भेटवार्ताको महत्व अनुमान लगाउन सकिन्छ ।

नेताहरूकै दबाब

शनिबारको पोलिटब्युरो बैठकमा सहभागी नेताहरूका अनुसार पूर्व राष्ट्रपति भण्डारीसँग वार्तामा बस्न ओलीलाई अधिकांश नेताहरूले सुझाव दिएका थिए ।

‘पूर्व राष्ट्रपतिले राजनीतिमा सक्रिय हुने सार्वजनिक घोषणा गरिसकेपछि थप कुराकानी गर्ने दायित्व पार्टी अध्यक्षकै हुने तर्क अधिकांश पोलिटब्युरो सदस्यहरूले गरेका थिए’, एक नेताले भने । ती नेताका अनुसार लगभग बैठक हलकै सुझाव मिल्दो थियो ।

‘हिजो तपाईंहरू (ओली र भण्डारी) मिलेर आउनुभएको हो । अब पनि मिलेरै अगाडि बढ्नुपर्छ भन्ने मत बैठकमा लगभग साझा थियो’, उनी भन्छन् । पूर्वराष्ट्रपति भण्डारीसँग वार्ता मार्फत एउटा निकास दिनुपर्छ भन्ने ओलीलाई उनी निकटकै नेताहरूले पनि दिएका थिए ।

‘दुवैतिर झुकाव राख्नेहरूले भित्र कुरा गरौं, बाहिर विभाजित अभिव्यक्ति नदिऔं भन्ने नै थियो’, अर्का पोलिटब्युरो सदस्य भन्छन् । अन्तत: बैठक समापन गर्दै ओलीले पनि भण्डारीसँग सदस्यता नवीकरण, पार्टीमा भूमिका लगायतबारे गरेर एउटा टुंगोमा पुग्ने आश्वासन दिएका थिए ।

‘उमेर हद नमान्ने, नेतृत्व नछोड्ने’

पूर्व राष्ट्रपति भण्डारीसँग भेटेरै कुरा गर्न तयार भएका ओलीले पोलिटब्युरोका नेताहरूसँग भने नेतृत्व नछोड्ने प्रष्ट सन्देश दिएका छन् ।

बैठक स्रोतका अनुसार ओलीले पूर्वराष्ट्रपति भण्डारीप्रति चर्को आक्रोश नै पोखेका थिए । आफूसँग सल्लाह नगरी पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा आउने घोषणा गरेको, सरकार ढाल्ने षड्यन्त्रमा लागेको जस्तो आरोप ओलीले लगाएका थिए ।

‘विद्याजीलाई हामीले राष्ट्रपति बनाएको हो । पार्टीले सल्लाह गरेर पठाएको हो’, ओलीले भनेका थिए, ‘तर अहिले हामीसँग सल्लाह नगरी राजनीतिमा आउने घोषणा गर्नुभयो । सरकार फेर्ने षड्यन्त्रमा लाग्नुभयो । उहाँलाई पार्टी बाहिर छलफल गर्नु परेको छ ।’

तर पार्टी बाहिर जति छलफल गरे पनि नेतृत्व छोड्न नसकिने अडान ओलीले लिएका थिए । ‘पार्टी बाहिर छलफल गर्दै हिंड्नुभएको छ । तर नेतृत्व हस्तान्तरण गर्न सकिंदैन’, ओलीको भनाइ उद्धृत गर्दै अर्का पोलिटब्युरो सदस्यले भने ।

७० वर्षे उमेर हद कार्यान्वयन गर्न नसकिने पनि ओलीले बताएका थिए । ‘क-कसलाई ७० वर्षे उमेर हद मान्नुछ, उहाँहरूले माने हुन्छ, बिदा लिए हुन्छ’, ओलीले भनेका थिए, ‘म त कामको हिसाबले अहिले ५० वर्ष जस्तो खटिरहेको छु ।’

यदि ७० वर्षे उमेर हद लागू गर्ने हो भने आफूले १४ वर्ष जेल बसेको घटाउनुपर्ने ओलीले तर्क गरेका थिए । ‘७० वर्षे उमेर हद मान्ने हो भने मैले १४ वर्ष जेल बसेको समय घटाउनुपर्छ । जेल बस्दा मैले १४ वर्ष काम गर्न पाइनँ,’ ओलीले यसो भनिरहँदा बैठक हल हाँसोमय बनेको थियो ।‘मैले जेल बसेको समय घटाएर उमेर गणना गर्नुस् भन्दा सबै नेताहरू हाँस्नु भयो’, ती नेता भन्छन् ।

पार्टीले जुन काम गर्दैछ, त्यसबारे भ्रम नछर्न पनि ओलीले चेतावनी दिएका थिए । विशेषगरी तीनपटक पार्टी विधान छापिएको बारेमा अब धेरै तर्क नगर्न ओलीले निर्देशन दिएका थिए । ‘अध्यक्षले कर्ण थापाको नामै लिएर अब स्टप गर्नुस् भन्नुभयो’, बैठक स्रोत भन्छ ।

स्रोतका अनुसार आफ्नो भूमिका अझै आवश्यक रहेकाले नै पार्टी विधानबाट ७० वर्षे उमेर हद हटाएर संशोधन प्रस्ताव तयार पारिएको ओलीले बताएका थिए ।

‘आवश्यकता परेकाले मैले नै विष्णु पौडेललाई यस्तो संशोधन प्रस्ताव तयार पार्न भनेको हुँ,’ ओलीले भनेका थिए ।

पार्टीका हरेक निर्णय आवश्यकताका आधारमा हुने र पाँचौं महाधिवेशन यता सधैं आफूले दस्तावेज पेश गर्दै आएको पनि अध्यक्ष ओलीले बताएका थिए ।

‘चौथो बाहेक यताका सबै महाधिवेशनमा मैले दस्तावेज तयार पारेको छु’ ओलीले बैठकमा भएका केही नेताहरूलाई साक्षी मान्दै भनेका थिए, ‘७० वर्षे उमेर हद आवश्यकताका आधारमा राखियो र आवश्यकताकै आधारमा हटाउनु पर्‍यो ।’

यसो भनिरहँदा ओलीले गणतन्त्रको निर्णयमा आफूबारे गलत बुझाइ रहेको पनि बताएका थिए । ‘कांग्रेस तयार नभएसम्म हामीले मात्र गरेर (गणतन्त्रमा जाने निर्णय) हुँदैन भनेको हुँ’, ओलीको स्पष्टोक्ति थियो । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ९ घन्टा अगाडि

भर्खरै