नागरिक रैबार/बाजुरा २० माघ । नेकपा एमाले निकट युवा संघ जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा एमडीजीपी डाक्टरको व्यवस्थापन गर्न माग गर्दै जिल्ला अस्पताल बाजुरालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
आईतबार जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डा.शेखरचन्द्र यादवलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको सचिव विष्न कार्कीले बताएका छन् ।
ध्यानाकर्षण पत्रमा जिल्ला अस्पतालमा अनिवार्य एमडीजीपी डाक्टरको दरबन्दी कायम गरी तत्काल व्यवस्थापन गर्नुपर्ने, बालरोग विशेषज्ञको व्यवस्थापन गरी विशेषज्ञ डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई उचित सुविधाको सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ ।
अस्पतालमा आधुनिक उपकरण सहितको स्वास्थ्य सेवाको सुनिश्चितता गरी नेपाल सरकारद्धारा निःशुल्क प्रदान गरिने सबै प्रकारका औषधी आपूर्ति गर्नुपर्ने उल्लेख गरिएको छ ।
सामान्य खालका बिरामीलाई समेत जिल्ला बाहिर रेफर गरेर महंगो उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गरी समस्यालाई समाधान गर्न सम्बन्धित सबै निकायले पहल कदमी गर्नुपर्ने माग युवा संघले गरेको छ ।
जिल्लामा विशेषज्ञ डाक्टरको व्यवस्था नहुदाँ सामान्य सर्जरी, सुत्केरी लगायतका बिरामीहरुलाई महंगो एम्बुलेन्स भाँडा तिरेर लामो बाटो हिडेर उपचारमा धाउनुपर्ने बाध्यतामा बाजुराली रहेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डा.शेखरचन्द्र यादवले समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । तत्काल समस्या समाधानका लागि जिल्ला स्तरका राजनीतिक दल लगायत सरोकारवाला निकायसंग छलफल गर्ने तयारी रहेको प्रतिक्रिया दिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु