नागरिक रैबार/बाजुरा ९ मंसिर। बाजुराको हिमाली गाउँपालिका -३ युनामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । आइतबार दिउँसाे ३ बजेतिर युनामा विद्युतको लाइन विस्तारका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर सोहि ठाउँका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै अन्दाजी ४८ बर्षका सिदुपुरी रोकाया र अन्दाजी ३० बर्षका पर्मलाल सुनार गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
युनामा रहेको कादुरी जलविद्युत आयोजनाको लाइन विस्तारका लागि सल्लाको रुख काट्ने क्रममा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले बताएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले घाइतेहरुको उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरको पहल भएको बताएका छन् । बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोलि घटनास्थलमा गएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु