बाजुरा। बाजुराको बुढीगंगा नगरपालिमा आयोजित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानोदय माविले हात पारेको छ । मङ्सिर २८ गतेदेखि आयोजित प्रतियोगितामा १९ स्वर्ण, २ रजत र ३ कांस्य सहित भानेदय विजेता भएको छ ।
त्रिशक्ति मा.वि. ४ स्वर्ण ५ रजत र २ कांस्य सहित द्वितीय र शारदा मा.वि. ४ स्वर्ण ४ रजत र ४ कांस्यसहित तेस्रो भएको छ ।
बुढीगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानियाँको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व उद्योग मन्त्री कर्ण बहादुर थापा रहेका थिए । समापन समारोहमा थापाले बुढिगंगा नगरपालिकामा आयोजना गरेका प्रतियोगिता निकै उत्कृष्ट भएको बताए । उनले यस्ता प्रतियोगिताले खेल र खेलाडीहरूको प्रवर्द्धन हुने र राष्ट्रको पहिचान बढ्ने समेत बताएका थिए ।
नगरप्रमुख बानियाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सबै विद्यालयहरूले राम्रो प्रदर्शन गरेको बताए । पहाडी जिल्लामा यस्ता प्रतियोगिताले खेलकुदको गतिविधि समेत बढ्ने उनले बताए ।
मार्सल आर्ट विद्यामा ३ महिने बन्द प्रशिक्षण गर्ने आयोजना गर्ने र १५औं जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिता बुढिगंगाले सञ्चालन गर्ने समेत नगरप्रमुख बानियाले जानकारी दिए ।
समापन समारोहमा विजेता, उपविजेता तथा सहभागीहरूलाई प्रमाणपत्र मेडल सहित सम्मान गरिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु