भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा भेटिएका विषय चुहिएको बारेमा उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आईजीपी वसन्त कुँवरसँग छलफल गरेका छन् । भेटमा अधिकांश अतिरिक्त महानिरीक्षक (एआईजी) हरू पनि सहभागी थिए । गृह मन्त्रालयमा आयोजित छलफलमा अनुसन्धानको क्रममा भेटिएको तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र केशवप्रसाद दुलालको बीचमा भएको ‘च्याट’ बाहिरिएकोबारे छलफल भएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दाको मुख्य योजनाकार मध्येका हुन् केशव दुलाल ।
गृह–सचिव पाण्डेसँग दुलालले तत्कालीन उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरसँग भेट्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । म्यासेजमा दुलाल र पाण्डेको बिचमा कुँवरलाई आर्थिक ‘सपोर्ट’ गर्ने विषयमा भएको कुरा बाहिरिएको छ । अनुसन्धानको विषय बाहिरिएको बारेमा छानबिन गर्ने निर्णय भएको बैठकमा सहभागी एक जना एआईजीले रातोपाटीलाई बताए । ती एआईजी भन्छन्– ‘गृहमन्त्रीज्यूले त्यसबारे छानबिन गरिने बताउनुभएको छ ।’
अनुसन्धानको क्रममा आएका विषय प्रहरी भित्रको आन्तरिक अस्वस्थ प्रतिस्पर्धाकै कारण बाहिरिएको बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु