नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छिन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यसबारे घोषणा गरेकी हुन् ।
एलिजा गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । उनले ५ महिनामै राजनीतिबाट सन्न्यास लिएकी हुन् ।सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा सँगै एलिजाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामको प्रशंसासमेत गरेकी छिन् । हाल धरानमा रहेकी एलिजाले लेखेकी छिन्, ‘ उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । ’
यसका साथै काठमाडौँका मेयर बालेन साहसँग वृक्षारोपण गर्न पाउँदा निकै खुसी भएको बताएकी छिन् । उनले हर्क साम्पाङको श्रम शिविरका लागि व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेको जानकारी दिइन् ।साथै उनले सक्रिय राजनीतिक गर्नेहरूलाई एक पटक धरान पुगेर हर्कको काम हेर्न अनुरोध पनि गरेकी छिन् । उनले अब आफ्ना आगामी दिन समाजसेवामा नै सक्रिय हुने बताएकी छिन् ।राताेपाटी बाट
फेसबुक प्रतिक्रियाहरु