काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने कास्कीको रिठ्ठेपानी डाँडा कटानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र वन विभागबीच सहमति भएको छ । प्राधिरणका प्रवक्ता जगन्नाथ निरौलका अनुसार करिब ६ सय वटा रुख कटानका लागि सहमति भएको हो ।
प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाएको थियो । प्रतिवेदन अनुसार रिठ्ठेपानी डाँडा कटान गर्दा ६ सय वटा रुख र पोल आकारका रुख काट्नु पर्ने देखिएको थियो ।
‘अब रुख कटान हुने भएपछि माटो कटानका लागि टेन्डर गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अब रिठ्ठेपानीको डाँडा काट्न बाटो खुलेको छ ।’
निर्माणाधीन विमानस्थलको पूर्वी सिमानाबाट करिब १.३५ किलोमिटर दूरीमा यो डाँडा छ । प्रतिवेदन अनुसार यो डाँडालाई १२ देखि ४० मिटरसम्म कटान गर्नुपर्नेछ ।
यसरी कटान हुने डाँडामा रहेको २.१७६ हेक्टर वनमा रहेको रुखहरु काटिने छन् । प्राधिकरणले पुस २०७७ मा वन तथा वातावरण मन्त्रालयबाट यो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको सहमति प्राप्त गरेको थियो ।
विमानस्थल आयोजना भने अहिले धमाधम बनिरहेको छ । विमानस्थलको भौतिक प्रगति ९७ प्रतिशत पुगिसकेको प्रवक्ता निरौलाले जानकारी दिए । ‘उपकरण जडान र फिनिसिङको काम भइरहेको छ,’ उनले भने । पोखराको छिन्नेडाँडामा बनिरहेको विमानस्थलको धावनमार्ग २५ मिटर लम्बाइ र ४५ मिटर चौडाइको रहेको छ ।
तर, धावनमार्ग पूर्व–पश्चिम दिशामा रहेका कारण विमानस्थलको सामुन्नेमा रहेको रिठ्ठेपानी डाँडा कटान गर्नुपर्ने देखिएपछि प्रक्रिया अघि बढेको थियो । काम थालेको तीन महिना भित्र डाँडा कटानको काम पूरा हुने प्राधिकरणको दाबी छ ।
कस्ता रुख काटिन्छन् ?
आयोजना क्षेत्रमा अभिलेख भएका प्रमुख वनस्पतिमा साल, कटुस, चिलाउने, सिमल, पिपललगायत प्रजातिका रुख रहेका छन् । यी रुखको गणना डिभिजन वन कार्यालय कास्कीले गरेको थियो । सोही आधारमा ६ सय रुख काट्नु पर्ने देखिएको हो ।
आयोजनाको ईआईए प्रतिवेदनले निर्माणाधीन विमानस्थलको निर्माण तथा सञ्चालनबाट स्थानीय क्षेत्रका साथै समग्र गण्डकी प्रदेशमा उल्लेखनीय रुपमा सकारात्मक प्रभाव पर्ने र यसले स्थानीय व्यापार–व्यवसायमा वृद्धि हुने देखिएको छ ।
रोजगारीको अवसर वृद्धि, प्राविधिक सीप र क्षमतामा वृद्धि हुनुका साथै पर्यटन र अन्य व्यवसायमा वृद्धि हुने देखिएको छ । आयोजनाका लागि काटिने डाँडाका कारण भू–उपयोग तथा परिदृश्यमा आउने परिवर्तन, ढुंगा माटोको व्यवस्थापनको सवा, ध्वनि, वायु, जल तथा माटो प्रदूषणलाई समेत नकारात्मक प्रभावका रुपमा औल्याइएको छ ।
यसबाट वन्यजन्तुको बासस्थानको क्षय हुनुका साथै खेतीयोग्य जमिन र कृषि उत्पादनमा समेत ह्रास आउने देखिएको छ । आयोजनामा वन्यजन्तुसँगको टक्कर, सिंचाइ कुलोमा प्रभाव यस आयोजनाबाट हुने नकारात्मक प्रभाव हो ।
राष्ट्रिय गौरवको आयोजना भएकाले कटान गर्ने एक रुख बराबर १० वटा नयाँ रुख रोप्नु पर्ने छ । रुख रोप्न नसक्ने अवस्थामा वन क्षेत्र प्रयोग गरे वापत सो बराबरको वन क्षेत्रको सट्टाभर्नाका लागि डिभिजन वन कार्यालयसँग समन्वय भने आयोजनाले गर्नुपर्नेछ ।
यस भेगमा रहेका चराको वासस्थान अन्यत्र सार्न वन कार्यालयले भूमिका खेल्ने छ । आयोजनाका लागि चाहिने रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने र स्रोत साधनको व्यवस्थापन समेत आयोजनाले बेहोर्ने प्रतिवेदनमा उल्लेख छ ।
चण्डी मन्दिरको संरक्षण जरुरी
रिठ्ठेपानी डाँडा कटानको सवालमा स्थानीयसँग गरिएको अन्तरक्रियामा त्यहाँ रहेका चण्डी मन्दिरको संरक्षणको माग गरिएको छ । यसमा समेत आयोजनाले काम गर्नुपर्ने भएको छ ।
डाँडा कटानपछि यस स्थानमा विमानस्थलको कुनै पनि संरचना भने बन्ने छैनन् । यो डाँडाको कटान विमान उडान र अवतरणको सुरक्षाका लागि मात्र भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार स्थानीय बासिन्दाले आयोजना क्षेत्रको वरपरका मन्दिरको संरक्षण आमा समूहलाई सहयोग र विमानस्थल तथा रिठ्ठेपानी क्षेत्रमा हरियाली प्रवर्द्धन गर्न बजेट माग भएको छ ।
फेसबुक प्रतिक्रियाहरु