होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राजधानीमा हैजाको लहर उर्लंदो !
समाचार

राजधानीमा हैजाको लहर उर्लंदो !

  • नागरिक रैबार
राजधानीमा हैजाको लहर उर्लंदो !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ गते विज्ञप्ति प्रकाशित गर्दै काठमाडौंमा दुई बिरामीमा हैजा पुष्टि भएको जानकारी दियो । काठमाडौंस्थित बागबजार निवासी एकै परिवारका दुई सदस्यलाई एकैपटक अचानक कडा हैजा देखिएको थियो । उनीहरूले प्रयोग गरेका पानीको नमुनामा कोलिफर्म (इकोलाई संक्रमण) देखिएको पनि सार्वजनिक भइसकेको छ अर्थात् खानेपानीमा दिसा मिसिएको रहेछ भन्ने हो ।

हैजा पनि दिसाबाट बाहिरिने भएकाले मानिसले प्रयोग गरिरहेको पानीमा हैजाको जीवाणु हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ; यो कुरा माथि उल्लेखित बिरामीको नमुनामा हैजाको ‘ओ १ ओगावा सेरोटाइप’ किटाणु पुष्टि भएसँगै प्रमाणित पनि भइसकेको छ । हैजा संक्रमितले प्रयोग गरेको पानी अन्य सर्वसाधारणहरूले पनि निरन्तर प्रयोग गरिरहेका हुन सक्छन् ।

पुष्टि भएका यी दुईबाहेक हैजाका थप बिरामी राजधानीका विभिन्न ठाउँहरूमा देखिँदै जान थालेका छन् । यसले काठमाडौंमा हैजाको लहर उर्लंदै गइरहेको कुरालाई स्पष्ट संकेतसमेत गरेको छ ।

विज्ञापन

हुन त हैजाको उपस्थिति राजधानीमा यो पहिलो भने होइन । दुई दशक अगाडि मैले मेडिकल अधिकृतको रुपमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा सेवा सुरु गर्दा वर्षायाम लाग्नेबित्तिकै झाडापखालाका बिरामीले अस्पताल भरिभराउ हुने गर्दथ्यो; त्यसमा हैजाको संख्या उल्लेखनीय हुने गर्दथ्यो । बिरामीका लागि शय्या अपुग हुँदा भुइँमा राखेर समेत उपचार गर्नुपर्ने अवस्था थियो । अस्पतालका सबै कर्मचारीहरू अत्यन्त व्यस्त हुने गर्दथे ।

स्मरण रहोस्, यो अस्पताल कलेरा अस्पताल अर्थात् हैजा अस्पतालको नामले वि.सं. १९९० मा स्थापना भएको हो । हैजाका लागि नै भनेर छुट्टै अस्पताल स्थापना हुनुले पनि नेपाल हैजाबाट कतिसम्म प्रभावित हुने गरेको रहेछ/गर्दथ्यो भन्ने अनुमान गर्न सकिन्छ । हरेक वर्षजसो नेपालमा हैजा देखिँदै गर्दा फैलिसकेपछि भन्दा फैलनु अगाडि नै तयारी तथा योजनाको आवश्यकतालाई दर्साउँछ ।

हैजालाई घातक संक्रामक रोगको रुपमा लिइन्छ । ‘भिब्रियो कोलेरा’ नामका जीवाणुको कारणले हैजा रोग हुने गर्दछ । संक्रमण भएको केही घण्टादेखि ५ दिनसम्ममा लक्षणहरू देखापर्ने गर्दछ । अचानक र निरन्तर पीडारहित चौलानी पानी (चामलको माडबाट निकालेको पानी जस्तो) जस्तो पखाला लाग्नु, तारन्तार बान्ता हुनु, पेट अथवा खुट्टाका मांशपेशिकाहरु बौडिनु, आलस्य हुनु, बेचैनी हुनुजस्ता यसका प्रमुख लक्षण हुन् । तर‚ झन्डै ८० प्रतिशत संक्रमितमा झाडापखाला सामान्य अथवा लक्षणविहीन पनि हुन सक्दछ; यस्तो किसिमको झाडापखाला लागेका संक्रमितको दिसामार्फत १० दिनसम्म हैजाका जीवाणुहरू फैलिरहेका हुन्छन् ।

काठमाडौंमा हैजा पुष्टि भएको पहिलो बिरामीसँग झाडा सुरु हुनुको कारण बुझ्दा उनले चाउचाउ आफैं बनाएर खाएको र त्यसको लगभग ६-८ घण्टापछि अचानक रिंगटा लाग्ने, टाउको भारी हुने भएको र त्यसपछि अचानक तारन्तार पातलो दिसा लागेको र लगत्तै बान्ता सुरु भएको बताएका थिए । त्यसपछि होस् गुमाएका उनले अस्पतालमा पुगेपछि मात्रै आफू होसमा आएको बताएका थिए ।

हैजा कडा भए शरीरलाई कतिसम्म जोखिमपूर्ण हुँदो रहेछ भन्ने यो एउटा उदाहरण पनि हो । यसरी अचानक कडा हैजा हुँदा नजिकै आफन्त नभएको वा नजिकै स्वास्थ चौकी/केन्द्र नभएर उपचारमा ढिला हुन गए मृत्युसमेत हुन सक्छ । गत वर्ष कपिलवस्तुको कृष्णनगर नगरपालिकाका गाउँहरूमा हैजा फैलिँदा समयमा उपचार नपाउँदा केहीको मृत्युसमेत भएको थियो ।

नेपाली समाजमा झाडापखाला लागे पहिले आफैं औषधि किनेर खाने प्रचलन व्याप्त छ । काठमाडौंमा हैजा पुष्टि हुनुभन्दा केहि हप्ताअघि देखि नै झाडापखालाका बिरामीहरू देखिन थालिसकेका थिए । तर‚ अधिकांशले घरमै बसेर औषधि लिने गरेको जानकारीमा आएको छ । कडा हैजा लाग्दा पनि घरमै बसेर औषधि लिनुभन्दा त्यसको निदानका लागि अस्पताल आउनु उचित हुन्छ । यस्तो अवस्थामा ‘पर्ख र हेर’ को सिद्धान्त अपनाउँदा घातक सिद्ध हुन सक्छ ।

अचानक र अत्यधिक मात्रामा तारन्तार हुने दिसा र बान्ता नरोकिनु र अचेत अवस्थामा पुग्नु नै यसको घातक पक्ष हो । अझ घरमा परिवारका अरु सदस्य नभएमा अवस्था झन् घातक हुन सक्दछ किनभने यस्तो अवस्था भएको केही घन्टाभित्रमा उपचार नपाए बिरामीको मृत्यु नै हुन सक्दछ । यस्ता कडा हैजा भएका बिरामीको मृत्युदर पनि ५० प्रतिशतसम्म पुग्ने गरेको विगतका तथ्यांकहरूले देखाएका छन् । तसर्थ अचानक र निरन्तर पीडारहित चौलानी पानीजस्तो पखाला लागेमा, तारन्तार बान्ता भएमा, पेट तथा खुट्टाका मांशपेशीकाहरु बौडिने अवस्था सिर्जना भएमा तुरुन्त चिकित्सकको सम्पर्कमा रहने अथवा अस्पताल पुग्ने कोसिस गर्नु पर्दछ ।

समग्रमा, हैजा एउटा कडा झाडापखाला गराउने संक्रामक रोग हो । काठमाडौंमा देखिएको संक्रमितमा ‘ओ १ ओगावा सेरोटाइप’ को हैजा पत्ता लागेको छ । राजधानीका विभिन्न/फरक फरक ठाउँहरुमा हैजाका बिरामीहरू देखिँदै गर्दा सहरमा हैजाको जीवाणुले प्रकोप फैलाउँदै गैरहेको स्पष्ट हुन्छ । तसर्थ, आगामी दिनहरुमा संक्रमण थप नफैलोस् भन्नका लागि सम्बन्धित निकायले हैजाको स्रोत पत्ता लगाएर रोक्ने र बजारमा बेचबिखन भइरहेका खानेकुरा तथा पानीका गुणस्तरको अनुगमनमा कडाइ तथा तीव्रता दिनु पर्दछ । हामीले पनि खानेकुरा, पानी र हात धुने बानीमा विशेष ध्यान दिनु अत्यन्तै जरुरी छ किनभने राजधानीमा अहिले हैजाको लहर उर्लंदो अर्थात् ग्राफ उक्लँदो क्रममा छ ।

(संयोजक, क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल ।)

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ दिन अगाडि

भर्खरै