लावालस्कर जत्यारुका मालिका जान्तक।
पार्वती टुपुक्कै पुगी शिवजी खान्तक।।
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित बडिमालिका एक सुन्दर र महत्वपूर्ण धार्मिक, पौराणिक, पर्यावरणीय र पर्यटकीय स्थल हो। समुद्री सतहबाट ४२ हजार मिटर उचाइमा रहेको बडिमालिका सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेकी देवीका बहिनीहरुमध्ये सबैभन्दा कान्छी बहिनी मानिन्छिन्। पौराणिक किंवदन्ती अनुसार दक्ष प्रजापतिले यज्ञ गर्दा भगवान महादेव र सतीदेवीलाई निमन्त्रणा नगरेको र दक्ष प्रजापतिकी छोरी सतीदेवीले आफ्ना पिता दक्ष प्रजापतिलाई आफूहरुलाई किन यज्ञमा निम्तो नगरेको भनी यज्ञस्थलमै गएर सोध्दा दक्ष प्रजापतिले महादेव बाघको छाला, नागको माला पहिरिने, भाङधतुरो सेवन गर्ने र जटाधारी भेषमा रहने हुँदा यज्ञमा बस्दा अशोभनीय हुने हुँदा नबोलाएको भनी भनिरहँदा सतीदेवीले आफ्ना पतिको अपमान भएको सहन नसकी दक्ष प्रजापतिको यज्ञकुण्डमै हाम फाली प्राण त्याग गरिन् भन्ने पौराणिक विश्वास छ। सो कुरा महादेवले थाहा पाई शिवगणद्वारा यज्ञ तहस–नहस गरी दक्ष प्रजापतिलाई समेत मारे भने पत्नी वियोगमा छट्पटाइरहेका महादेवले मृत पत्नीको शरीर बोकेर विभिन्न स्थानमा घुम्न थाले। भगवान विष्णुले आफ्नो सुदर्शन चक्र प्रहार गरी मृत सतीदेवीको शरीरलाई कुहाइदिए। उक्त कुहिएको सतीदेवीको शरीर समेत बोकी वियोगी महादेव डुलिरहँदा सतीदेवीको शरीर विभिन्न स्थानमा पतन (खस्यो) हुँदै गयो।
यसरी जहाँ-जहाँ सतीदेवीका अङ्ग पतन भए त्यहाँ-त्यहाँ देवीको एउटा-एउटा शक्तिपीठ बन्दै गए। सोही सिलसिलामा मल्लगिरि पर्वतमा सतीदेवीको बायाँ कुम पतन हुँदा मालिका भन्न थालियो। पुराणको मानसखण्डमा समेत उल्लेखित यो कथन सुदूरपश्चिमका विभिन्न जिल्लामा अवस्थित मष्टाकी बहिनीहरुमध्ये बडिमालिका एक हुन् भन्ने स्थानीयहरुको भनाइ रहेको पाइन्छ, जसमा बझाङ्गकी सुर्मादेवी, डोटीकी शैलेश्वरी , बैतडीकी डिलासैनी, निगलासैनी, मेलौली भगवती, डडेलधुराकी उग्रतारा र त्रिपुरासुन्दरी तथा बाजुराकी बडिमालिका रहेका छन्।
यीमध्ये सबैभन्दा कान्छी बहिनी टाढा बडिमालिका नै रहेकी छन्। यसरी कान्छी बहिनीले आफूलाई मानव बस्तीदेखि टाढा र खान पनि केही नपाउने भनी पठाउँदा रुनिधुनी गर्दा ‘तिमीले नखाई हामी खाँदैनौं, तिमीलाई डोटीको दिपायल जिउलाको रोप्न तयार पारेको भुरुणी-धानको बीउको सानो झुप्पो र अछाम बैजनाथ जिउलाको चिउरा खुवाउला’ भनी फकाइ पठाएको भन्ने चाखलाग्दो भनाइ छ। तसर्थ डोटीको दिपायलमा गुरुपूर्णिमासम्म रोपाइँ हुने गर्छ भने अछामको बैजनाथमा चैतेधान पाकिसकेको हुन्छ।
सात देवीको एउटा मात्र भाइ बडिकेदार डोटीमा पर्दछ। बडिमालिकाको पूजामा सरकारी पूजासामग्री सहितको पेटारो डोटीको शैलेश्वरीबाट जिल्ला प्रशासनले तामझामसहित पठाउने गरिन्छ जुन पुरानै राणाकालीन डोटी प्रशासनिक गौंडादेखिकै परम्परा हो। यसरी पेटारो (पूजा सामग्रीको पोको) जुम्ला, कालिकोटतिरबाट समेत आउने गर्दछ। यसपालादेखि भने बाजुरा जिल्लाबाट पनि पेटारो ल्याउने परम्परा थालनी गरेको रहेछ।यो पेटारे सरकारी टोली पन्ध्र दिन अगाडि जान्छ जुन निश्चित ठाउँमा बस्दै पूजाआजा गर्दै जानुपर्दछ।सामान्यतया यो पेटारे सरकारी टोलीभन्दा अगाडि कसैले जान नहुने परम्परा पनि रहेछ। साउन शुक्ल तृतीयाका दिन बिनिमा (त्रिवेणी) पूजा गरी मध्यान्ह वा साँझपख मालिकाथानमा पुग्ने गरिन्छ।
साउन शुक्ल चतुर्दशीका दिन मूल पूजा हुने गर्दछ। जसमा बाजुराबाट एक जना र कालिकोटबाट एक गरी दुई जना पुजारीले पूजा गर्ने गर्दछन्। सर्वसाधारणहरुले त्यो एक-दुई दिन जतिबेला पनि मन्दिर दर्शन गर्न पाउने हुन्छ भने सरकारी पूजा भने डोटीको पेटारे टोलीबाट सुरु गर्नुपर्ने हुन्छ, डोटीबाट सरकारी पूजा नभई अरुले पूजा गर्न नपाउने प्रचलन छ। सरकारी पूजा टोलीमा डोटी, बाजुरा, अछाम, कालिकोट, जुम्ला लगायत जिल्लाका प्रशासनिक तथा सुरक्षा प्रमुख तथा प्रतिनिधिहरुले पूजाआजा गर्ने परम्परा छ।
उसो त खप्तड गँगेदशहरा मेलाका दिन डोटी शैलेश्वरी-खप्तड त्रिवेणी-खप्तड सह्रर्षलिङ्ग हुँदै बडिमालिकामा क्रमशः पूजा हुने गर्दछ। अत्यन्तै कठिन र जटिल टाकुराको भौगोलिक स्थानमा अवस्थित यो देवी शक्तिपीठको दिव्यदर्शनले मनोकांक्षा पूरा हुने धार्मिक आस्था छ, जसका कारण हजारौं भक्तजन साउन शुक्ल चतुर्दशीको अवसर पारी कठिन यात्रा र साधना गर्दै त्यहाँ पुग्ने गर्दछन्।
धार्मिक क्रियाकलापका अतिरिक्त प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो बडिमालिका भौतिक दृष्टिले देखुन्जेलसम्मका पाटनहरु देख्न सकिन्छ। यात्राको बाटो भने अवश्य कठिन छ, यद्यपि स्वर्गीय आनन्दानुभूति भने प्रशस्त हुन्छ। अग्ला धुरा (चुच्चे धारिला डाँडा) माथिबाट उकालै-उकालो हिंड्नुपर्छ, हरियो बुकी (घाँस) पाटनका चुचुराबाट बुकी समाउँदै, लौरी र बुकीको सहाराले उकालो चढ्ने र ओरालो झर्ने गर्नुपर्दछ। दायाँ-बायाँ भिराला भयङ्कर खोंचहरु छन् लौरोको सहाराले पाउडण्डीको बाटोमा अगाडि बढ्दै गरेका तीर्थालु पर्यटक जत्यारुहरुका लावालस्करको दृश्य टाढाबाट हेर्दा ब्लेडको धारमा कमिलाको ताँती हिंडे जस्तै देखिन्छ।
मलगायत ६ जनाको समूह बाजुराको फालासेन बजारमा दिउँसोको खाना खाएर बडिमालिकाको मन्दिर प्रवेशद्वारबाट झोलुङ्गे पुलहुँदै पैंमको गाउँको उकालो लाग्यौं। पैंमको गाउँमा बाजुराबाट बडिमालिकामा पूजा गर्ने पुजारीको घर छ, जसलाई मालिकाथान पाण भन्ने गरिन्छ।हामी त्यहाँ पुग्दा अखण्ड दियो बलिरहेको थियो। पुजारीको घरमा भएका सदस्यहरुसँग केहीबेर भलाकुसारी गर्यौं। उहाँहरुले कलकल बग्ने धाराको पानीमा कागती र चिनी राखी पिउन दिनुभयो, हामीले धीत मर्ने गरी पियौं।त्यो घरमा हुनुभएकी सबैभन्दा वृद्ध आमाले ‘आज तमी हराइ झाँदा भया बा अब कसो गरुँ’ भनी गहिरो चिन्ता मान्नुभयो।भव्य आतिथ्यताको आत्मीय संस्कारसहित पुरानो तर अति सुन्दर पैंमको पुजारीको घरबाट मनागाउँतर्फ लाग्यौं। मनागाउँको बाटो बडिमालिका जाने सबैभन्दा छोटो बाटो रहेछ, जहाँ पाउडण्डीको बाटो पदमार्गमा रुपान्तरण हुँदैछ। हामी यी सुन्दर बस्तीबाट बाटो सोध्दै अगाडि बढ्यौं। मनागाउँको लेक/गोठ/खर्कतिर पुग्दा घाम पनि हामीसँगै डाँडामाथि उक्लिंदै थियो। माथि धर्मशाला, पदमार्गको काम गर्ने मजदुरको पाल र भैंसी खर्क समेत छन् भन्ने सूचनाका आधारमा हामीहरु अगाडि बढ्यौं।
जङ्गलको बीचमा बटुवाका लागि बनाइएको धर्मशालामा पुग्यौं। गोधूलिको समय भइरहेको थियो, अलिकति भए पनि बाटो काटिन्छ भन्ने लागेर हामीहरु अगाडि बढ्यौं तर सोझै उकालो लाग्नुपर्नेमा हामी तेस्रो बाटो लाग्यौं। अन्ततोगत्वा हामी करिब १२ घण्टा जति अनकन्टार जङ्गलमा हरायौं।कला हाल्दै हिंड्दै गर्दा झिसमिसे हुँदै गयो, जङ्गलभित्रबाट निनन्यारी मधुरतामा बासीरहे। हामी भने आफूहरु हराएको निष्कर्षमा पुग्यौं र अब बासको लागि ओभानो ठाउँको खोजी गर्न लाग्यौं। भयङ्कर अफ्ट्यारो चट्टानीय भीरमा निगालोमा झुण्डिंदै सुसाइरहेको खोला नजिकैको अलि खुल्ला ओभानो डाँडोमा पुग्यौं र त्यहीं बस्ने निधो गर्यौं।
एकपटक फेरि कोही गोठाला छौ कि होऽऽऽ भन्दै ठूलो स्वरले करायौं-कला हाल्यौं तर कतै केही आवाज आएन। खोला भने सुसाइरह्यो। हामीले खुकुरी बोकेका थियौं र त्यसैको सहाराले हामीसँग भएको पन्चु/पाल टाग्यौं, दुखसँग आगो बाल्यौं, हामी सँगसँगै पछि रहेको नरेन्द्रदाइको समूह पनि त्यहीं आइपुग्यो। एक-एक गरी हात समाउँदै भीरको बाटो अनकन्टार जंगलमा टर्चलाइटको सहाराले बास बस्ने स्थानमा उकाल्यौं। सुसाइरहने खोलाबाट मैले र समीर भाइले पानी ल्यायौं। हामीसँग भएको खानेकुराहरु बाँडीचुँडी खायौं र बोकेका म्याट ओछ्याई स्लिपिङ ब्याग ओढेर सुत्यौं।
हामीहरुलाई मौसमले पनि साथ दियो। त्यो रात त्यति पानी परेन, यदि रातभरि पानी परेको भए हामीहरुको सुताइ त के उठिबास हुन्थ्यो। हामीहरुले रात काटेको ठाउँ कसैको चिहान रहेछ कि भन्ने हाम्रो ठम्याइ रह्यो, किनकि त्यसको बनोट र राति प्रकाश दाइलाई त्यस्तै अनौठो सपना भएको थियो। काठका ठेकी कार्ने फुरु वा भेडीगोठ राखेको मध्ये कोही सोही स्थानमा मरेर गाडेको हुनुपर्छ भन्ने हाम्रो साझा बुझाइ रहँदै बाटो खोज्न लाग्यौं। झोलाझाम्टा तयार गरी दुई घण्टा जति जताततै बाटो खोज्यौं तर केही उपाय लागेन। यतिसम्म भयो कि हिजो जुन बाटो हिंड्यौ त्यहीबाटो फिर्ता जाउँ भन्दा पनि अलमल भइरह्यो पत्ता लगाउन सकेनौं। पैंमको गाउँमा पुजार्नी बज्यैले आज तमी हराइ झाँदा भया कसो गरुँ भनेको खुब स्मरण भयो।
जुकाले निष्फिक्री आक्रमण गरिरहे। बल्लतल्ल अर्को यात्रा टोलीका सदस्यलाई फोन गरी स्थानीयसँग कुरा गर्दा फिर्ता आई ठाडो उकालो लाग्न भने। सिट्टी फुक्दै कला हाल्दै हामी हिजो हराएको बाटोसम्म आइपुग्यौं। न्यायाधीश, सरकारी वकिल र प्रहरीको टोली हरायो भनी बटुवाले लगभग सबैले थाहा पाएका रहेछन्। मूलबाटोबाट उकालो लाग्यौं र एकै छिनमा पदमार्ग बनाउने मजदुरहरुको पाल आयो, हामीले खाना त्यहीं खायौं। त्यही पदमार्गको काम गर्ने नुवाकोटका माइला तामाङ्गसँग खुब रोचक गफगाफ हुँदा उनले “आबु पुलिस नै पो हरायो” भन्दै गज्जब हँसाए।
हामीले राति कला हालेको सुनेको तर मालिकाका बेला भूत आउने हुँदा उल्टै चुपचाप सुतेको एक स्थानीय मजदुरले बताए। उनका अनुसार उनको बुवालाई केही वर्ष पहिला मालिकाको बेला यसरी नै कला हालेको सुनी कोही मालिका जाने जत्यारु होलान् भनी राति उद्धार गर्न जाँदा भूतले तीन डाँडा पारि लगेर बेहोश बनाई फालेको भोलिपल्ट मात्र फेला पारेको रोचक र अलिकति मनमा चिसो पस्ने कहानी वा यथार्थ सुनाए। मालिकाका बेला यो ठाउँमा भूत पनि सक्रिय हुने स्थानीयको भनाइ पाइयो।
हामीहरु माइला दाइको क्याम्पबाट अगाडि बढ्यौं, सँगै माइला दाइ पनि हामीसँगै हाम्रो आग्रहमा मालिका जाने भए, बाटोमा हँसाउँदै र हराएकोमा पीर मान्दै उकालो बाटो काट्न सहज बनाउँदै गए। अलि अगाडि पुगेपछि खर्क भेटिए, हामीहरुले एक ठेकी दही किनेर धीत मर्ने गरी खायौं खुब मज्जा आयो। खासमा हामीहरु यही गोरस खाई बास बस्नुपर्छ भनी हिंडेका थियौं र बाटो बिराएका थियौं। अलि अगाडि बढ्दै गर्दा हरिया पाटन र चुचुराहरु देखिन थाले, भिराला पाटनमा अलि-अलि घोडाहरु बुकी घाँस चर्दै गरेका रमाइला दृश्यले हामीहरुलाई उकालो चढ्न हौस्याइरह्यो।
पाटनमा पुग्दा-पुग्दै सेता बादलका मनमोहक ढिस्का र बर्खे सिमसिमे हुँदै पानी दर्किन थाल्यो। हामीले बर्सादी, छाता, रेनकोट-पन्चु ओढ्दै अग्ला नाकै ठोक्किने ठाडो बाटो, दायाँ-बायाँ हेर्दा रिंगटा लाग्ने गहिरा खोंच, चिप्लो बाटो हुँदै चुचुरै-चुचोरोको पाउडण्डीको बाटो अगाडि बढ्यौं। झरी परिरहेको थियो, हामी भने अब आयो मालिका तब आयो मालिका भन्दै कैयौं चुचुरा पार गर्दै फुलेका फूल र हामीसँगै लुकामारी गर्ने काठ्या कुहिरोसँग स्पर्श गर्दै पदचापहरु अगाडि बढाइरह्यौं।
हामी सँगसँगै माथि चढ्दै गरेको अर्को समूहकी जुम्लाकी बसन्ती देवकोटा बिरामी परिन। लेक लागेको थियो सामान्य उपचार गर्यौं, एकैछिनमा अलि ठिक भए पनि फेरि उस्तै हुन लाग्यो। फर्किने अवस्था छैन, माथि उक्लिन सकिंदैनथ्यो, बडो धर्मसंकट पर्न थाल्यो। एकछिन पछि त उनी काम्न र के-के बोलेर बर्बराउन पो थालिन्। उनका बुवा उनीसँगै रुन थाले। यसो बुझ्दा उनका मृत आफन्त (पितृहरु) बोलेको उहाँहरुको बुझाइ थियो। पछि भाकल गर्दा निको भयो।
हामीहरु बिहान ७ बजे हिंडेर साँझ ७ बजे मालिकाथान पुग्यौं। हामी थानमा पुग्दा पानी दर्किरहेको थियो, जत्यारु र पसलेहरुका रङ्गविरङ्गका पालहरु थिए, बाटोमा खुट्टै नबस्ने हिलो थियो। हामीले एउटा पाल खोज्यौं र त्यही पालमा रात कटायौं। रातैभरि पालै उडाउने गरी बेस्सरी हावाहुरी र पानी पर्यो। पाल उडाउला कि भन्ने डरले रातभरि जागा बसिरह्यौं। हिजो राति अनिष्ट भएर बेजोड हावाहुरी र पानी परेको हो भन्ने बिहान गाइँगुइँ पनि सुनियो। हाम्रा लुगा, झोला, ओछ्याउने म्याट र स्लिपिङ ब्याग लगायत भिजेका थिए।
हामीहरुले झोलाझाम्टा तयार पार्यौं, पानी अलि कम हुँदा हामी मन्दिरतिर लाग्यौं।डोटीको सरकारी पेटारो सहितको टोलीले पूजा गरेपछि क्रमशः अन्यत्रबाट आएका सरकारी पेटाराहरुको पूजा हुँदैगयो। सर्वसाधारणले भने अघिल्लै दिनदेखि लाइनमा बसी दर्शन गरिरहेका थिए, हामीले पनि त्यसमै मिसिएर मन्दिर दर्शन, पूजाआजा, बडिमालिकाको प्रसाद र टीका ग्रहण गर्दै फर्किने निधो गर्यौं। चिनेजानेका र आफन्तहरुसँग भेटघाट गरी फर्किंदै गरेका तीर्थालु/जत्यारुका रोचक दृश्य हेर्यौं। हामी फर्किंदै गर्दा रङ्गीविरङ्गी पालहरुबाट धुवाँ उडिरहेको र पालहरु पनि उठ्दै थिए। मालिकामा नेपाली सेनाको पनि पूजाआजा हुँदोरहेछ, त्यो दिन सेनाको पूजा टोली हेलिकप्टरमा दुई/तीन पटक गयो तर बस्न सकेन। मालिकाथान चुच्चोमा छ। सानो ठाउँ थियो त्यो पनि पाल र तीर्थालुहरुले ढाकेको थियो। मालिकाथानमा पिउने पानीको पनि समस्या देखियो, तल खोंचबाट बोकेर ल्याउनुपर्ने रहेछ। एकाध होटलमा चना, चिया र सुख्खा रोटी खाँदा मात्र पिउने पानी दिने गर्दथे।
हामी फर्कियौं, यसरी नै कालिकोट, मार्तडी र जुम्ला फर्किनेहरु पनि विभिन्न बाटाहरुहुँदै फर्किंदै गर्दाका लोभलाग्दा दृश्य हरिया चुचुरामाथि नजिकैको बादलु स्नेहले थप रोमाञ्चित देखिन्थ्यो।
उक्लिन जति गाह्रो थियो, ओर्लिन झन् कठिन। आँदो चिप्लो (हरियो लेउ लागेर बाटोमा बनेको चिप्लो) बाटो लौरी र बुकीको सहाराले मालिका-विष्णुपानी हुँदै नाटेश्वरी पुग्दा करिब ११ घण्टाको ओरालो यात्रा गर्यौं। जुन बाटो गयो त्यही बाटो फर्किनुहुन्न भन्ने मान्यता पनि रहेछ। कतै हिलो त कतै खुट्टै नबस्ने चिप्लो बाटो फर्किंदै गर्दा मालिकाको महिमा धन्य लाग्दथ्यो।
दाण्या मष्टो, दुध्या मष्टो भोग खान्या कालिका।
बाजुरा बैकुण्ठ रैछ धन्य हो मालिका।।
फर्किंदै गर्दा जत्यारु/तीर्थालुका ताँतीका लस्करहरु लौरोको सहाराले नाटेश्वरी झर्दै थिए। बाटोका भिराला पाटनमा स्थानीयहरुले घरेलु औषधोपचारका लागि जडीबुटी टिप्दै थिए, कोही फोटो खिच्दै थिए, भेडा–च्याङ्ग्राहरु बुकीपाटनमा कलिलो घाम ताप्दै चरिरहेका थिए। हामी भने त्यही चुचुरो हो है मालिका भनी फर्की हेर्दै ओरालो लागिरहेका थियौं।
मेरो लौरो छोटो भयो, सामान्यतया उकालोमा छोटो र ओरालोमा लामो लौरो सहज हुन्छ। मैले बाजुराकी छोर्याट्टीलाई ‘तपाइँ मभन्दा अलि होचो हुनुहुँदोरहेछ तपाईंको लौरो लामो छ मेरो लौरो छोटो छ साटौं न’ भन्दा उहाँले हुन्छ भनी लौरो साट्यौं। बाजुराका मान्छेको आतिथ्यता, मायाप्रेम, सहयोगीपन, कला-संस्कृति र बोलाइ पनि धन्य हो। बाजुराकी लौणी (लौरो) साट्ने छोर्याट्टी र उहाँका अन्य परिवारका सदस्यसँगै बसेर बाटोमा चिया पनि खाइयो। फलत: मलाई अर्जुन श्रीमान्, प्रकाश दाइ, भोला सर र दुई जना भाइहरुले बाटोभरि जिस्क्याइरहे, बाटो काट्ने मसला बनिरह्यो। बाजुरा-बझाङको भाइचारा, मायाप्रेम, कला-संस्कृति, बोलीचाली, एकअर्कालाई गर्ने आदरसम्मान पनि गज्जबको अनुकरणीय छ। बाजुराका प्राय: सबै उमेरसमूहका मान्छेहरु हजुर/उथा गहिरा मिठासका शब्द प्रयोग गरी बोल्ने गर्छन्।
बाजुराको हजुर पानी थलारा ता पानी।
बर्कोट्याको ठाडो पानी छान्नाको है पानी।।
करिब ११ घण्टा हिंडेपछि साँझ नाटेश्वरी पुग्यौं। नाटेश्वरी अलि सुगम रहेछ, कच्ची सडक पुगेको, सिमेन्टको सहाराले घरहरु बन्दै गरेका रहेछन्। नाटेश्वरीमा पहिला-पहिला खुब डेउडा खेलमाल हुने र रमिता हुन्छ भन्ने सुनेको थिएँ तर हालका केही वर्षयता भने संस्कृतिभन्दा विकृति हुने गरेको हुँदा खेलमाल नहुने स्थानीयहरुको भनाइबाट थाहा पायौं। हामीहरुले त्यहीको अस्थायी पाल टाँगेर बनाएको होटलमा रोटी र दही खायौँ अनि त्यही बन्दै गरेको घरभित्र रात कटायौं। तर नाटेश्वरी पुगेर डेउडाको नाममा पैतलीसम्म चाल्न नपाउँदा मलाई भने खल्लो लागिरह्यो।
जनैपूर्णिमाको भव्य मेला लाग्ने नाटेश्वरीमा हिन्दु परम्परा अनुसार जनै फेरी, रक्षा डोरो बाँधी फेरि ओरालो लाग्यौं। जत्यारु कोही तलबाट माथि उक्लिंदै थिए भने कोही माथिबाट तल झर्दै। मैले खेलमाल (डेउडा खेल) हुँदाइन क्या भन्दा ‘उथा आउदाइन क्या छन्नालउ (बझाङ्गको छान्ना बस्ने मान्छेहरु) खेलुली’ भन्दै परम्परागत र आधुनिक पहिरनमा सजिएकी कसै-कसै महिला तथा छोर्याट्टीले कुराकानी गर्दै हामी ओरालो झरिरह्यौं। ओरालो झर्दा हामीहरुले डेउडा घन्काइ रह्यौं, बाटोमा राखेका स्याउलीमा खानेकुरा लगायत चढाउँदै अगाडि बढिरह्यौं। ‘मालिकाको प्रसाद पाउन हजुर’ भन्दै बाटोमा केटाकेटीहरु बसिरहेका रोचक दृश्य देखिरहँदा जात/मेला/पर्वबाट फर्किंदै गर्दा मेलामा खेलेका डेउडा खेल रेकर्ड गरी सबै जत्यारुलाई सुन्ने गरी टेपरेकर्डर बजाउँदै बाटो काट्ने चलन दु:खद अन्त्य भएको पाइयो। चार/पाँच घण्टा ओरालो झरेपछि बडिमालिकाबाटै बुढीगंगामा मिसिन आएको त्रिवेणी खोलामा प्रकाशदाइको जोडबलमा पौडी खेल्यौं। चारदिनसम्मको हिंडाइले थाकेको ज्यान र दु:खेका खुट्टाले घरी चिसो पानी, घरी तातो बालुवा र ठूला ढुङ्गामा आनन्द मानिरह्यो। यसपालिको हाम्रो बडिमालिका यात्रा यसरी नै सुखद् सम्पन्न भयो।
बडिमालिका भौगोलिक जटिलताले सबैको वशको कुरो छैन। यद्यपि धार्मिक आस्थावान् र पर्यटकीय रुचिको लागि साँच्चिकै भू-स्वर्गको उपमा दिंदा अन्यथा हुँदैन। ऐतिहासिक, धार्मिक र प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका पर्यटन र विकासका नाउँमा जताततै खनिखोस्री गर्दाको प्रतिउत्पादनको प्रतिफलले यो सुन्दरता ह्रास हुने हो कि भन्ने चिन्ता भने हुनु जरुरी छ।
बडिमालिका पुग्ने र फर्किने विभिन्न बाटा छन्। बाजुराको फालासेन बजार-पैंम-मनागाउँ हुँदै बडिमालिका पुग्ने एउटा बाटो छ जसलाई कोर्धको बाटो भनिन्छ। बाजुराकै बाम्का बजार-नाटेश्वरी-विष्णुपानी हुँदै बडिमालिका पुग्ने अर्को बाटो छ। त्यसैगरी बाजुरा मार्तडी-सोता-घोडापाटन- वेनी (त्रिवेणी) हुँदै बडिमालिका पुग्ने अर्को बाटो छ। अछामतिरबाट रामारोशन-चाकैमाइका थान-गतैमाइका थान-वेनी (त्रिवेणी) हुँदै बडिमालिका पुग्ने बाटो छ। यसैगरी कालिकोट र जुम्लातिरबाट पनि आउने बाटो छ।
मालिका जाँदा खानेकुरा, टेन्ट, खुकुरी, टर्चलाइट, सलाइ लगायत लेकलाग्ने औषधिमुलो समेत लैजानुपर्छ। मानव बस्ती र सामान्य काठदाउरा समेत नपाइने बुकी घाँसे पाटन करिब दुई दिनको बाटो हिंड्नुपर्छ। कहिल्यै नगएकाहरुलाई स्थानीय पथप्रदर्शक (गाइड) भए झन् सहज हुन्छ। हाम्रो यात्रा समूहका सदस्य अमिर विष्ट भाइले “साँच्चै यो त स्वर्ग रहेछ र त एकपटक आउँछन् र दोहोर्याएर आउने आँट मुस्किलले गर्छन्। आखिर स्वर्ग पनि त एक पटक पुगिन्छ पटक-पटक कहाँ पुगिन्छ” भनेको कुराले खुब चर्चा पायो।
हुन पनि मालिकाको दुर्लभ दिव्य दर्शनपछि मनोकांक्षा पूरा हुने आम जनविश्वास छ। यसरी हामीले यात्रामा भोगेका सुख–दुःख र रमाइला क्षणहरूसहित धार्मिक महत्वका अतिरिक्त प्राकृतिक, ऐतिहासिक तथा आर्थिक-सामाजिक दृष्टिकोणबाट समेत उपल्लो स्तरको आनन्दानूभूति प्राप्त गर्यौं जसको सपाट वर्णन गर्न यी शब्दहरू मात्र पर्याप्त छैनन्। अनलाइनखबरबाट साभार
पाउडण्डी उकालो बाटो मालिकाका धुरा।
यही मनले सोच्याका जसो कहिले होला पुरा।।
(खप्तडछान्ना गाउँपालिका बझाङ निवासी लेखक उच्च अदालत दिपायलका इजलास अधिकृत हुन्।)
फेसबुक प्रतिक्रियाहरु