काठमाडौँ — रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी नरसंहार भएको मंगलबार दुई वर्ष पूरा भएको छ । तर पीडितले अझैसम्म न्याय पाउन सकेका छैनन् । नागरिक समाज र अधिकारकर्मीले पीडितलाई न्याय दिन माग गर्दै यो दिनलाई जात व्यवस्थाविरुद्व प्रतिरोध दिवसको रुपमा मनाउँदैछन् ।
बृहत् नागरिक आन्दोलनसहित विभिन्न संघसंस्थाले मंगलबार काठमाडौंको माइतीघरदेखि घटनास्थल भेरी किनारसम्म दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । दलित समुदायमाथि भएको गम्भीर नरसंहारको सत्यतथ्य बाहिर ल्याउन, अपराधीहरुलाई कारबाही गराउन र पीडितको न्याय सुनिश्चित गर्न माग गर्दै दबाबमुलक कार्यक्रम हुँदैछन् ।
बृहत् नागरिक आन्दोलनले दिउँसो १२ बजे माइतीघर मण्डलामा जात व्यवस्थाविरुद्वको प्रतिरोधमा कविता वाचन, नाटक प्रदर्शन र खबरदारी सभा गर्ने जनाएको छ । त्यस्तै, कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले संयुक्तरुपमा भेरी प्रतिरोध मार्च गर्दैछन् । त्यसकालागि काठमाडौंसहित देशका विभिन्न जिल्लाबाट न्यायका लागि दबाब दिँदै अधिकारकर्मीहरु भेरी किनार पुगेका छन् ।
मंगलबार साँझ पाटन दरबार क्षेत्रमा दिप प्रज्वलन गर्ने कार्यक्रम छ । घटनामा दोषीलाई कारबाही गर्नुको सट्टा तोडमोड गरी सरकार नै भवितव्य घटनाको रुपमा परिभाषित गर्ने दुस्साहस गरिरहेको पीडितको गुनासो छ । घटनामा आरोपित ३४ जनामध्ये ११ जना थुनामुक्त भइसकेका छन् भने २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
२०७७ जेठ १० गते साँझ जाजरकोट जिल्ला भेरी नगरपालिका—४ का नवराज विश्वकर्मासहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका—८, सोतीका गैर दलित समुदायको भीडले क्रुर हत्या गरेका थिए ।
यस्तै, जात व्यवस्था उन्मूलन मोर्चाले विद्रोह दिवसको रुपमा देशैभरि कार्यक्रम गर्दैछ । सरकारले पीडितलाई न्याय दिन नसकेको प्रति घोर विरोध गर्दै मोर्चाले जात व्यवस्थाविरुद्वको विद्रोह दिवसको रुपमा देशव्यापी रुपमा विरोध प्रदर्शन गर्न लागेको संगठनका केन्द्रिय सचिव महावीर विश्वकर्माले बताए । उनका अनुसार काठमाडौंको माइतीघरमा विरोध सभाको आयोजना गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु