पोखरा — चलिरहेको रेस्टुरेन्ट कोरोना महामारीमा बेच्नुपरेपछि पोखराकी ४४ वर्षीया कल्पना कार्की अचेल चटपट बेच्छिन् । पोखरा सिमलचौरको एउटा कोठामा उनी श्रीमान र छोरीसहित भाडामा बस्छिन् । मजदुरी गर्ने श्रीमानले बर्खामा हम्मेसी काम पाउँदैनन् । चटपट बेचेर गुजारा गर्न कल्पनाको परिवारलाई हम्मेहम्मे परेको छ ।
कोरोना महामारीले व्यवसाय डामाडोल भएपछि उनले लेकसाइडमा रहेको रेस्टुरेन्ट बेचिन् । अलिअलि बचत लकडाउनमा गुजारा चलाउँदै सकियो । एक वर्षअघि उनले चटपट बनाउन सिकिन् । अहिले आफू बस्ने कोठा अघि सडक छेउको चौतारीमा चटपट बेच्छिन् । खाने तेलको मूल्य बढेकोले अहिले चटपटमा उतिसारो नाफा हुँदैन । एक लिटर तेलले अहिले दुई दिन मात्रै पुग्छ ।
चटपटमा प्रयोग हुने कागती, गोलभेडा, प्याज, धनियाँको मूल्य बढे पनि उनले चटपटको भाउ बढाएकी छैनन् । ‘सबैको मूल्य बढेको छ, चटपटको मूल्य बढाउने हो भने बिक्नै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘भाउ नबढाउँदा व्यापार गरेको पैसाले यसैको सामान किन्दा ठिक्क हुन्छ ।’
आम्दानी नहुँदा उनको परिवार एउटा कोठामा अट्न बाध्य छ । २० वर्षीया छोरी र बुबाआमा बस्ने र खाना पकाउने एउटै कोठामा गर्नुपर्छ । कोठाको भाडाबापत महिनाको साढे ५ हजार रुपैयाँ तिर्न गाह्रो भएको उनले सुनाइन् । ‘दुईवटा लिउँ भने ११ हजार पर्छ, खाने कि भाडा तिर्ने,’ उनले भनिन्, ‘सबैको अचाक्ली भाउ बढ्यो, केही छोइसाध्य छैन ।’ महँगी बढ्दा हेरक कुरा पुर्याइपुर्याइ खानुपर्ने बाध्यता छ । पहिला एक छाक हुने दाल अहिले दुई छाक पुर्याउनुपर्छ । पहिला १ हजार ६ सय रुपैयाँमा पाइने चामलको बोरालाई अहिले १ हजार ९ सय ५० तिर्नुपर्छ । न अड्कलेको घर खर्चले पुग्छ, न भरपर्दो कमाइ नै छ ।
‘नबढेको केही छैन । महँगीले दु:खी गरिब नै मर्नुपर्छ । धनीलाई धन नै छ, नहुनेलाई केही पनि छैन,’ उनले भनिन्, ‘लाउँछु भनेको लाउन पाइन्न, खान्छु भनेको खान पाइन्न । आफ्नो कमाइअनुसार भोकै बस्न पनि सकिन्न । थोरैथोरै पुर्याइपुर्याइ खाँदा यस्तै हो ।’ उनको परिवारमा अहिलेसम्म कोही ठूलो बिरामी परेका छैनन् । परेको अवस्थामा के गर्ने भन्ने जवाफ उनीसँग छैन । भन्छिन्, ‘अहिलेसम्म घत्रक्कै बिरामी भइएको छैन । भयो भने जे होला होला भनेर बसिएको छ ।’
फेसबुक प्रतिक्रियाहरु