काठमाडौं– घरको दलिनमा झुण्ड्याइएको रेडियोबाट आवाज आउँछ– ‘विभिन्न सञ्चारमाध्यम र गीतसंगीतमार्फत सरकारको ध्यानाकर्षण गराउँदा गराउँदै पनि हुम्लामा अझैं मोटर पुग्न सकेको छैन। मोटर नपुगेकै कारण वर्षेनी सयौं सर्वसाधारणले अकालमै ज्यान गुमाउँदै आएका छन्।’
पृष्ठभूमिमा बजिरहेको यी आवाजबीच हुम्लाको गाउँले दृश्य देखिन्छ। बादल थापाले गाएको गीत ‘नुनको भारी’को सुरुवाती दृश्यमा भिडियोमा अभिनय गरेका लक्ष्मण देवकोटा र सरस्वती गिरी विकटमा भारी बोकेर हिँडिरहेका देखिन्छन्।
गत साता सार्वजनिक भएको यो गीत अहिले चर्चामा छ। दुर्गमको यर्थाथ चित्र र त्यहाँका नागरिकले भोगिरहेको पीडालाई समेटिएको गीतको भिडियो पनि उत्तिकै मार्मिक छ। भिडियोलाई विनयराज पौडेलले निर्देशन गरेका छन्।
करिब ११ महिनाअघि कर्णालीकै सुदूरका गाउँहरुको पीडा बोल्ने गीत ‘रेलको बाटो’ सार्वजनिक भएको थियो। ‘नुनको भारी’ गीतमा जस्तै उक्त गीतमा पनि सुदूरका समस्याहरु स–साना छन्, तर तीनै स–साना समस्याहरुको निराकरण नहुँदा नागरिकले भोग्नु परेको समस्याहरुलाई प्रस्तुत गरिएको थियो।
‘रेलको बाटो’ गीतले निकै चर्चा कमाएको थियो। अहिले सार्वजनिक भएको ‘नुनको भारी’ गीतले पनि चर्चा चुम्दै छ।
यी दुवै गीत लेख्ने सर्जक भने गुमनाम जस्तै छन्।
दुवै गीतका लेखक हुन्, गीतकार लेखराज गिरी। उनी ठान्छन्, ‘हाम्रो कर्तव्य गीतकार भएकाले गीतमार्फत आफूले गर्नसक्ने प्रयास गर्ने हो।’
गीतकार लेखराज गिरी दाङका हुन्। भौगोलिक हिसाबले दाङबाट करिब २३० किलोमिटर टाढा छ हुम्ला। तर, गिरीले आफ्नो शब्दमार्फत दुवै गीतमा हुम्लाको पीडालाई प्रस्तुत गरेका छन्।
मूलधारका गीतसंगीत क्षेत्रमा मात्रै नभएर अन्य विषयमा पनि हुम्ला टाढा छ। राजनीतिक रुपमा भाषणको विषय त बन्छ। तर, त्यही भाषण कार्यान्वयनको कुरा आउँदा हुम्लाको उपस्थिति हुँदैन।
अझैं पनि हुम्लाका जनता सामान्यभन्दा सामान्य कुराको अभावमा रहेको गीतकार गिरी बताउँछन्।
‘विकास भनेको के हो? सामान्य भन्दा सामान्य कुरा पुग्यो भने त्यहाँ विकास हुन्छ,’ उनी भन्छन्, ‘अहिलेसम्म सडक नपुगेको ठाउँ हो हुम्ला। त्यहाँ सडक पुग्ने हो भने स्वास्थ्य सेवा पुग्छ। विजुली पुग्छ। अरु कुराहरु पुग्छन्। तर, केही नपुग्दासम्म त्यहाँका मानिसहरु सामान्यभन्दा सामान्य कुराको लागि तड्पिरहेका हुनेछन्।’
लेखराजले गत वर्ष ‘रेलको बाटो’ गीत लेखका थिए। गीतका गायक सुरज पण्डितले हुम्लाका समस्याबारे लेखराजलाई बेलिविस्तार लगाएका थिए। सुरजले हुम्लामा गाडीसम्म नपुगेको समस्याबारे लेखराजलाई बताएका थिए। जसलाई आधार मानेर उनले गाएको गीत ‘रेलको बाटो’को सिर्जना गरेका थिए लेखराजले।
लेखराजले आफ्नो पहिलो एल्बम ‘पहिलो पाइला’का लागि यो गीतको सिर्जना गरे। एल्बममा पाँच गीत समावेश थिए। ‘रेलको बाटो’ले एउटा भौगोलिक हिसाबले दूरदारजमा रहेको भेगको कथा बोकेको थियो।
करिब एक वर्षको अन्तरमा उनले ‘पहलता’ एल्मबको तयारीमा थिए। गत वर्ष ‘रेलको बाटो’ गीत लेख्दा हुम्लाका थुप्रै समस्याहरु व्यक्त गर्न बाँकी नै थियो। एउटा गीतमा एउटा भूगोलमा वर्षौंदेखि रहिआएका समस्याहरु व्यक्त गर्न पर्याप्त थिएन। जसकारण दोस्रो एल्मब ‘पहलता’मा लेखराजले ‘नुनको भारी’ बोलको गीत सिर्जना गरे। गीतमा त्यही दूरदराजका समस्याहरुलाई पोखे।
लेखराज गीत लेखनमा पाइला चालिरहेका छन्। उनको हरेक कदम बलियो देखिन्छ।
‘जुन ठाउँमा बाटो नै छैन, सडक नै पुगेको छैन, त्यहाँ के होला?’, उनी भन्छन्, ‘तपाईं कल्पना गर्नुस् न, बाटो नपुगेको ठाउँमा के पुग्छ र? बाटो बन्यो, सडक बन्यो भने त त्यसले विस्तारै अन्य भौतिक पूर्वाधारहरु लैजाने हो। पानी, विजुली भनेको बाटो पुगेपछि पुग्ने कुरा हो। बाटो नै नपुगेको ठाउँमा मानिसका इच्छा चाहनाहरु कसरी पूरा भएका होलान र?’
लेखराजले बाटो नपुगेका ठाउँमा अरु केही नपुग्ने समस्यालाई आफ्नो गीतमार्फत प्रस्तुत गरेका थिए। ‘रेलको बाटो’ गीतमा यी समस्याहरु लेखिएका थिए। दोस्रो गीतमा पनि दूरदराजका यीनै समस्याहरुलाई लिएर उनले ‘नुनको भारी’को सिर्जना गरे। त्यो दूरदराजको पीडा लेखे। जहाँ मान्छेको शीरमा नाम्लो र पिठ्युमा भारी कहिल्यै छुट्न पाउँदैन।
‘नुनको भारी’ भनेको एउटा करुणिक भाव हो’, लेखराज आफ्नो गीतको पृष्ठभूमिबारे बताउँछन्, ‘गीतमा पात्रको साथबाट पीडा छुट्दैन। नाम्लो र पिँठ्युमा भारी छुट्दैन। तर, त्यहाँ थुप्रै कुराको अभाव छ। सामान्य परिवारमा कोही बिरामी भएमा हवाईजहाजमा ल्याउनुपर्ने अवस्था छ। हवाईजहाज आएर मात्रै हुँदैन। त्यसको मूल्य तिर्न सक्नुपर्छ। यी सबै पीडा र व्यथाहरु नै गीतको आधार हो।’
नेपालमा सिर्जना हुने गीतहरुभन्दा फरक छन् लेखराजले लेखेका गीत। गीतसंगीतको क्षेत्रमा प्रायः कमै देखिने विषयलाई आफ्नो विषय बनाएका छन् लेखराजले। भन्छन्, ‘हाम्रा गीतसंगीतमा मायाप्रितीका कुराहरुमै केन्द्रित छन्। तर, दुर्गमका पीडाहरुलाई गीतसंगीतबाट उठाउन सकियो भने गीतसंगीतको आफ्नो धर्म पनि पूरा हुन्थ्यो जस्तो लाग्छ। त्यही कर्तव्य पूरा गर्ने हो, एउटा सर्जकको रुपमा मैले पनि।’
आफूले लेखेको गीत व्यवस्था परिवर्तनका लागि नभएको बताउँछन् लेखराज। कुनै राजनीतिक दल वा सरकारलाई उथलपुथल बनाउने गीत बनोस् भन्ने पनि मन छैन उनको। उनी त बस ती दूरदराजका पीडा र व्यथाहरुबारेमा अरुले थाहा पाऊन् भन्ने चाहन्छन्। गीतको माध्यमबाट ती ठाउँको कथा सार्वजनकि बनुन् र सबैको नजरमा पुगुन् भन्ने लाग्छ उनलाई।
‘तैंले किन बाटो पुर्याएको छैनस्, कहिले पुर्याउउँछस् भन्ने प्रश्न होइन, हाम्रो गीतको,’ लेखराज भन्छन्, ‘हामीले ती कुराहरु देखाउने हो।’
लेखराज गीतले क्रान्ति गर्नेभन्दा पनि क्रान्तिमा गीतको साथ हुनुपर्ने ठान्छन्। भन्छन्, ‘राम्रो कामलाई साथ दिने र नराम्रो गरेकालाई सुझाव दिने काम हो गीतको। दूरदराजको पीडा लेख्दा पनि यही गरेको हुँ।’
केही समययता लेखराजले लेखेका गीतहरुजस्तै समाजको कथा बोक्ने गीतहरुको सिर्जना हुन थालेको छ। प्रेम र विछोडमा मात्रै अल्झिनेभन्दा बाहिर आएर पनि गीतहरु सिर्जना हुन थालेका छन्। लेखराज गीतमा जीवन्त न्यायको खोजी भएको ठान्छन्।
‘म आफूलाई, त्यसपछि गाउँ ठाउँ र देशलाई कसरी चिनाउँछु भन्ने भावना हट्न थालेको थियो,’ लेखराज भन्छन्, ‘गीतसंगीतमा भाइरल भयो भने वाह वाह हुन्छ। तर, दीर्घकालसम्म ती सिर्जनाको अर्थ के? विस्तारै यो कुराको महत्व बढेको लाग्छ। राम्रो र वास्तविक सिर्जनाको खोजी हुँदै छ। कतिले ट्रेण्ड एकतिर छ भनेर त्यही कुरा फलो गरेका छन्। कतिले फरक गर्ने कोसिस गरेका छन्।’
लेखराज आफूले यी गीतहरु लेखिरहँदा विकास धेरै ठूलो कुरा नभएको बुझेका छन्। उनलाई लाग्छ, दूरदराजमा विकास भनेको केवल एउटा बाटो पुग्नु हो। स्वास्थ्य सेवा पुग्नु हो। ठूला ठूला सपना देखाइनुभन्दा पनि सामान्यभन्दा सामान्य कुराको उपलब्धता हुनु विकास हो।
‘सक्नेले ढुंगा, माटो जे दिएर पनि काम गर्न सकिन्छ,’ लेखराज भन्छन्, ‘विकास भनेको त्यही हो। एकले अर्काको खुट्टा तान्नेभन्दा पनि मोफसलमा भएका कुराहरु देखाउने हो। काठमाडौं मात्रै नेपाल होइन। नेपाल हुम्ला, कर्णालीमा छ। मधेशमा छ। सुदूर पूर्वमा छ। काठमाडौंबाट थोरै बाहिर जाने हो भने वास्तविक नेपाल देखिन्छ। गीतसंगीतमा यी कुराहरु आउनुपर्छ भन्ने लाग्छ।’
फेसबुक प्रतिक्रियाहरु