धनगढीः सुदूरपश्चिममा राज्य पक्ष र अन्य पक्षबाट गरी सन २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७ सय ६ घटना घटेको तथ्यांक सार्वजनिक गरिएको छ। यो अवधिसम्ममा २२ जना पुरुष र १२ जना महिला गरी ३४ जनाको हत्या भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ ले देखाएको छ। बाल अधिकार, गिरफ्तारी, अमानवीय व्यवहार, महिला अधिकार, बेपत्ता, जातीय विभेद लगायतका घटनामा उल्लेख्य वृद्धि भएको तथ्यांकसहितको वर्ष पुस्तक सार्वजनिक गरिएको हो।
सन् २०२० को तुलनामा सन २०२१ मा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का सुदूरपश्चिम संयोजक खड्कराज जोशीले बताए। ‘मानव अधिकार उल्लङ्घन तथा ज्यादती सुदूरपश्चिममा १२ प्रतिशत देखिएको छ। यस्ता घटनाहरु सबैभन्दा बढी कैलालीमा हुने गरेको देखिन्छ’ उनले भने, ‘राज्य पक्षबाट हुने यस्ता घटनामा थोरै सुधार भएपनि अन्य पक्षबाट हुने ज्यादतीमा भने अझै कमि आउन सकेको छैन।’
महिला अधिकार उल्लङ्घनका घटना सबैभन्दा धेरै रहेको तथ्यांकमा उल्लेख छ। महिलासँग सम्बन्धित ५ सय ३३ घटना घटेको विवरण सार्वजनिक गरिएको छ। साथै यो अवधिमा एक जना महिला र एक जना पुरुषलाई बेपत्ता समेत पारिएको छ।
मानव अधिकारको दृष्टिकोणबाट सुदूरपश्चिम अहिलेपनि सुरक्षित नरहेको सरोकारवाला बताउँछन्। बेपत्ता, हत्या, धम्की, कुटपिट लगायत घटनाहरु निरन्तर रुपमा बढ्दै गएको छ। सुदूरपश्चिमको मानव अधिकारको अवस्था अपेक्षाकृत नभएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका संयोजक मोहनदेव जोशीले बताए। ‘२ वर्ष कोरोना भाइरसका कारण असुरक्षा, बेरोजगारी लगायत कारण पनि अमानवीय व्यवहार भएको देखिन्छ। यस कार्यको सुक्ष्म अध्ययन गरेर विश्लेषण हुनु जरुरी छ’ उनले भन्छन्, ‘प्रदेशको मानव अधिकारलाई सुदृढ पार्न विशेष गरी प्रहरी प्रशासन चनाखो बन्नु पनि उत्तिकै आवश्यक देखिन्छ।’
सुदूरपश्चिममा मानव अधिकार तथा ज्यादतीका घटना वृद्धिसँगै विभिन्न समूहबाट सार्वजनिक एवं निजी सम्पत्तिमा क्षति पुर्याउने काम पनि निरन्तर भइरहेको छ। ६ वटा स्वास्थ्य केन्द्र, २ वटा सरकारी सवारी साधन, ४ वटा सरकारी कार्यालयहरु, ३ वटा सञ्चार क्षेत्र, १९ वटा निजी सवारी साधन, २ वटा निजी सम्पत्ति, २ वटा निजी घर, ५ वटा नगरपालिका भवन र एउटा मन्दिर गरी ५१ वटा भौतिक संरचनामा क्षति पुगेको छ।
प्रहरी प्रशासनले भने विगतको तुलनामा नागरिकले सुरक्षाको अनुभुति गर्दै आएको दाबी गरेको छ। प्रहरी मानव अधिकारको एक अभिन्न अंग नै भएकाले समाजमा शान्ति सुरक्षाको प्रत्याभुति दिने काममा नियमित खबरदारी गर्दै आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारीले बताए। ‘प्रहरीले कुनै पनि व्यक्तिलाई दुःख दिने मनशायले काम गरेको विषय कहिँकतै उल्लेख छैन, इन्सेकको रिपोर्टले पनि यो विषय नदेखाएकाले जनताको सुरक्षामा प्रहरीको भूमिका बढ्दै गएको अनुभुति हुन्छ’ उनले भने।
मानव अधिकारमध्ये सबैभन्दा ठूलो अधिकार जीवनको अधिकार हो। तर विभिन्न बहानामा हत्या, कुटपिट, बेपत्ता, धम्की लगायत कार्य रोक्न तीन तहका सरकारको भूमिका अझै प्रभावकारी नहुँदा नागरिकले सुरक्षित अनुभुती भने गर्न नसकेको सरोकारवाला बताउँछन्।
फेसबुक प्रतिक्रियाहरु