आगामी शुक्रबार सुरु हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी बाजुरामा पूरा भएको छ । यसपटक बाजुराबाट तीन हजार दुई सय ६६ परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन् ।
कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ९ वैशाखदेखि देशभर सञ्चालन हुँदैछ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।
बोर्डले तयार पारेको प्रश्न पत्रको आधारमा बाजुरामा १५ परीक्षा केन्द्रमा एसईई परीक्षा सञ्चालन हुने जिल्ला शिक्षा विकास समन्वय समिति बाजुराले जनाएको छ । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षाका सामग्री जिल्लामा पुगिसकेको कार्यालय प्रमुख हर्कबहादुर सिंहले जानकारी दिए ।
नियमिततर्फ तीन हजार एक सय ८८ र ग्रेड वृद्धितर्फ ७८ विद्यार्थी सहभागी हुने कार्यालय प्रमुख सिंहको भनाइ छ । बाजुराबाट सहभागी हुने परीक्षार्थीमध्ये एक हजार ६ सय ३३ छात्र र एक हजार पाँच सय ५५ छात्रा छन् । १५ जनालाई केन्द्राध्यक्षको जिम्मेवारी दिएको छ ।
फेसबुक प्रतिक्रियाहरु