काठमाडौँ — ठूला मुद्दा, ‘लार्जर द्यान लाइफ चरित्र’, भारी भरकम संवादबिना पनि सरल र सहज ढंगले कथा भन्न सकिन्छ भन्ने कथ्यलाई प्रमाणित गर्ने फिल्म बनेको छ, ‘ऐना झ्यालको पुतली’ । सुजित बिडारी निर्देशित यो फिल्ममा साधारण तरिकाले सामान्य कथालाई मिहीन ढंगबाट भनिएको छ ।
दिदी विद्या र भाइ वसन्तको सम्बन्धमा आधारित छ फिल्म । पढाइमा तीक्ष्ण विद्या मितिनीसँगै हर्नामाडी गई बाँकी पढाइ पूरा गर्न चाहन्छिन् । तर, भाइको सानो लापर्बाहीले विद्याको पढाइ पूरा गर्ने सपना पूरा हुँदैन । तुहिएको सपनाले निराश बनेकी विद्यामा नयाँ आशा थपिदिन भाइ वसन्तले गर्ने संघर्ष नै ‘ऐना झ्यालको पुतली’ हो ।
विद्या र वसन्तले सिसाको डिब्बामा थुनिएको पुतलीलाई उडाउँदै गरेको प्लटबाट फिल्मको कथा सुरु हुन्छ । विद्या पुतलीलाई बन्द सिसाभित्रै सीमित गर्न चाहँदिनन् । पुतलीलाई उड्न दिन्छिन्, स्वतन्त्र गरिदिन्छिन् । यो एउटै दृश्यले पुतलीझैं उड्न चाहने विद्याको रहर/उद्देश्य प्रस्तुत गरिदिन्छ। फिल्मको अर्को दृश्यमा विद्या झ्यालछेउ अचल बनेर बसेकी हुन्छिन्, उड्न नसक्ने पुतलीझैं । पुतलीमार्फत सुरु भएको कथा त्यसरी विम्बात्मक रुपमा पुतलीमै आएर समाप्त हुनुले फिल्मको पटकथाकार प्रमुख कथाबाट भड्किएका छैन्न भन्ने देखाउँछ । निर्देशक सुरुदेखि नै दर्शकलाई के देखाउन चाहन्छन् भन्ने कुराको प्रस्ट उदाहरण पनि हो यो दृश्य ।
कथा पूरा भन्न नपाउँदै कतिपय फिल्ममा निर्देशक अन्य प्लटहरूमै अलमलिँदा दर्शकलाई के भन्न खोजेको हो भन्ने कुरा प्रस्ट हुन्न । यो हकमा निर्देशक बिडारी सुरुदेखि नै सचेत देखिन्छन् । फिल्मको सुरुदेखि नै कथाको केन्द्रीय द्वन्द्वलाई पछ्याउँदै बिडारीले पटकथा कोरेका छन् । विद्या आफ्नो पढाइ पूरा गर्न चाहन्छिन् तर, घरको गरिबी बाधक बनिदिन्छ । फिल्ममा विद्या र वसन्त बस्ने भूगोल, उनीहरुले बाँचेको समय सीमामा समेत निर्देशकले ध्यान पुर्याएको देखिन्छ ।
चलचित्रले विद्या र वसन्तको कथा मात्रै भन्दैन, बालमनोविज्ञानलाई खिपेर बनाइएको चलचित्र हेर्दा त्यो कालखण्डमा हुर्किएका दर्शक आफ्नै बालापनमा पुग्छन् । यो नै फिल्मको सबैभन्दा सशक्त पक्ष हो । भर्खर-भर्खर गाउँमा टिभी पुग्दाको रोमाञ्चकता, अरुको घरमा टिभी हेर्न नपाउँदाको खल्लोपन र हेर्न गरेको संघर्ष चलचित्रमा देखाइएको छ । यो कथा पनि वसन्त र उनका साथी उमेशको मात्रै होइन, २ दशकअघि नेपाली समाजमा हुर्कँदै गरेका धेरैको भोगाइ नै यही हो ।
घरझगडाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असर पनि बिडारीले प्रस्तुत गरेका छन् । बुवाआमाको झगडा र कमजोर आर्थिक अवस्थाले सानै उमेरमा उमेश काठमाडौं जान चाहन्छन् । वसन्तलाई पनि काठमाडौं जान फकाउँदै उनी भन्छन्, ‘भान्दाइले मलाई त काठमाडौं आइज, गलैंचा फ्याक्ट्रीमा काम खोजिदिन्छु भन्नुभा’छ । सधैं बाउको कुटाइ खानुभन्दा त जाने हो ।’ ‘आजदेखि कहिल्यै घर आउँदिनँ’ भन्दै घुर्क्याउँदै घरबाट फन्किएर भाग्ने वसन्तको बालसुलभ व्यवहार धेरैको कथा हो । विद्याले विद्याकै लागि गरेको संघर्ष निम्नवर्गीय परिवारमा हुर्केकाहरूको भोगाइ हो । यस्तै पटकथा दर्शकलाई बाँधिराख्ने मूल कडी बनेको छ ।
फिल्ममा पात्रहरूको स्थापनामा खासै लामो समय खर्चिएको छैन । विद्या अनि वसन्तको मात्रै होइन फ्रेमभित्र अटाइएका महत्त्वपूर्ण पात्रहरूको स्थापनामा निर्देशकले ध्यान पुर्याएका छन् । वसन्त र उमेशको सम्बन्ध स्थापना गर्न ‘चाइनिज पेन’ किन्दै गरेको दृश्य काफी छ । हुर्कँदै गरेकी विद्याका यौवनका चाहनाहरू प्रस्तुत गर्न उनले ओठ र गालामा लगाएको लाली अनि चुराहरूमा चलमलाएका उनका हातका दृश्यले धेरै कुरा बोल्छन् ।
फिल्मको संवाद दृश्यझैं कसिला छन् । बाल मनोविज्ञानलाई केन्द्रमा राखेर संवाद बुनिएका छन् । जुन ‘एक्सपेक्ट रेसियो’मा ‘ऐना झ्यालको पुतली’ खिचिएको छ, त्यसले सिनेमेटिक अनुभव दिनुका साथै दर्शकलाई पात्रसँग सजिलै जोडिदिन्छ । एक्सपेक्ट रेसियोले दर्शकलाई त्यतिबेलाको समयमा पुर्याइदिन्छ।
सिनेमेटोग्राफर अमर महर्जन पनि निर्देशकले देखाउन खोजेको कुरामा प्रस्ट देखिन्छन् । एउटा दृश्यमा वसन्तले दिदीले दिएको चिठ्ठी बाँसघारीमा फालिदिन्छन् । क्यामेराले विस्तारै फालेको चिठ्ठी खिच्छ । त्यस्तै गरी कविता प्रतियोगितामा विद्याले आफ्नो हातमा भएको चिठ्ठी हेर्दै गरेको कुरालाई क्यामेराले पनि देखाइदिन्छ ।
थुप्रै ठाउँमा चरित्रलाई क्यामेराले पछ्याएको छ । कतिपय ठाउँमा परिवेशको कथा पनि क्यामेरामार्फत भनिएको छ । विद्यालयले पढ्नका लागि हर्नामाडी जान नपाएको अवस्थालाई देखाउन क्यामेराले पात्रलाई महत्त्व दिएको छैन । त्यहाँको परिवेशबाटै पात्रको अवस्था देखाउन सिनेमेटोग्राफरले चलाखी अपनाएका छन् ।
त्यस्तै यो फिल्ममा सम्पादक किरण श्रेष्ठको बलियो उपस्थिति देखिन्छ । फिल्ममा अनावश्यक लाग्ने त्यस्ता दृश्य छैन, जो फिल्मको प्रमुख कथासँग जोडिँदैन । घटनाक्रम यसरी एकअर्कासँग अन्तरसम्बन्धित भएपछि नै हो फिल्मसँग दर्शक बाँधिने । एउटा घटनाले अर्को घटना निम्त्याउँदा(कज एन्ड इफेक्ट) त्यो कथाले दर्शकको ध्यान तानेर राख्छ । किरण श्रेष्ठले त्यसरी अनावश्यक लाग्ने दृश्यहरु छिमल्दै कथालाई द्रुतगतिमा अगाडि बढाएका छन् ।
बिडारीको कथालाई दृश्यमा मजबुत बनाउन किरणको सम्पादनले महत्वपूर्ण भूमिका खेलेको छ । यो फिल्ममा ध्वनिमा पनि निकै मिहिनेत देखिन्छ । एउटा दृश्यमा विद्या हातमा कविता बोकेर बसेकी हुन्छिन, अन्य विद्यार्थीसँगै । कविता प्रतियोगिताका सञ्चालकले अन्तिम प्रस्तुतिमा अरुकै नाम बोलाउँदा विद्याको शून्य भएको मनोविज्ञान प्रस्तुत गर्न ध्वनिलाई मधुर बनाइएको छ । त्यस्तै कक्षामा प्रथम हुन नपाउँदा विद्याको मनोभाव प्रस्तुत गर्न त्यसरी नै ध्वनिको प्रयोग गरिएको छ । पार्श्व ध्वनिमा पुष्पा संगम बेजोड लाग्छन् । उमेशले गाउँ छोड्ने क्रममा वसन्तसँग मागेको अन्तिम बिदाइमा बज्ने धुनले मनै हुँडल्छ ।
फिल्ममा ‘नन एक्टर’हरुले अभिनय गरेका छन् । वसन्तको निर्दोषपन, जिज्ञासु स्वभावलाई दिनेश खत्रीले आफ्नो अभिनयमार्फत जीवित गराइदिएका छन् । विद्याको चरित्रमा लक्ष्मी चिमरियाले मेहनत गरेको देखिन्छ । विद्याको आशा, रिस, आवेग, त्यागलाई लक्ष्मीले आफ्नो अभिनयले प्रस्तुत गरिदिएकी छन् ।
उमेशको चरित्रलाई निकै निर्दोष, असहाय अनि आशावादी बनाउन उमेश श्रेष्ठको अभिनय तारिफलायक छ । सिरु विष्टले एउटी आमाको प्रेम, दु:ख,संघर्षलाई आफ्नो अभिनयमार्फत प्रस्तुत गरेकी छिन् । कहिल्यै अभिनय नगरेका बालबालिकाहरूबाट यत्तिको काम निकाल्नु सानो कुरो होइन । त्यसअर्थमा यी चरित्रमा फिट हुने बालबालिकालाई कास्टिङ गरेका केदार श्रेष्ठ पनि धन्यवादका पात्र हुन् ।
नेपाली फिल्मको पहिचान के हो ? भन्ने बहस चलिरहँदा निर्देशक बिडारीजस्ता कथावाचकको प्रवेश हुनु फिल्म क्षेत्रका लागि नयाँ आशा हो । नेपाली समाज, संस्कृति अनि समाजबाटै टिपिएका पात्रहरूले ‘ऐना झ्यालको पुतली’लाई नेपाली माटोको कथा भन्न सकिन्छ । नेपाली फिल्मको पहिचान नजिक पुगेको ‘ऐना झ्यालको पुतली’मार्फत फिल्म क्षेत्रले राम्रो कथावाचक पाएको छ ।
फेसबुक प्रतिक्रियाहरु