गर्मी महिना सुरु भएदेखि विभिन्न अस्पतालमा बालरोगी बढ्दै गएको बालरोग विशेषज्ञहरू बताउँछन् । राजधानीको कान्ति बाल अस्पतालमा ओपीडी र इमर्जेन्सीमा गरी दैनिक सरदर ५०० बालबालिका उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालमा जाडो महिनाको तुलनामा गर्मी महिनामा सरुवाजन्य रोगका बिरामीको चाप बढ्ने बालरोग विशेषज्ञ डा. अनिलकुमार श्रेष्ठ बताउँछन् । गर्मी याममा कीटाणुको सक्रियता बढ्ने भएकाले विभिन्न रोग तथा सङ्क्रमण बढ्ने उनी बताउँछन् ।
मनसुन महिनामा भाइरस, ब्याक्टेरिया लगायतका सूक्ष्म कीटाणु सक्रिय रहन्छन्, जसका कारण बालबालिकामा भाइरल ज्वरो, रुघाखोकी, शरीरमा साना डाबर आउने, झाडापखाला, निमोनिया हुने उनको भनाइ छ । दुई महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई ब्रमटाइटिस, श्वास फेर्न गाह्रो हुने, घ्वारघ्वार हुने, स्वाँ–स्वाँ हुनेजस्ता समस्या बढी देखिने उनले बताए । पछिल्लो समयमा श्वासप्रश्वासमा समस्या भएका बिरामी बढ्न थालेको डा. श्रेष्ठ बताउँछन् ।
बालरोग विशेषज्ञ श्रेष्ठका अनुसार यस मौसममा बालबालिकालाई बान्ता, झाडापखाला जस्ता रोग दूषित पानीबाट लाग्ने गर्छ । पछिल्लो समय यी रोग बच्चाहरूमा साझा रोगको रूपमा देखिएको छ । यस्तै, दूषित पानीबाट सर्ने हैजाका बिरामी बालबालिकाको सङ्ख्या पनि विगतको तुलना बढेको उनी सुनाउँछन् ।
उनका अनुसार यो सिजनमा हैजासँगै टाइफाइड, जन्डिस, हेपाटाइटिस ए र इ फैलने गर्छ । हैजा सर्ने माध्यम भनेको दूषित पानी र दूषित खाना नै प्रमुख कारण रहेको उनको भनाइ छ ।
बच्चा बिरामी भएको कसरी थाहा पाउने ?
साना नानीबाबु अर्थात् दुई वर्ष मुनिका बच्चाको क्रियाकलाप नियालेर उनीहरू बिरामी भए÷नभएको थाहा पाउन सकिने डा. श्रेष्ठले बताए । नियमित रूपमा खाना खाइरहेको बच्चाले खाना खान मानेन भने किन खाएन भनेर विचार गर्नुपर्ने उनी बताउँछन् । शरीरको तापक्रम बढेको अवस्थामा वा अघिपछिको तुलनामा बच्चा धेरै रोएमा पनि बिरामी भएको छ कि भनेर शंका गर्नुपर्ने उनले बताए । खाना खान नमानेर पेट दुखेजस्तो गरी घोप्टो परी सुत्ने वा रुने गरेमा पनि शंका गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै, आमाको दूध खाने बच्चाले दूध खान सकेन, दूध खान मानेन, धेरै चिच्याएर रुने गरेमा पनि बच्चामा केही समस्या छ भनेर बझ्नुपर्ने उनले बताए ।
डा.श्रेष्ठका अनुसार, यस मौसममा बालबालिका धेरै बिरामी हुने गर्छन् । सङ्क्रमणजन्य रोग लागेका बालबालिकालाई निको नभएसम्म विद्यालय नपठाउन उनको सुझाव छ । सामान्य रुघाखोकी, ज्वरो आएको भनेर स्कुल पठाउँदा अन्य विद्यार्थीलाई पनि रोग सर्ने सम्भावना बढ्ने उनले बताए ।
सरुवा रोगबाट यसरी जोगाऔँ
बालबालिकामा ज्वरो, झाडापाखाला, शरीरमा बिमिरा देखिएमा वा रुघाखोकी लागेमा झोलिलो पदार्थ खुवाउन, सरसफाइमा विशेष ध्यान दिन उनको सुझाव छ ।
बालबालिकाहरूले ठूला व्यक्ति झैँ व्यक्तिगत सरसफाइ गर्न नसक्ने हुँदा उमालेको पानी, मौसम अनुसारको फलफूल राम्रोसँग सफा गरेर खुवाउन उनी सुझाव दिन्छन् । बच्चाहरूलाई घर बाहिरको जङ्कफुड, बोतलमा आउने जुस नखुवाई घरमै पोसिलो खानेकुरा बनाएर खुवाउनुपर्ने उनले बताए ।
दालभात, तरकारी, जाउलो, हलुवा, दही, दूध, गेडागुडी, माछा, मासु मिलाएर खुवाउनुपर्ने उल्लेख गर्दै उनले बालबालिकालाई रुघाखोकी लागिरहने भएकाले घरमा ज्वरो नाप्ने थर्मामिटर, प्यारा सिटामोल, जीवनजल राख्नुपर्नेमा जोड दिए ।
यस्तो अवस्थामा बच्चालाई तत्काल अस्पताल लैजानुपर्छ
प्यारा सिटामोल खुवाउँदा पनि ज्वरो घटेन, बच्चा रोइरहने, झगडा गर्ने गरिरहेमा उपचारका लागि अस्पताल लैजान उनको सुझाव छ ।
यस्तै, श्वासप्रश्वासमा समस्या भएमा, कोखा हानेजस्तो हुने, छाती र पेटको भागका धसिएर सास फेरे जस्तो लाग्ने, सास फेर्दा बच्चा निलो भएर रोएको खण्डमा तुरुन्तै अस्पताल लैजानुपर्ने उनले बताए ।
‘साना बच्चाले मास्कको प्रयोग, हात सरसफाइ गर्न सक्दैन, त्यसैले घरका अन्य सदस्यहरूले हातको सरसफाइ र मास्कको प्रयोगमा जोड दिनुपर्छ,’ उनले भने । घरका अन्य सदस्यहरूले ध्यान दिएको खण्डमा बच्चालाई सरुवाजन्य रोगबाट जोगाउन सकिने उनको भनाइ छ ।
साना बालबालिकालाई अरूले भनेको र कसैसँग सोधेको आधारमा मेडिकल गएर औषधि नखुवाउन पनि उनले आग्रह गरे । ‘साधारण औषधि सेवन गरेर निको हुने रोगहरूलाई कडा खालको औषधि खुवाएर अस्पताल ल्याउँछन्,’ उनी भन्छन्, ‘ती बच्चालाई सामान्य औषधिले काम गर्दैन अनि अनावश्यक रूपमा औषधि खुवाउनुपर्छ ।’
फेसबुक प्रतिक्रियाहरु