नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका मानिसको उद्धार तथा राहतमा संगठित रुपले जुट्न सवै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपहरु निम्तिन थालेको भन्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्यसमितिलाई ३ बुँदे परिपत्र गरेका हुन् ।
प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकहरुको तत्काल उद्धार, सहयोग र व्यवस्थापनका लागि जिल्लाका सवै क्षेत्र, पालिका र वडा तहहरुमा विपद व्यवस्थापन तरुण परिचालन समिति गठन गर्ने र गराउन उनको निर्देशन छ । सम्बन्धित वडा, पालिका र सुरक्षा निकायसँग समन्वय गरी प्राकृतिक प्रकोपबाट विपत्तिमा परेकाहरुको तत्काल उद्धार र व्यवस्थापनमा लाग्न परिपत्रमा उल्लेख छ ।
प्राकृतिक विपत्तिमा परेका मानिसहरुको उद्धार व्यवस्थापन र राहत संकलन तथा वितरण गर्दा तरुण दलको सांगठनिक मर्यादालाई ध्यानमा राख्न पनि जिल्ला समितिलाई भनिएको छ । तरुण दलद्वारा त्यस जिल्लामा गरिएका विपद व्यवस्थापन र उद्धारका कार्यहरुको दलको केन्द्रीय कार्यालयलाई नियमित जानकारी गराउन उनको निर्देशन छ ।
फेसबुक प्रतिक्रियाहरु