बझाङ — वैशाख ८ गते २३ वर्षीया सपना (नाम परिर्वतन) का आफन्तको बिहे थियो । घरभन्दा आधा घण्टा पर बिहेको निम्तो खान गएकी उनी घर फर्किने क्रममा यौन हिंसामा परिन् । जन्मजात दृष्टिसम्बन्धी अपांगता भएकी उनलाई छिमेकी आफन्तले घर पुर्याउन सहयोग गर्ने भन्दै उनको हात समाते । रात परिसकेको थियो । चिनेकै आफन्त भएको हुनाले उनले पनि विश्वास गरिन् । उनको गाउॅ पुग्नुभन्दा १५ मिनेट अगाडि जंगलको बाटो भएर जानुपर्ने थियो ।
जंगलको बाटो सुरु हुने वित्तिकै ती सहयोगीको व्यवहार एकाएक बदलियो । एउटा हात समातेर अगाडि हिँडिरहेका उनले अर्को हातले सपनालाई अंगालोमा बेरे । ‘सुरुमा त मलाई भर दिनलाई त्यसो गरेको होला भन्ने सोचेर केही भनिन् । पछि त पिठ्युँमा मुर्सादै हात छातीसम्मै पुर्याएर छाम्न थाल्यो,’ उनले भनिन्, ‘त्यसको नियत ठीक छैन भन्ने थाहा पाउनेबित्तिकै मैले गाली गर्दै चिच्याउन थालें । अनि छोडेर भाग्यो ।’
रातको समयमा भएको घटनाको विवरण सुनाउँदै उनले त्यो दिन बिहे भएको कारण मान्छेको चहलपहल भइरहेको हुनाले आफू बलात्कृत हुनबाट जोगिएको बताइन् । ‘बिहे भएको हुनाले फाट्टफुट्ट त्यो बाटो मान्छे हिँडिरहेका थिए । अरू दिन भए म बलात्कार भइसक्थें,’ उनले भनिन् ।
उक्त घटनापछि छामछुम गर्दै घर पुगेकी उनले आफूमाथि भएको दुर्व्यवहारको कुरा घरमा आमालाई त सुनाइन् तर आमाबाट उल्टै गाली खाइन् । ‘जहिले पनि यस्तै भन्छ । यो गाउँमा त मात्रै केटी छस् । सबै केटाले तँलाई मात्रै यस्तो गर्छन् । अरूका छोरीहरूलाई त केही हुँदैन त । भनेर गाली गर्नु भयो,’ उनले भनिन्, ‘आजदेखि यस्तो कुरा गरिस् भने राम्रो हुँदैन भनेर उल्टै गाली गर्नुभयो । रात भर रोएर बसें । मेरो पीडा कसैले बुझेनन् ।’
सपनामाथि यस्तो व्यवहार भएको पहिलो पटक भने होइन । १० वर्षको उमेरदेखि नै उनले यस्तो व्यवहार भोग्न थालेकी हुन् । वल्लो पल्लो घरमा बस्ने नातेदारदेखी आफन्त र इस्टमित्रबाट उनले यौन हिंसाका कति घटनाको सिकार हुनुपर्यो भनेर हिसाब गरेर साध्य नहुने बताइन् ।
पहिला पहिला यौन हिंसाको घटनामा पीडकलाई कारबाही हुन्छ भन्ने जानकारी नपाएर चुप बस्ने गरेको बताउने उनले अहिले परिवारको सहयोग नपाउँदा हिंसा सहेर बस्नुपरेको बताउँछिन् । ‘आफैं उजुर हाल्न जाऔं भने कहाँ जाने कसलाई भेट्ने केही थाहा छैन । घरकालाई यस्ता कुरा सुनायो भने सहयोग गर्नुको साटो गालीमात्रै पाइन्छ,’ उनले भनिन् । दृष्टिविहीन भएकै कारण निरन्तरको यौन हिंसा भोगेर पनि परिवार र कानुनको साथ नपाउने सपना एक्ली पीडित भने होइनन् । ‘यस्तो व्यवहार सहनुभन्दा अर्को विकल्प छैन,’ आफू पनि पटकपटक यौन हिंसाको सिकार भएको सुनाउँदै दुर्गाथली गाउँपालिकाकी २८ वर्षीया प्रमिलाले भनिन्, ‘आफूमाथि भएको अन्याय घरमा सुनाएकै कारण परिवारले खाना समेत नदिएर भोकै राखेको घटना मेरै जीवनमा घटेको छ । कतैबाट पनि सहयोग नपाएपछि मैले त यस्ता कुरा सुनाउन पनि छोडिसकेकी छु ।’
जिल्लाभर रहेका कुल १ सय ६५ जना दृष्टिविहीनमध्ये १ सयभन्दा बढी महिला रहेको र उनीहरू सबैजसोले कुनै न कुनै खालका यौनजन्य तथा घरेलु हिंसाको सिकार हुनुपरेको उनले बताए । ‘दृष्टिविहीनहरूलाई परिवारको बोझको रूपमा बुझ्ने गरिएको छ । एउटा दृष्टिविहीनलाई राम्रो खाना दिन पनि लोभ गर्ने परिवार पनि धेरै छन्,’ जोशीले भने, ‘उनीहरूको लागि कानुनी उपचार गर्न सहयोग गरौं भन्ने भावना कसैको पनि पाइँदैन । यस्ता घटना दबाएरै बस्नु पीडितहरूको नियमित बाध्यता जस्तै बनेको छ ।’ ‘अपांगता अधिकार ऐन २०७४’ बमोजिम कुनै पनि वस्तुको आकृति, आकार, रूप र रंगको ज्ञान नहुने अवस्थालाई दृष्टिसम्बन्धी अपांगता भनिन्छ । यो मध्यम, न्यून र पूर्ण दृष्टिविहिन गरी तीन प्रकारको हुन्छ ।
०६८ को जनगणनाअनुसार देशभर कुनै एक वा बढी प्रकारको अपांगता भएका व्यक्ति ५ लाख १३ हजार ९ सय ९३ जना अर्थात् १.९४ प्रतिशत छ । जसमध्ये ९४ हजार ७ सय ६५ दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरू पर्छन् । तिमध्ये ४७ हजार ४१ पुरुष र ४७ हजार ७ सय २४ महिला हुन् । अपांगता भएका व्यक्तिहरू आर्थिक, सामाजिक तथा पहुँचका हिसाबले कमजोर वर्गमा पर्छन् ।
दृष्टिसम्बन्धी अपांगता भएका पुरुषहरूको तुलनामा महिलाहरू लैंगिक तथा यौनजन्य हिंसाको बढी जोखिममा हुने गरेको अध्ययनहरूले पनि देखाउँछन् ।
फेसबुक प्रतिक्रियाहरु