धनगढी । कैलाली भन्सार कार्यालयको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको समान बरामद गर्न खोज्दा विवाद भएको छ ।सोमबार राति धनगढी उपमहानगरपालिका–२ का दुई जना महिलाले भारतबाट अवैध रुपमा ल्याएका सुट लगायतका समान भन्सार कार्यालयको गस्ती टोलीले बरामद गर्न खोज्दा विवाद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीका अनुसार मिलनचोकस्थित भन्सारको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ की रिता कुँवर र अञ्जु कुँवरले भारतबाट ल्याइरहेको समान बरामद गर्ने क्रममा वादविवाद भएको थियो ।
सोही क्रममा त्यहाँ पुगेका रिताका श्रीमान कालुसिंह कुँवरले भन्सार कार्यालयको गाडीमाथि तोडफोड गरेको बताउँदै डीएसपी जोशीले उनीसहित अन्य दुई महिला र भन्सार कार्यालयका सवारी चालक रोहित महतालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको जोशीले बताए ।
प्रहरी नियन्त्रणमा रहेका ती दुई महिलाले भन्सार कार्यालयको गस्ती टोलीले आफूहरुसँग पैसा मागेपछि विवाद भएको बयान दिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु