काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रालाई विश्वव्यापी बनाउने बताएका छन् । इन्द्रजात्रा सुरु भएको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मेयर बालेनले विश्वव्यापी रुपमा इन्द्रजात्रालाई चिनाउन खोजेको र महानगरले त्यहि अनुसार अन्तर्राष्ट्रियस्तरका नगरप्रमुखहरुलाई बोलाएको बताए ।
उनले इन्द्रजात्राको लागि व्यवस्थापन समितिबाट काम भइरहेको भन्दै सबै तयारी लगभग पूरा भएको जानकारी दिएका छन् । मेयर बालेनले इन्द्रजात्रा काठमाडौं उपत्यकामा मात्र सिमित रहेको भन्दै यसलाई पूरै देशले अपनत्व गर्ने बनाउनु पर्ने बताए ।
यस्तै उपमेयर सुनिता डंगोलले देशकै महत्वपूण पर्वको रुपमा इन्द्रजात्रालाई लिएको बताएकी छिन् । उनले आफूहरुले पदभार ग्रहण गरेको सय दिन पुगेको दिन इन्द्रध्वजा फरफराएर इन्द्रजात्रा सुरु हुनु सुखद संयोग भएको बताइन् । उनले महिलाहरुले जात्राको अन्तिम दिन रथ तान्ने त्यसको नेतृत्व आफैंले गर्ने समेत बताइन् ।
२५ नगरका प्रमुखलाई निम्ताः आउने नआउने टुंगो छैन
पत्रकार सम्मलेनमा महानगर प्रवक्ता नविन मानन्धरले काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा हेर्न विश्वका २५ नगरलाई निमन्त्रणा गरेको बताए ।
उनले नगर प्रमुखलाई बोलाएता पनि सबै आउनेमा शंका व्यक्त गरे । ‘केहि नगरप्रमुखहरुबाट आउन नसक्ने चिठी पनि आएका छन् । यस्तै चीनमा कोभिड संक्रमणको कारण स्वास्थ्य मापदण्डलाई कडाई गरेकोले आउन कठिन हुने प्रारम्भिक सूचना पाएका छौं,’ प्रवक्ता मानन्धरले बताए ।
महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र) बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरका प्रमुखहरुलाई निमन्त्रणा गरेको जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त नगरेका केहि देशका शहरलाई समेत निमन्त्रणा गरेको विषयमा महानगरले परराष्ट्रसँग छलफल गरेरै निमन्त्रणा गरेको प्रवक्ता मान्धरले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु