कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा ४० जना किशोरीलाई साइकल वितरण गरिएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा नगरपालिकाले विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा नगर क्षेत्रभित्रका ८ वटा विद्यालयमा अध्ययनरत गरिब, विपन्न, दलित तथा जेहनदार ४० जना किशोरीहरूलाई साइकल वितरण गरेको नगर प्रमुख सुरेन्द्र बिष्टले बताए।
नगरपालिकाले विद्यालयहरूसँग छात्राहरूले २० वर्षअघि विवाह तथा विद्यालय छोड्न नपाउने सम्झौता समेत गरेको बताइएको छ। नगरपालिकाले युएनड्रीपी, निड्स नेपाल, ग्रिन वे, एनसेल, एनएमबी बैङ्क, आईएमई पे, काठमाडौँ साइकल सिटी र साइकल सिटी नेटवर्क नेपाल लगायतका सङ्घसंस्थाहरूको साझेदारीमा साइकल वितरण गरेका हो।
साइकलको प्रयोग मानव स्वास्थ्य, वातावरण र आर्थिक तीन वटै कुराले फाइदाजनक रहेकोले किशोरीहरूको विद्यालय अध्ययनलाई निरन्तरतासँगै वातावरण स्वच्छता, आर्थिक बचत र स्वस्थ जीवनशैलीका लागि साइक्लिङको प्रचार लगायतका क्षेत्रमा टेवा पुर्याउने उद्देश्यका साथ साइकल वितरण गरिएको सहयोगी संस्थाहरूले जनाएका छन्। भीमदत्त नगरपालिकाले निःशुल्क साइकल उपलब्ध गराएपछि विद्यालय आवागमनमा निक्कै सहज हुने लाभग्राही किशोरीहरूको भनाइ छ।
फेसबुक प्रतिक्रियाहरु