होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डडेल्धुरामा यो के हुँदैछः माओवादीले माग्यो ५० प्रतिशत, गठबन्धनको नाममा पेल्न खोजे कांग्रेसले विद्रोह गर्ने
समाचार

डडेल्धुरामा यो के हुँदैछः माओवादीले माग्यो ५० प्रतिशत, गठबन्धनको नाममा पेल्न खोजे कांग्रेसले विद्रोह गर्ने

  • नागरिक रैबार
डडेल्धुरामा यो के हुँदैछः माओवादीले माग्यो ५० प्रतिशत, गठबन्धनको नाममा पेल्न खोजे कांग्रेसले विद्रोह गर्ने

धनगढी: डडेल्धुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो। सोहीकारण निर्वाचनका बेला त्यहाँ सबैको नजर जान्छ। गत स्थानीय तहको निर्वाचनमा ७ पालिकामध्ये ४ ओटामा कांग्रेस, २ ओटामा नेकपा एमाले र एउटामा नेकपा माओवादी केन्द्रले जित हात पारेको थियो। तर यसपालि दृश्य फरक हुनेछ। त्यसैमाथि केन्द्रीय नेतृत्वमा हालको पाँच दलीय सत्ता गठबन्धनअनुसार नै स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने छलफल भएको छ।

उक्त सुझबुझ अनुसार डडेल्धुरामा के हुने भनेर सबैले चासोका साथ हेरेका छन्। यसैबीच माओवादीको किल्ला रहेको अजयमेरु गाउँपालिकाको वडा नम्बर २ बाट वडा अध्यक्षका उम्मेदवारको टुंगो लागेको छ। त्यहाँका हालका वडा अध्यक्ष शिवराज भट्ट गठबन्धन नमान्ने भन्दै पुनः वडाअध्यक्षको उम्मेदवारका लागि सिफारिस भएका छन्।

यस्तै कांग्रेसले जितेको भागेश्वर गाउँपालिकामा पनि माओवादी केन्द्रले विष्णु पाण्डेयलाई गाउँपालिका अध्यक्षमा सिफारिस गरेको छ। माओवादीको गाउँपालिका कमिटीले पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको युवा नेता पुष्प भट्टले बताए। उता तरुण दलका अध्यक्ष शेरबहादुर साउँद नवदुर्गा गाउँपालिका वडा नम्बर १ को अध्यक्षको उम्मेदवार हुने भएका छन्।

विज्ञापन

कांग्रेस केन्द्रीय निर्णय अनुसार २१ गते बसेको क्रियाशिल सदस्यको भेलाले साउँदलाई अध्यक्ष पदका लागि सर्वसहमतिले छनोट गरेको हो। तर केही समयअघि गठबन्धनविरुद्ध कार्य नगर्ने भनेर जिल्ला स्तरका नेतृत्वबीच सहमति भएको थियो। तर त्यस विपरीत कांग्रेस र माओवादीले एक्ला एक्लै उम्मेदवारहरु घोषणा गर्ने थालेका छन्।

माओवादीले माग्यो ५० प्रतिशत
नेकपा माओवादी केन्द्रले डडेल्धुरामा झन्डै ५० प्रतिशत स्थानीय तहमा आफ्नो दाबी गरिरहेको छ। ७ स्थानीय तहमध्ये माओवादी केन्द्रले ३ स्थानीय तह आफुले पाउनुपर्ने बताएको हो। ०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी अजयमेरु गाउँपालिका जितेको थियो। परशुराम नगरपालिका र आलिताल गाँउपालिकामा झिनो मतान्तरले माओवादी उमेदवार पराजित भएका थिए। त्यसो त ५२ वडा रहेको डडेल्धुरामा कांग्रेसले १७, माओवादी केन्द्रले १६ र नेकपा (एमाले)ले १९ वडाध्यक्षमा जितेको थियो।

यसरी गत स्थानीय तहको चुनावमा दोस्रो भएको र २ पालिकामा झिनो मतले हार व्यहोरेका कारण ती २ पालिकासहित ३ स्थानीय तहमा आफ्नो दाबी गरेको माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले बताउँछन्। ‘प्रधानमन्त्रीकै गृहजिल्लाबाट गठबन्धनमा सम्मानजनक सहकार्य हुने हामीले अपेक्षा गरेका छौँ। तर, तल्लो तहमा विश्वासको संकट देखिन्छ। यसलाई हल गर्दै जानुपर्छ’ उनी भन्छन्, ‘तर गठबन्धनका नाममा एकदमै पेल्न खोजियो भने डडेल्धुरामा हामी एक्लै लड्ने सामर्थ्य राख्छौँ।’

गठबन्धनको नाममा पेल्न खोजे विद्रोह गर्छौ: कांग्रेस
गठबन्धनको विषयमा सुदूरपश्चिममा कांग्रेसभित्र दुई धार देखिएको छ। एक पक्ष तालमेल गर्नुपर्ने र अर्को पक्ष एक्लै चुनाव लड्नुपर्ने बताइरहेको छ। त्यस्तै डडेल्धुरामा पनि भएको छ। जिल्लाका अधिकांश नेता कार्यकर्ताहरूले गठबन्धनका नाममा पेल्न खोजिएमा तत्काल सामूहिक विद्रोह गर्ने चेतावनी दिएका छन्।

नेपाली कांग्रेस डडेल्धुराको सातौँ जिल्ला अधिवेशनका बेला जिल्लाभरिका चार सय ६० जना क्रियाशील सदस्यको नामावली काटेर माओवादीबाट समायोजनका नाममा तीन सय १२ क्रियाशील सदस्यता केन्द्रबाटै थप गरिएपछि छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिले निर्णय गरेर असन्तुष्टि जनाउँदै सातौँ जिल्ला अधिवेशनमा भाग लिएको थिएन। त्यसरी जिल्ला कार्यसमितिको सहभागिता बिनै सातौँ जिल्ला अधिवेशन सम्पन्न गरिएकाले डडेल्धुरामा नेपाली कांग्रेस दुई समूहमा बाँडिएको छ।

सातौँ जिल्ला अधिवेशनबाट नेपाली कांग्रेस डडेल्धुराका सभापति बनेका भिमबहादुर साउँदले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलगायतका दलहरूसँग मिलेर गठबन्धन गरेर निर्वाचनमा जाने तयारी थालेका छन्।

तर गठबन्धनका नाममा अन्य राजनीतिक दलहरूसँग मिलोमतो गर्ने काम भएको भन्दै छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा जिल्ला स्तरीय नेताहरूले आसन्न स्थानीय तह निर्वाचनका लागि छुट्टै अभियान सञ्चालन गरिरहेका छन्। अन्य पार्टीसँग गठबन्धन गर्ने नाममा पार्टीका इमानदार कार्यकर्ताहरूलाई पाखा लगाइएकोले समानान्तर गतिविधि सञ्चालन भइरहेको नेपाली कांग्रेस डडेल्धुराका नेता हरिप्रसाद भट्ट बताउँछन्। उनले पार्टी नेतृत्वले टिकट नदिए आफुले अमरगढी नगरपालिकाको नगरप्रमुखका लागि उम्मेदवारी घोषणा गरेर चुनावी अभियान सञ्चालन गरिरहेको बताएका छन्।

यस्तै नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान उपसभापति करुणाकर भट्टले कांग्रेसका नेता कार्यकर्ताहरू एक ढिक्का भएर स्थानीय तहको निर्वाचनमा होमिएमा डडेल्धुराका सात वटै स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बताए। उनले पार्टी सभापतिको गृह जिल्लामा गुटबन्दी चलाएर नेता कार्यकर्ताहरूमाथि अन्याय भइरहेको बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार