धनगढी : कैलालीमा एक प्रहरी जवानले आफैँलाई ताकेको बन्दुक पड्केपछि घाइते भएका छन्। बन्दुक पड्केपछि जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर २ घर भएका एक प्रहरी घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय टीकापुर मातहतको बैदीस्थित कालाकुण्डा प्रहरी चौकीमा कार्यरत झंकर बोहराले आफैँमाथि ताकेको बन्दुक पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए। उनका अनुसार झंकर हिजो (शनिबार) राति मूल द्वारको ड्युटीमा थिए। ड्युटीमै रहेका वेला उनले रातको करिब १ बजे आफैँले आफैँमाथि बन्दुक ताकेको बताइएको छ। उनले आफ्नो साथमा रहेको (एसएलआर) राइफल चलाउँदा पड्केर घाइते भएका हुन्।
केही दिन उनी बिदामा समेत बसेका थिए। उनले चौकीमा राति आत्महत्याको प्रयास गर्दा बन्दुक पड्केको हुनसक्ने प्रहरी स्रोतको आशंका छ। घाइते भएका झंकरको चिउँडोमा चोट लागेको प्रहरी स्रोतको भनाइ छ। पारिवारिक तथा व्यक्तिगत समस्याका कारणले उनले यस्तो गरेको हुनसक्ने बताइएको छ।
अहिले उनको नेपाल प्रहरीको अस्पताल काठमाडौंमा उपचार भइरहेको र खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ। घटना भएको राति नै उनलाई टीकापुर अस्पताल लगिएकोमा टीकापुर अस्पतालले कोहलपुर रेफर गरेको थियो। त्यहाँबाट पनि रेफर गरेपछि उनलाई प्रहरी अस्पताल लगिएको हो। यस सम्बन्धमा अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु