होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बेहुलीको प्रतीक्षामा रहेको गाउँ शोकमा
समाचार

बेहुलीको प्रतीक्षामा रहेको गाउँ शोकमा

जन्ती बोकेको जिप दुर्घटनामा ८ जनाको मृत्यु

  • नागरिक रैबार
बेहुलीको प्रतीक्षामा रहेको गाउँ शोकमा

प्यूठान — शुक्रबार दिनभर पानी परेकाले सडक चिप्लो थियो । जिल्लाको नौबहिनी गाउँपालिका–६ लुंगबाट बेहुली लिएर गाउँ नजिकै पुग्दा मध्यरात भइसकेको थियो । जन्ती गाडीमै नाचगान गरिरहेका थिए, बेहुलाको घरमा खुसीयाली छाएको थियो । तर यस्तो उल्लास धेरै बेर टिकेन । बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटनामा पर्‍यो । आठ जनाले ज्यान गुमाए । बेहुला–बेहुली घाइते छन् ।

गौमुखी गाउँपालिका–६ लिबाङ फर्किरहेको ग१ज ५०९२ नम्बरको जिप दुर्घटनामा परेको हो । ज्यान गुमाउनेमा लिबाङका वसन्तबहादुर खड्का, उनकी श्रीमती वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का रहेका छन् । वसन्तीको घटनास्थलमै र खड्का बाबुछोरीको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस्तै, दुर्घटनामा ३२ वर्षीय खिमबहादुर खत्री, वसन्तकी बुहारी तथा बेहुला दानबहादुरकी दिदी २९ वर्षीया केशरी खड्का, भाउजू ५२ वर्षीया नन्दी खड्काको मृत्यु भएको छ । ५२ वर्षीय चालक बलबहादुर बुढा मगरको पनि दुर्घटनामा मृत्यु भएको छ । उनी पनि सोही गाउँका हुन् । दुर्घटनामा बेहुलीकी बहिनी १८ वर्षीया विपना जीसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेहुली १९ वर्षीया रीमा जीसी, बेहुला दानबहादुर खड्का, उनका भाइ १७ वर्षीय नरेश खड्का, २१ वर्षीय हरि बुढामगर, २५ वर्षीया सावित्रा जीसी र सावित्रा जीसीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी सत्यनारायण थापाले बताए । दुर्घटना भएको स्थान दुर्गम र सदरमुकामदेखि टाढा भएकाले चिकित्सकसहितको टोली पठाइएको उनले बताए । सडक कुनामा रहेको ढुंगालाई तर्काएर लैजाँदा दुर्घटना भएजस्तो देखिएको थापाले बताए । ‘छेउबाट तर्काएर लैजाँदा लगातारको पानीले गलेको जमिनमा जिप भासिएर दुर्घटना भएको देखिन्छ,’ उनले भने, ‘रातको समय भएकाले पनि उद्धारमा गाह्रो भएको हो ।’

विज्ञापन

बेहुली भित्र्याउने तयारीमा रहेका बेला ८ जनाको शव भित्रिएपछि लिबाङ गाउँ शोकमा डुबेको छ । रातको १ बजेतिर दुर्घटना भएको र उद्धार समयमै हुन नपाएको बेहुला खड्काले बताए । गाडीबाट सबैभन्दा पहिले भीरमा आफू खसेको र स्थानीयलाई गुहार मागेको उनको भनाइ छ । ‘फोन पनि थिएन, धेरैबेर गुहारगुहार भनेपछि बल्ल गाउँले के भयो भनेर चिच्याउन थाले, त्यसपछि बल्ल उद्धार पायौं,’ उनले भने, ‘समयमै उद्धार पाएको भए यति ठूलो मानवीय क्षति हुने थिएन ।’ चिसो मौसममा पानीमा कठ्यांग्रिँदा धेरैको ज्यान गएको उनले बताए । दुर्घटनामा घाइते भएकाहरूलाई अस्पताल ल्याउन गाडीको व्यवस्था गर्नर् ैघण्टौं लागेको स्थानीय पदमबहादुर केसीले बताए । ‘बिहान उद्धार गर्दासम्म खड्का बाबुछोरी तातै थिए,’ उनले भने, ‘गाडी खोज्दाखोज्दै एलिसाले प्राण त्यागिन्, वसन्तको पनि बाटोमै मृत्यु भयो ।’ समयमै उद्धार पाएको भए बाबुछोरीसँगै धेरैको ज्यान जोगाउन सकिने उनको भनाइ छ । गाउँ नै शोकमा डुबेका बेला मृतकहरूको अन्तिम संस्कारमा जुटेको स्थानीयले बताए ।

सडककै कारण दुर्घटना भएको हुन सक्ने गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी बताउँछन् । ‘सधैं चिप्लो भइरहने ठाउँमा दिनभर पानी परेको थियो,’ उनले भने, ‘गाउँपालिका नै शोकमा डुबेको छ ।’ मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार