काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे आइतबार अपरान्ह ४ बजे काठमाडौं आउँदै छन् । पाँच सदस्यीय टोलीका साथ उनी भारतीय सेनाका विमानमार्फत काठमाडौं आउन लागेका हुन् ।विमानस्थलमा उनको स्वागतका लागि नेपाली सेनाको एक टोली पुग्नेछ । औपचारिक कार्यक्रम सोमबारदेखि हुनेछन् ।
पाँच दिने भ्रमणको पहिलो दिन सोमबार जनरल पाण्डेले सैीनक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिने कार्यक्रम छ ।
भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हुने सहयोग पनि सोही अवसरमा घोषणा हुनेछ । सोमबार नै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न ग्रहण गर्नेछन् । शितलनिवासमा यो कार्यक्रम अपराह्न ३ बजेका लागि राखिएको छ ।
यसअघि २० कात्तिक २०७७ मा पाण्डे अघिका भारतीय सेनाध्यतक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए । पाण्डे अब नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १९ औं भारतीय सैन्य अधिकारी बन्नेछन् ।
साँझ जंगीअड्डामा रात्रिभोजको कार्यक्रम छ । मंगलबार सेना प्रमुख पाण्डेले सगरमाथा आधार शिविरको भ्रमण गर्ने कार्यतालिका छ । भ्रमणपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्ने कार्यक्रम छ ।
भेटका क्रममा भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे पनि कुरा हुनसक्ने भनिएको छ । अग्निपथबारे भारतले लिखित जवाफ नदिएसम्म नेपाली युवाको अग्निवीरका रुपमा भर्तीलाई रोकिएको छ ।
मंगलबार नै काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि छ । साँझ लैनचौरस्थित भारतीय दूतावासमा रात्रिभोजको कार्यक्रम छ ।
बुधबार मौसम अनुकूल भए मुस्तिनाथ मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम छ । त्यही क्रममा नेपलाी सेनाको मध्यकमाण्ड हेडक्वार्टर पोखरा जाने कार्यक्रम पनि छ । सोही दिन वसन्तपुरस्थित हनुमान ढोका जाने कार्यक्रम पनि तोकिएको छ । बिहीबार अपरान्ह उनी स्वदेश फर्किने कार्यक्रम छ ।
नेपाली सेनाका अनुसार सन् १९५० देखि नेपाल र भारतबीच एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने चलन रही आएको छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए ।
दुई मुलुकका सेना प्रमुखबीच महारथीको सम्मान दिने चलनले दुई देशका सैनिकबीच घनिष्ठ सम्बन्ध रहेको देखाउने सैन्य मामलाका जानकारहरु बताउँछन् ।
भारतीय सेनाध्यक्ष नरवणेले नेपालले ‘कसैको इसारामा सीमा सम्बन्धी विषय उचालेको’ सार्वजनिक टिप्पणी गरेपछि उनको आलोचना भएको थियो । र, उनलाई महानार्थ महारथीको सम्मान नदिन माग उठेको थियो ।
भारतीय स्थल सेनाको सर्वोच्च पदमा पुग्ने पाण्डे पहिलो इञ्जिनियर हुन् । यसअघि भारतीय सेनाको प्रमुख इनफेन्ट्री, आर्मर्ड र आर्टिलरीका अधिकारीहरु मात्रै हुने गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु