काठमाडौँ — जबर्जस्ती करणी र यौन दुर्व्यवहार आरोपमा कलाकार पल शाह पक्राउ परेपछि बलात्कारसम्बन्धी कानुनमाथि बहस सुरु भएको छ । केही कानुन व्यवसायीले सार्वजनिक सञ्चारमाध्यममा लेख लेखेर र अन्य कतिपयले सामाजिक सञ्जालमा ‘१८ वर्षभन्दा कम उमेरकी किशोरीसँग सहमतिमै भएको सम्बन्धलाई पनि बलात्कार मान्ने कानुनी व्यवस्था बदल्नुपर्छ’ भन्ने तर्क गरिरहेका छन् ।
जबर्जस्ती करणीसम्बन्धी कानुनी व्यवस्थामा सुधारको खाँचो त छ तर उनीहरूले भने जसरी होइन । बलात्कारजस्तो गम्भीर अपराध नियन्त्रणका लागि बनेका अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपालको कानुन फितलो छ । कानुनको नाम, परिभाषा, हदम्याद, प्रमाणको संकलन र मूल्यांकन तथा फैसला गर्दा अदालतले गरिरहेका त्रुटिसमेतमा सुधार चाहिएको छ ।
बलात्कार कि जबर्जस्ती करणी ?
प्रचलित कानुनले बलात्कारलाई बलात्कार मान्दैन/भन्दैन । बलात्कार जनाउन प्रयोग हुने कानुनी शब्द हो– जबर्जस्ती करणी । यसअघिको मुलुकी ऐनमा ‘जबर्जस्ती करणीको महल’ थियो । हाल प्रचलित मुलुकी अपराध संहितामा पनि ‘जबर्जस्ती करणी’ सम्बन्धी परिच्छेद छ । यो नाममा गम्भीर अवधारणागत त्रुटि छ । ‘जबर्जस्ती करणी’ शीर्षकले अतिरिक्त बल वा हिंसाको प्रयोगबाट करणी सम्पन्न भएकै हुनुपर्ने अनिवार्यता खोज्छ । जबकि अतिरिक्त बल प्रयोग वा हिंसाबिना पनि बलात्कार हुन सक्छ । अदालतका फैसला केलाउँदा न्यायाधीशहरूमा यसको गहिरो प्रभाव परेको देखिन्छ । नारायणसुन्दर श्रेष्ठविरुद्धको मुद्दामा सर्वोच्च अदालतले भनेको छ– ‘कसैले जबर्जस्ती करणी गर्न खोज्छ भने महिलाले आफ्नो बेमञ्जुरी प्रकट गर्न सकेसम्म उपाय रचेको हुनुपर्छ । केही गरी लोग्ने मानिसको कामवासनालाई अर्कोतिर मोडी निजको इन्द्रिय केही क्षणलाई भए पनि बेकम्मा पारिदिएको हुनुपर्छ ।’ त्यसैले बलात्कारसम्बन्धी कानुनमा ‘जबर्जस्ती करणी’ को साटो ‘बलात्कार’ लेख्न जरुरी छ ।
बलात्कारको परिभाषा
अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरे बलात्कार गरेको मान्छ । सोही दफाले मञ्जुरीबिना गुदद्वार वा मुखमा लिंग पसाए र लिंगबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराए पनि बलात्कार मान्छ । यो परिभाषा संकुचित छ । महिलालाई मात्रै बलात्कारको सम्भावित पीडित मान्ने यस्तो परिभाषा बदलेर तेस्रो लिंगी, वयस्क पुरुष र बालक पनि बलात्कारको अपराधबाट पीडित हुन सक्ने भएकाले कानुन संशोधन गर्नुपर्छ ।
संहिताको दफा २२५ ले बालयौन दुरुपयोगसम्बन्धी व्यवस्था गरेकाले कानुन निर्माताले बालकमाथि हुने यौन अपराध (बलात्कार पनि) लाई त्यसैले समेट्ने ठानेका हुन सक्छन् । तर उक्त अपराधमा हुन सक्ने सजाय बलात्कारमा भन्दा न्यून छ । ट्रायल इन्टरनेसनल र ह्युमन राइट्स एन्ड जस्टिस सेन्टरले सन् २०२० मेमा संयुक्त राष्ट्रसंघको महिलाविरुद्ध हुने हिंसासम्बन्धी कार्यादेश पाएका विशेष प्रतिनिधि (र्यापोर्टर) लाई पठाएको प्रतिवेदनमा नेपालको बलात्कारसम्बन्धी कानुनलाई लैंगिक रूपमा तटस्थ बनाउन सुझाइएको छ ।
परिभाषामा सुधार गर्नुपर्ने अर्को पक्ष ‘पेनिट्रेसन’ सम्बन्धी परम्परागत दृष्टिकोण हो । पहिले महिला जननेन्द्रियमा जबर्जस्ती र पूर्णरूपमा पुरुष जननेन्द्रिय प्रवेश गराउने कार्यलाई मात्रै बलात्कार मानिन्थ्यो । अहिलेको संहिताले त्यस्तो संकुचित परिभाषालाई केही विस्तार त गरेको छ तर त्यो पूर्ण छैन । नेपाललगायत दक्षिण एसियाका ६ देशका बलात्कारसम्बन्धी कानुनहरूको तुलनात्मक अध्ययनपछि ‘इक्वालिटी नाउ’ र ‘डिग्निटी अलायन्स इन्टरनेसनल’ ले सन् २०२१ मा सार्वजनिक गरेको प्रतिवेदन ‘सेक्सुअल भाइलेन्स इन साउथ एसियाः लिगल एन्ड अदर ब्यारियर्स टु जस्टिस फर सर्भाइभर्स’ मा नेपालको कानुनमा रहेको यस्तै रिक्तता औंल्याइएको छ । ‘नेपालको कानुनले योनि, गुदद्वार र मुखमा लिंगको प्रवेशलाई बलात्कार मानेको छ । तर औंला वा शरीरका अन्य अंग र बाहिरी वस्तुलाई जबर्जस्ती गुदद्वारलगायतमा प्रवेश गराउने कार्यलाई बलात्कार मानिएको छैन ।’ दक्षिण एसियाका नेपाल र बंगलादेशमा मात्रै बलात्कारको परिभाषा यस्तो संकुचित रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
सर्वोच्च अदालतका पहिलेका फैसलामा बलात्कार ठहर हुन महिला जननेन्द्रियमा पुरुष जननेन्द्रिय पूर्णरूपमा प्रवेश गरेको हुनुपर्ने, वीर्य स्खलन भएकै हुनुपर्ने वा बलात्कारपीडित महिलाको ‘कन्याजाली’ च्यातिएको हुनुपर्ने जस्ता परम्परागत धारणा देखिन्छ । यसलाई सर्वोच्चले क्रमशः परिवर्तन गर्दै आएको छ । लाक्पा शेर्पाविरुद्धको मुद्दामा सर्वोच्चले २०७३ भदौमा फैसला गर्दै महिलाले महिलालाई बलात्कार गर्न सक्ने तथा कृत्रिम लिंगको प्रयोगबाट पनि बलात्कारको अपराध हुन सक्ने नजिर कायम गरेको छ ।
सहमति तर कस्तो ?
अपराध संहिताले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौनसम्बन्ध राखे पनि बलात्कार मान्छ । करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा बन्धक बनाई लिएको वा होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई सहमति मान्दैन । उक्त कानुनले अचेत रहेको वा नशालु पदार्थ सेवनजस्ता कारणले यौनसम्पर्कका लागि स्वतन्त्र/सुसूचित सहमति दिन असमर्थ रहेको अवस्थालाई समेटेको छैन ।
अदालतमा आफ्नो प्रतिरक्षाका लागि धेरैले सहमतिमा यौनसम्बन्ध भएको थियो/बलात्कार भएको होइन भन्ने दाबी लिने गरेको देखिन्छ । कतिपय मुलुकमा बलात्कारको अभियोग लागेका व्यक्तिले सहमतिमा सम्बन्ध भएको थियो भनेर दाबी गर्दा उक्त पक्षले नै त्यसलाई प्रमाणित गर्नुपर्ने कानुनी व्यवस्था छ । नेपालको कानुनले भने स्पष्ट रूपमा त्यस्तो दायित्व अभियुक्तमाथि हुने व्यवस्था गरेको छैन । बिर्सनै नहुने के छ भने यौनसम्बन्धका लागि दिइने सहमति स्वतन्त्र हुनुपर्छ । त्यो अभिव्यक्त भएको हुनुपर्छ र जुनसुकै समयमा पनि त्यसलाई ‘विथ ड्र’ गर्न मिल्छ । यसअघि सहमतिमा सम्बन्ध भएको थियो वा केही अघिसम्म हुन्छ भनिएको थियो भन्ने आधारमा त्यस्तो सहमति सधैंलाई रहेको मानिँदैन ।
संहितामा उल्लेखित ‘अनुचित प्रभाव’ वा ‘झुक्यान’ जस्ता शब्द अस्पष्ट छन् । तिनको जस्तो पनि व्याख्या हुन सक्ने जोखिम छ । २०७६ वैशाखमा सर्वोच्च अदालतले ‘भूपेन्द्र खड्काविरुद्ध नेपाली सेना, जंगी अड्डा’ भएको मुद्दामा एक हदसम्म ‘अनुचित प्रभाव’ को व्याख्या गरेको छ । उक्त फैसलाले ‘आफ्नो पदीय प्रभावमा पारी अफिसरस्तरको सैनिकले सैनिक सेवाभित्र तल्लो तहको महिला सैनिकसँग यौनसम्पर्क राख्नका लागि लिएको सहमतिलाई अनुचित प्रभावमा पारी लिएको सहमति भनी बुझ्नुपर्ने र त्यसलाई प्रपञ्चको स्वरूप मान्नुपर्छ’ भनेको छ ।
पीडितको यौन सक्रियता
कानुनले स्पष्ट रूपमा उल्लेख नगरेको भए पनि बलात्कार अपराधकी पीडित महिला त्यसअघि यौनसम्बन्धमा थिइन् वा थिइनन् भन्ने विषय मुद्दाको प्रक्रियामा खुब चासोका साथ ‘नोटिस’ गरिन्छ । अपराध हुनुअघि पीडित महिला यौनसम्बन्धमा सक्रिय भएको परीक्षणबाट देखिए न्यायाधीशहरूले घटना नै नभएको वा सहमतिमा सम्बन्ध भएको अनुमान गरेर फैसला/आदेश गरिरहेको देखिन्छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय भोजराज अधिकारी र जगदीश घिमिरेले गत माघ ६ मा बलात्कार मुद्दाको थुनछेक आदेश गर्दै ‘स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडित महिलाको पहिले नै योनिको झिल्ली च्यातिएको भन्ने देखिएको’ आधारमा अभियुक्तलाई धरौटीमा छाडे ।
न्यायाधीशमा रहेको यस्तो धारणाले पहिले पनि बलात्कारबाट पीडित महिला, यौनसम्बन्धमा रहेका वयस्क महिला, सन्तानका आमा, विवाहित महिलालगायतमाथि बलात्कार नै हुन सक्दैन भन्ने मान्यता स्थापित गर्छ । कोही व्यक्ति यौनसम्बन्धमा छ/छैन भन्ने उसको व्यक्तिगत गोपनीयताको विषय हो । त्यसमा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक, प्रतिवादीका वकिल र न्यायाधीशलाई किन खसखस लाग्नुपर्ने ? त्यसैले पीडित त्यसअघि नै यौनसम्बन्धमा सक्रिय रहे, नरहेको भन्ने प्रमाण अदालतमा पेस गर्नबाट रोक लगाउने कानुन बनाउनु आवश्यक छ । जस्तो– भारतको कानुनले पीडित व्यक्ति यौनसम्बन्धमा पहिले सक्रिय थियो वा थिएन भन्ने विषय बलात्कार वा यौन हिंसाको घटनामा असान्दर्भिक हुने भन्दै प्रतिवादीका वकिललाई त्यसबारे पीडितलाई प्रश्न गर्न नै रोक लगाउँछ ।
नेपालको मुलुकी ऐनले यौन व्यवसायमा लागेका महिलामाथि भएको बलात्कारमा अन्य महिलामाथि भएको भन्दा कम सजाय हुने व्यवस्था गरेको थियो । जसलाई २०५९ सालमा सर्वोच्च अदालतले ‘बलात्कारमा पीडितको चरित्र र पेसाअनुसार अपराधीलाई फरक सजाय गर्ने कानुनी व्यवस्था भेदभावकारी एवं असमान भएको’ भन्दै बदर गरिदिएको थियो ।
कसैलाई पनि आफ्नो शरीरको अंग उसको स्वीकृतिबेगर प्रयोग गर्न बाध्य पारिनु सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथिकै आक्रमण हुन जान्छ । त्यसैले बलात्कारको कसुर व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार र आत्मनिर्णयको अधिकारविरुद्धको अपराध भएकाले त्यसमा पीडित व्यक्ति पहिले यौनसम्बन्धमा सक्रिय थियो वा थिएन भन्ने जाँच गर्नु नै अनावश्यक छ ।
वैवाहिक बलात्कारमा न्यून सजाय
सर्वोच्च अदालतले २०६५ मा आदेश जारी गर्नुअघिसम्म वैवाहिक बलात्कारलाई अपराध मानिँदैनथ्यो । आफ्नी श्रीमतीबाहेक अन्य महिलालाई जबर्जस्ती करणी गरे मात्रै अपराध मान्ने मुलुकी ऐनको व्यवस्थाले वैवाहिक सम्बन्धका आधारमा बलात्कार जस्तो जघन्य अपराधमा उन्मुक्ति दिन्थ्यो । जबकि अन्य अपराधमा वैवाहिक सम्बन्ध वा अन्य नाता सम्बन्धका आधारमा छुट पाइँदैन । त्यस्तो कानुनले महिलाको आत्मसम्मान, प्रतिष्ठा र शरीरउपरको निर्बिघ्न र निरपेक्ष अधिकार हुने मान्यतालाई खण्डन गर्थ्यो । सर्वोच्च अदालतले मुलुकी ऐनको त्यस्तो प्रावधानलाई संशोधन गर्न संसद्लाई निर्देशन दिएपछि अहिले वैवाहिक बलात्कार कसुर मानिने कानुन बनेको छ । तर यस्तो अपराधमा सजाय भने अन्य व्यक्तिलाई बलात्कार गर्दा हुनेभन्दा न्यून छ ।
संशोधित मुलुकी ऐनमा ‘अदालतबाट दोषी ठहर भएपछि तीनदेखि पाँच वर्ष कैद हुने’ व्यवस्था थियो । अपराध संहिताले यसलाई बदलेर ‘पाँच वर्षसम्म’ बनाएको छ । जसको अर्थ न्यूनतम एक दिन मात्र पनि सजाय हुन सक्छ । यसरी संहिता वैवाहिक बलात्कारमा हुने कैद सजायको व्यवस्था गर्दा मुलुकी ऐनभन्दा पछाडि फर्किएको छ । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको मानव अधिकार समितिले वैवाहिक बलात्कारमा न्यून सजाय हुने नेपालको कानुनी व्यवस्थालाई बदल्न भनेको थियो ।
हदम्यादको तगारो
२०७२ सालसम्म बलात्कारको मुद्दा ३५ दिनभित्र अदालतमा चलाइसक्नुपर्ने व्यवस्था थियो । जसका कारण बलात्कारपीडितका धेरै मुद्दा अदालत पुग्नै सकेनन् । बलात्कृत भएपछिको विक्षिप्तताबाट सामान्य अवस्थामा फर्किएर दोषीविरुद्ध मुद्दा लड्ने निर्णय गर्न नपाउँदै हदम्याद सकिने त्यस्तो अप्रभावकारी कानुनी व्यवस्थाले नै लामो समयसम्म पीडितलाई न्यायको याचना गर्नबाट वञ्चित गर्यो ।
सर्वोच्चले मुलुकी ऐनको ३५ दिने हदम्याद संशोधन गरी बढाउन २०६५ मा आदेश दियो । २०७२ सालपछि मात्रै मुलुकी ऐन संशोधन गरेर हदम्याद ६ महिना पुर्याइदियो । २०७५ भदौ १ देखि लागू भएको अपराध संहितामा हदम्याद एक वर्ष पुर्याइएको छ । यसमा पनि थप सुधारको खाँचो देखिन्छ । एकवर्षे हदम्यादले नाबालिग छँदा बलात्कृत भएकाहरूलाई वयस्क भएपछि न्याय खोज्न रोक्छ । नाबालिग हुँदा नै यौन हिंसा र बलात्कारको सिकार भएकाहरूले लामो समयको परामर्श र उपचारपछि मात्रै आफू सानै छँदा भएको ज्यादतीविरुद्ध लड्न हिम्मत जुटाउन सक्छन् । तर हदम्यादका कारण उनीहरूको न्यायिक लडाइँ सुरु हुनै नपाई सकिन्छ । अपराध संहितामा हाडनाता करणीमा जहिलेसुकै उजुरी गर्न सकिने व्यवस्था छ । नाबालिग हुँदा भएको बलात्कारका घटनामा पनि वयस्क भएपछि मुद्दा दर्ता गर्न सकिने गरी हदम्याद बढाउनु आवश्यक छ ।
फेसबुक प्रतिक्रियाहरु