धनगढीः सुदूरपश्चिमबाट उदाएर नेपाली कला क्षेत्रमा चम्किएका ६६ वर्षीय कलाकार तथा निर्देशक उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ। शनिबार चितवनमा गुडिरहकै बसमा उनको अचानक निधन भएको हो।
सुदूरपश्चिमको बैतडी घर भएका उनी जन्मथलोबाट राजधानी काठमाडौंतर्फको यात्रामा थिए। उनका निकटस्थका अनुसार उनी बसमा काठमाडौं गइरहेका थिए। उनको त्यहीँ बसमै निधन भएको हो।
उनी लामो समयदेखि दमको रोगबाट पीडित थिए। तर, आर्थिक अभावका कारण उनको उपचार राम्रोसँग हुन पाएको थिएन। लामो जुँगाका कारण भट्टराई जुङ्गे उपनामले चर्चित थिए। उनले एकसे एक सुपरहिट नेपाली फिल्ममा कला निर्देशकको रुपमा काम गरेका छन्। उनले कला निर्देशनसँगै फिल्ममा भेषभुषासमेत हेर्ने गर्दथे। तर, प्रविधिले फड्को मारेसँगै उनी पछिल्लो समय कामविहीन बनेका थिए।
आफू नजिक फिल्मकर्मीसँग उनले फिल्म क्षेत्रले आफूलाई विर्सिएको गुनासो गर्ने गरेका थिए। कुशल कलाकार समेत रहेका भट्टराई ४ दशकदेखि फिल्ममा सक्रिय थिए। ‘सन्तान’बाट कलाकार र कस्टुम डिजाइनरको रुपमा करिअर थालेका उनले पछिल्लो पटक फिल्म ‘मेरी मामु’मा कला निर्देशकको रुपमा काम गरेका थिए। त्यसयता उनको हातमा काम थिएन।
२०७३ सालमा एलजी अवार्डमा उनलाई कला निर्देशनको रुपमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। भट्टराईले नेपालीसँगै केही बलिउड फिल्ममा पनि अभिनय गरेका छन्। रेडियो नेपालमा उनले देउडा गीतसमेत गाएका थिए। पछिल्लो समय ‘प्रेमगीत ३’का लागि भट्टराईले ९३ वटा नक्कली बन्चरो बनाइदिएको समेत चर्चा चलेको थियो।
स्वर्गीय भट्टराईलाई नेपाली सिने क्षेत्रको विकेपिडियाको नामले समेत चिन्ने गरिन्थ्यो।
फेसबुक प्रतिक्रियाहरु