नागरिक रैबार/बाजुरा १९ जेठ। गौमुल गाउँपालिकाले पनि आईतबार सार्वजनिक विदा नदिने निर्णय गरेको छ । सरकारले परीक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी सार्वजनिक विदा दिने निर्णय गरेको भएपनि गौमुल गाउँपालिकाले भने आईतबार सार्वजनिक विदा नदिने निर्णय गरेको हो ।
गौमुल गाउँकार्यपालिकाको दोस्रो बैठकले काममा प्रत्यक्ष असरपर्ने भन्दै आईतबार सार्वजनिक विदा नगर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।
संघीय सरकाले सबै सरकारी कार्यालय आइतबार विदा दिने निर्णय गरेको भएपनि जेठ २० गते लागू हुने गरी गाउँपालिकामा रहेका सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरुमा हप्तामा १ दिन शनिबार मात्र विदा दिने निर्णय गरिएको अध्यक्ष रोकायाले बताए ।
त्यस्तै विहीबार बसेको गाउँकार्यपालिकाको दोस्रो बैठकले शुक्रबार कार्यालय समय दिउँसोको ३ बजेसम्म हुने गरी निर्णय गरेको छ ।
गाउँपालिकामा रहेका सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालयहरु तथा सर्वसाधारणहरुलाई बैठकमा निर्णय भएको सूचना जारी गर्दै शुक्रबार कार्यालय समय ३ बजेसम्म हुने गाउँपालिकाले जनाकारी गराएको छ ।
फेसबुक प्रतिक्रियाहरु