होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कार्यालय सहयोगीबाट वडाध्यक्ष
समाचार

कार्यालय सहयोगीबाट वडाध्यक्ष

‘भेट्दा पूर्ववडाध्यक्ष र वडासचिव अप्ठ्यारो मान्नुहुन्छ तर म सबैलाई सम्मान गर्छु, नमस्कार गर्छु’

  • नागरिक रैबार
कार्यालय सहयोगीबाट वडाध्यक्ष

ओखलढुंगा र दाङ — वडा कार्यालयमा काम लिएर पुगेका सेवाग्राहीले पहिले कसलाई भेट्छन् ? सोझो जवाफ हुन्छ– कार्यालय सहयोगी । मिठो बोल्ने, काममा सघाउने कार्यालय सहयोगी नै वडाका जनप्रतिनिधि बन्दा के होला ? यसपटकको स्थानीय तह निर्वाचनमा प्रदेश १ र लुम्बिनीका दुई स्थानीय तहका कार्यालय सहयोगी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

ओखलढुंगाको चिशंखुगढी–५ मा नेत्र भट्टराई र दाङको राप्ती–८ मा चन्द्रबहादुर गुरुङ निर्वाचित भएका हुन् ।

सेर्नाका भट्टराईले २०६६ मा एसएलसी पास गरे । प्लस टुमा फेल भए । त्यसपछि कमाउन लागे विदेश । तीन वर्ष कतार र दुई वर्ष मलेसिया बसेर केही पैसा कमाए । गाउँ फर्केर सानो होटल खोले । बुबा लक्ष्मी भट्टराई चिशंखुगढी–५ को वडा कार्यालयका सहयोगी थिए । तीन वर्षअघिको कुरा हो । २५ वर्ष सेवा गरेपछि बुबाले अनिवार्य अवकाश पाए ।

विज्ञापन

नेत्रलाई आफ्नो ठाउँमा जागिर खान भने । उनलाई जागिर खाने रहर थिएन । बुबाले मासिक दुई सय तलब हुँदादेखि त्यही जागिरले परिवार पालनपोषण गरेको सुनाए । ‘अहिले १५–१६ हजार रुपैयाँ तलब छ, जागिर खानुपर्छ’ भनेर सम्झाए । नेत्रले बुबाको वचन काट्न सकेनन् । जागिर खाए । वडामा कार्यालय सहयोगी पद भए पनि उनले कतिपय अवस्थामा वडा सचिवले गर्नुपर्ने कामसमेत गरे ।

वडाध्यक्ष कार्यालयमा नआएका कतिपय दिन सेवाग्राहीको कागजात तथा सिफारिस बोकेर नेत्र आफैं उनका घर र गाउँपालिका कार्यालय पुग्थे । वृद्धवृद्धा र असहायको कामलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्थे । वडामै काम गर्ने सिलसिलामा आफन्त पर्ने कांग्रेसमा आबद्ध एक नेतासँग वादविवाद भयो । यही निहुँमा उनलाई वडाबाट गाउँपालिका कार्यालयमा सरुवा गरिदिए । गाउँपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतले निकै हेपाहा व्यवहार गरे । कर्मचारीले गरेको व्यवहारले उनको मन दुख्यो । गएको दसैंअघि जागिर छाडे । उनले बोलेरो जिप किनेका थिए । आफैं चलाउँथे । चुनावको प्रसंग गाउँमा चल्न थाल्यो । नेत्र कुनै पनि पार्टीमा आबद्ध थिएनन् । उनले सेवा दिएका वृद्धवृद्धा, उनको गाडीमा चढ्ने यात्रु, गाउँलेले ‘तिमी चुनावमा उठ्यौ भने भोट हाल्थ्यौं नि,’ भने । चुनावको एक महिनाअघि उनलाई माओवादी केन्द्रले वडाध्यक्षको उम्मेदवार बनाउने प्रस्ताव राख्यो । तर, उनको वडामा माओवादी पार्टीको संगठन कमजोर थियो । तैपनि आफूले खुसी पारेका सेवाग्राहीको मतको हिसाब गर्दा आस जाग्यो । मनोनयन दर्ताको मितिभन्दा पाँच दिनअघि उनले पार्टीबाट टिकट पाए ।

आफूसँगै साथीभाइ र बुबा लिएर घरदैलो अभियानमा निस्किए । धेरैले उनलाई पत्याएनन् । तर निकटतम प्रतिस्पर्धीभन्दा १ सय १५ मत बढी ल्याएर वडाध्यक्ष निर्वाचित भए । आफूले कार्यालय सहयोगी काम गरेको वडामा २९ वर्षका नेत्र वडाध्यक्ष बने ।

८ वटा वडा भएको चिशंखुगढीमा माओवादीका ३८ वर्षीय निशान्त शर्मा बाँस्तोला गाउँपालिका अध्यक्ष र कांग्रेसका ४४ वर्षीय सन्तोषबाबु थापा उपाध्यक्ष निर्वाचित भएका छन् । १ देखि ५ सम्मका वडाध्यक्षमा माओवादी, ६ र ७ कांग्रेस र ८ एमालेले जितेको छ । स्थानीय तहमा सत्ता गठबन्धन दलको उपस्थिति बलियो भएकाले आफ्नो वडाका लागि छनोट गरिने योजनालाई बजेट विनियोजन हुनेमा नेत्र ढुक्क देखिएका छन् । उनी कार्यालय सहयोगी हुँदाकै वडा सचिव हाल वडामा कार्यरत छन् । ‘मलाई भेट्दा पूर्ववडाध्यक्ष र अहिलेको वडा सचिव सबै जना अप्ठ्यारो मान्नुहुन्छ,’ नेत्रले भने, ‘तर म सबैलाई सम्मान गर्छु, नमस्कार गर्छु । उहाँहरूसँगै सल्लाह लिएर काम गर्ने योजना बनाएको छु ।’ आफ्नो कार्यकालमा वृद्धवृद्धालाई रेडियो दिने, दोसल्ला ओढाउने, फलफूल दिनेजस्ता क्षणिक लोकप्रियताका काम नगर्ने उनको भनाइ छ । अस्पतालदेखि टाढा र दुर्गमको वडा भएकाले पहिलो प्राथमिकता सडकलाई भरपर्दो बनाउन स्तरोन्नति गर्ने योजना छ ।

‘जो कोही बिरामी हुँदा आफ्नै घरदेखि अस्पतालसम्म गाडीमा जान मिलोस्,’ उनले भने, ‘वडा कार्यालयमा एउटा शौचालयसम्म छैन । पहिले त कार्यालयलाई नै व्यवस्थित गर्ने योजना छ । म सपना बाँड्दिनँ । सकिने खालको काम गर्नेछु ।’ उनकै गाउँलेहरू उनी कुनै पार्टीको नेता नभएर कार्यालय सहयोगी हुँदा गरेको असल सेवाकै कारण वडाध्यक्ष निर्वाचित भएको बताउँछन् ।

फरक भूमिकामा खुसी

चन्द्रबहादुर गुरुङ दुई महिनाअघिसम्म राप्ती गाउँपालिका–८ मा कार्यालय सहयोगी थिए । कार्यालय खुल्नुअघि नै पुगेर सरसफाइ गर्थे । दिनभर वडाध्यक्ष, सचिव र अन्य कर्मचारीलाई चियापानीको व्यवस्था गर्थे । बेलुका कार्यालय बन्द गरेर घरतिर लाग्थे । अहिले पनि उनी दिनहुँ त्यही कार्यालय जान्छन् तर फरक भूमिकामा । अहिले उनलाई कार्यालय सरसफाइदेखि चिया पुर्‍याउनेसम्मका काम गर्नु पर्दैन । आफैं सहयोगी भएको कार्यालयमा अहिले उनी वडाध्यक्ष भएका छन् ।

पाँच वर्षसम्म कार्यालय सहयोगी रहेको वडामा अध्यक्ष निर्वाचित भएपछि उनलाई सबैले उदाहरणीय पात्रका रूपमा हेरेका छन् । कार्यालय सहयोगी हुँदा कार्यालय सरसफाइदेखि सानातिना सिफारिसका पत्रहरू लेख्ने कामसमेत गरेका ३२ वर्षीय गुरुङले अहिले वडाको नेतृत्व गरेका छन् । स्थानीय तह निर्वाचनमा एमालेले वडाध्यक्षको टिकट दिएपछि उनी चैतमा जागिर छोडेर चुनावमा होमिएका थिए । आफैंले सहयोगीका रूपमा काम गरेको वडामा जनताको मन जितेर अध्यक्ष निर्वाचित हुन पाउँदा गर्वको महसुस भएको उनले बताए । ‘कार्यालय सहयोगी भएको वडामा अध्यक्ष भएर काम गर्ने जिम्मेवारी पाएको छु,’ उनले भने, ‘जनताले फरक भूमिकामा सेवा गर्न पठाएका छन् । म स्थानीयको चाहनाअनुसार काम गर्नेछु ।’

२०७४ को स्थानीय तह निर्वाचनमा गोकर्णबहादुर रानामगर वडाध्यक्षमा निर्वाचित भएपछि उनी कार्यालय सहयोगी नियुक्त भएका थिए । ‘पहिले अरूले अह्राएको काम गर्नुपर्थ्यो,’ गुरुङले भने, ‘अहिले आफूले योजना बनाएर चाहेअनुसार काम गर्न पाइएको छ ।’ तीन वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका उनले फेरि जाने सोच बनाइरहेका बेला कार्यालय सहयोगीको जागिर पाएका थिए । वडाध्यक्ष लड्न निवर्तमान अध्यक्ष रानामगरको समेत नाम सिफारिस भएको थियो । तर, अन्तिममा गुरुङको नाम उम्मेदवारमा छनोट भएको थियो । उनी कांग्रेसका प्रभाकरदेव चौधरीलाई १ सय ३४ मतले पछि पार्दै निर्वाचित भएका हुन् । उनले ९ सय ५० र चौधरीले ८ सय १६ मत पाएका थिए । माओवादी केन्द्रका रामचन्द्र चौधरीले २ सय ६ मत प्राप्त गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १६ घन्टा अगाडि

भर्खरै