होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, पुस २४, २०८१
जोडिनुहोस
समाचार

बाटैमा सुत्केरी

स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ भन्ने थाहा भए पनि धेरैजसो जान खोज्दैनन्, लामो समयसम्म बेथा लाग्दा आमा र शिशुको ज्यान जोखिममा पर्ने गरेको छ

  • नागरिक रैबार
बाटैमा सुत्केरी

मुगु‚ वीरेन्द्रनगर‚ रुकुम पश्चिम — मुगुको खत्याड–३ रोलका ५६ वर्षीय दृष्टिविहीन कल्से नेपालीकी ४१ वर्षीया श्रीमती जौकलालाई शुक्रबार बिहान ५ बजेतिर सुत्केरी बेथा लाग्यो । गमगढीमा बस्दै आएका उनले गर्भवती पत्नीलाई हिँडाएरै जिल्ला अस्पताल लैजान खोजे । पुग्न नभ्याउँदै जौकलाले अदालत चोकको सडकमै बच्चा जन्माइन् ।

गमगढीस्थित सार्वजनिक जग्गामा एककोठे टहरो बनाएर बसिरहेका उनी बाटोमा गीत गाएर माग्दै परिवारको गुजारा चलाउँछन् । १६ वर्षको उमेरमा दुवै आँखा बन्द भएका उनले भगवान्सँग श्रीमतीको अवस्था छिट्टै सामान्य होस् भनेर कामना गरेको बताए । जौकलाको पहिलो गर्भ तुहिएको थियो भने दोस्रो सन्तानका रूपमा छोरा जन्मिए पनि एक महिना नपुग्दै बान्ता भएर मृत्यु भएको थियो । तेस्रो पटक ६ वर्षअघि छोरी जन्माएकी उनले अहिले पनि छोरीलाई जन्म दिइन् ।

बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता भोग्ने जौकला एक्ली होइनन् । कर्णाली प्रदेशमा हरेक महिनाजसो यस्ता घटना बाहिर आउँछन्, जसले समग्र प्रदेशको स्वास्थ्य अवस्थाको कमजोर चित्र उजागर गर्छन् । रुकुम पश्चिमको आठबीसकोट–११ चौरकी २२ वर्षीया पार्वती विकलाई गत साताको एउटा बिहान सुत्केरी बेथाले च्याप्यो । आफन्त र छिमेकीले हतारहतार नगर अस्पताल आठबीसकोट पुर्‍याए । त्यहाँ सुत्केरी गराउन नसकेपछि अस्पतालले चौरजहारी अस्पताल लैजान भन्यो । लैजाँदै गर्दा चौरजहारी–३ दमारनजिकैको सडकमा उनी सुत्केरी भइन् । ‘उनको पहिलो गर्भ भएकाले हामी नर्मल डेलिभरी गराउने तयारीमा थियौं,’ आठबीसकोट नगर अस्पतालकी स्वास्थ्यकर्मी चम्पा खड्काले भनिन्, ‘बिहान ६ बजे अस्पताल आएकी उनको १० बजेसम्म पाठेघरका चार घर खुलेका थिए, त्यसपछि क्रमशः १० वटै घर त खुले तर बच्चा बाहिर निस्किएन, त्यसपछि चौरजहारी अस्पताल पठाएको त बाटैमा बच्चा जन्मिएछ ।’

विज्ञापन

सामान्य अवस्थाभन्दा लामो समय बेथा लागेपछि प्रसूति गराउन नसकिएको उनले बताइन् । ‘पहिलोपटक हो भने सबै घर खुलेको दुई घण्टा र दोस्रोपटक सुत्केरी हुँदै हो भने सबै घर खुलेको आधा घण्टामा बच्चा जन्मिसक्नुपर्छ,’ घर्तीले भनिन्, ‘सबै घर खुलेको दुई घण्टासम्म पनि बच्चा नजन्मिएपछि उहाँलाई चौरजहारी पठाइएको हो ।’ पार्वतीका आफन्तले आफ्नै गाडीमा चौरजहारी लगेका थिए ।

चौरजहारी अस्पताल पुग्ने दुईवटा बाटा छन् । एउटा सानीभेरी नदीमाथिको मोटरेबल पुल तरेर जाने र अर्को जाजरकोटको मटेला पुगेर पैदलै झोलुंगे पुलबाट जाने । पार्वतीलाई उनका आफन्तले जाजरकोटको बाटो भएर चौरजहारी अस्पताल लगेका थिए । जाजरकोटको भेरी नगरपालिकास्थित मटेला पुगेपछि पार्वतीलाई गाडीबाट निकाली स्ट्रेचरमा राखेर झोलुंगे पुल तारियो । त्यसपछि अर्को गाडी चढ्नुपर्ने थियो तर झोलुंगे पुल तर्नेबित्तिकै पार्वती सुत्केरी भइन् । त्यतिबेला उनका श्रीमान् सुनील पनि सँगै थिए । ‘हामी अर्को गाडीमा चढाउने तयारीमा थियौं तर बाटोमै बच्चा जन्मियो,’ उनले भने । बच्चा र आमाको अवस्था सामान्य छ ।

भौगोलिक विकटता, प्रसूतिगृह टाढा हुनु, परिवारको लापरबाही, परिवारको आर्थिक अवस्थालगायत कारण कर्णालीका महिला बाटोमै सुत्केरी हुन बाध्य छन् । हुम्लाको सर्केगाडकी जन्ममाया सुनारलाई गत वर्ष फागुन ८ मा सुत्केरी बेथाले च्याप्यो तर स्वास्थ्य चौकी लैजाने जोहो गरिएन । दुई दिन बेथा लागेपछि मात्रै स्वास्थ्य स्वयंसेविका सरिता शाहीले स्वास्थ्य चौकी लैजान सल्लाह दिइन् । ‘शरीरको पानी खेर गइरहेको थियो,’ उनले भनिन्, ‘बेथा लागेको लामो समयपछि मैले थाहा पाएर चौकी लैजान सल्लाह दिएँ ।’

दिनभर हिँडेर पुग्नुपर्ने स्वास्थ्य चौकी लैजान स्ट्रेचर तयार पारियो । स्ट्रेचरमा बोकेर चौकी नपुर्‍याउँदै सुनारले छोरी जन्माइन् । ‘म पनि उहाँहरू सँगै गएकी थिएँ,’ उनले भनिन्, ‘सबै मिलेर बाटोमै सुत्केरी गरायौं, आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य नै थियो तर स्वास्थ्य चौकी पुगिसकेपछि बच्चाको मृत्यु भयो ।’ जोखिम मोलेर घरमै सुत्केरी गराउन खोज्दा बच्चा गुमाउनुपरेको जन्ममाया बताउँछिन् । उनले भनिन् ‘ढिला स्वास्थ्य चौकी जाँदा आफ्नो स्वास्थ्य पनि जोखिममा पर्‍यो, बच्चा पनि गुम्यो ।’

०७७ वैशाखमा कालीकोटको तिलागुफा–७ माथिबाडाकी २३ वर्षीया जनपुरा शाहीलाई बेथाले च्याप्यो । स्वास्थ्य चौकी पुग्नै आधा दिन हिँड्नुपर्ने भएपछि उनलाई घरमै सुत्केरी गराउने तयारी भयो । करिब १३ घण्टा बेथाले च्यापेपछि पनि बच्चा जन्मिएन । अनि मात्रै स्वास्थ्य चौकी लैजाने जोहो गरियो तर बाटोमै उनले छोरा जन्माइन् । संयोगले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रह्यो । बाटोमै सुत्केरी भएकी उनले बच्चा च्यापेर स्वास्थ्य चौकी पुगेपछि यातायात खर्च पाइन् । ‘स्वास्थ्य चौकी नपुगेपछि यातायातबापतको खर्च पाइँदैन,’ उनले भनिन्, ‘त्यसैले फेरि स्वास्थ्य चौकी पुगेर यातायात खर्च लिएकी हुँ ।’

जनचेतनाको कमीले गर्दा कर्णालीका आमाहरू जोखिम मोलेर घरमा र बाटोमै सुत्केरी हुनुपर्ने अवस्था आएको महिला स्वास्थ्य स्वयंसेविका सरिता शाहीको भनाइ छ । ‘स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ भन्ने थाहा भए पनि धेरैले जान खोज्दैनन्,’ उनले भनिन्, ‘घरमै झारफुक र विभिन्न औषधि खाएर सुत्केरी हुन खोज्दा बच्चा र आमाले स्याहारसुसार र पौष्टिक आहार पाउँदैनन् ।’ घरमै सुत्केरी हुन खोज्दा र प्रसूतिगृह टाढा हुँदा आमा र शिशुको ज्यान जोखिममा पर्ने गरेको शाहीले बताइन् ।

कर्णालीका आमाहरूका लागि प्रसूतिगृह टाढा हुनुमात्रै दुर्भाग्य होइन, यातायात सुविधा नहुनु पनि समस्या हो । ‘सबै ठाउँमा सडक सुविधा पुगेको छैन,’ कालीकोटको तिलागुफा नगरपालिकाका स्थानीय लालबहादुर शाही भन्छन्, ‘स्वास्थ्य संस्थासम्म पुग्न सडक छैनन्, कतै सडक भए पनि एम्बुलेन्सको सुविधा हुँदैन, यसले गर्दा यहाँका महिला असुरक्षित ढंगले बाटोमै सुत्केरी हुन्छन् ।’

उनका अनुसार यातायात खर्चको लोभमा बाटोमै बच्चा जन्माएका महिलाले पनि स्वास्थ्य चौकी गएर नाम लेखाउने गरेकाले सरकारी रेकर्डमा अन्यत्र सुत्केरी भएकाको विवरण भेटिँदैन । ‘सुविधा दिएपछि बाटोमा जन्मिएको पनि भन्न मिल्दैन,’ उनले भने, ‘ग्रामीण क्षेत्रका महिलालाई अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा लैजाँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा परिरहेको छ ।’

मुगुको खत्याड गाउँपालिका–४ स्थित जुकागाउँकी २० वर्षीया धनलक्ष्मी रावललाई गत फागुन १६ मा सुत्केरी बेथाले च्याप्यो । १८ घण्टाभन्दा बढी समय बेथा लागेपछि मात्रै उनको बच्चा उल्टो अवस्थामा रहेको थाहा भयो । सुत्केरी हुन नसक्ने थाहा पाएपछि आफन्तले उद्धारका लागि हेलिकोप्टर गुहारे । हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत ल्याउने क्रममा उनले हेलिकोप्टरमै बच्चा जन्माइन् । मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको यात्रामा हेलिकोप्टर चढेको ३० मिनेटपछि उनले छोरा जन्माएकी हुन् ।

जनस्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख कटक महतले यातायात खर्च पाउनका लागि बाटोमै बच्चा जन्मिए पनि स्वास्थ्य चौकी पुग्ने गरेको बताए । ‘उनीहरूले नाम लेखाएपछि यातायात खर्च दिइन्छ,’ उनले भने, ‘सुविधा दिएपछि बाटोमा जन्मिएको भनेर तथ्यांकमा लेख्दैनौं, त्यसैले बाटोमा यति सुत्केरी भए भन्ने तथ्यांक हुँदैन ।’ उनले ग्रामीण क्षेत्रका महिलालाई अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा लैजाँदा पनि आमा र बच्चा दुवैको ज्यान जोखिममा परिरहेको बताए ।

कर्णालीमा २३.६ प्रतिशत परिवार मात्रै आधा घण्टाभित्र स्वास्थ्य संस्था पुग्न सक्ने तथ्यांक कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयसँग छ । बाँकी जनसंख्या घण्टौं लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता छ । कर्णालीका १० जिल्लामध्ये हुम्ला अझै पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशभरि ३ सय ५९ वटा बर्थिङ सेन्टरहरू छन् । सबैभन्दा बढी बर्थिङ सेन्टर दैलेखमा ७२ वटा छन् । निर्देशनालयका अनुसार सबैभन्दा कम बर्थिङ सेन्टर गृह डोल्पामा १४ वटा छन् । निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले पछिल्लो समय दुर्गम भेगमा बर्थिङ सेन्टरहरू थपिँदै गएकाले महिलाहरूलाई प्रसूति हुन सहज भएको दाबी गरे ।

निर्देशनालयका अनुसार कर्णालीमा कुल जनसंख्याको ८७.१ प्रतिशत महिला स्वास्थ्य संस्थामै प्रसूति हुन्छन् । यस्तै २६ हजार ४ सय ८१ (६९.६ प्रतिशत) महिला दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी हुने गरेका छन् ।

कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार