नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले डा. बाबुराम भट्टराईलाई पार्टी अध्यक्ष बनाउने अध्यक्ष प्रचण्डको तत्कालीन सोच दूरदर्शी रहेको बताएका छन् ।
पार्टीको जारी आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डको मूल दस्तावेजमाथि १९ बुँदे सुझाव राख्दै नेता गजुरेलले यस्तो बताएका हुन् ।
‘तत्कालीन एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा डा.बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने नेतृत्वको सोच दूरदर्शी थियो,’ सुझावको १८ नम्बर बुँदामा नेता गजुरेलले लेखेका छन्, ‘यो अभ्यासमा जान पार्टीपंक्ति तयार नभएपछि अध्यक्ष ब्याक हुनुभएको हुनुपर्छ ।’
नेता गजुरेलले अध्यक्ष प्रचण्डको सोचअनुसारको उक्त प्रयोग (बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने) कस्तो हुन्थ्यो भन्ने विषय दस्तावेजमा समावेश गर्नुपर्ने पनि बताएका छन् । ‘यो नयाँ प्रयोग कस्तो हुन्थ्यो, अध्यक्षले यो विषय छुवाउँदा राम्रो होला’ गजुरेलले लेखेका छन् ।
प्रचण्डपथ स्थगन हुँदा विचलन
प्रचण्डको राजनीतिक प्रतिवेदनलाई परिमार्जन र भावी दिनमा कार्यान्वयनमा कुनै कमी नआओस् भन्नका लागि बुँदागत सुझाव दिएको उल्लेख गर्दै नेता गजुरेलले प्रचण्डपथ स्थगन हुँदा पार्टीमा विचलन देखापरेको बताएका पनि छन् ।
शान्तिप्रकृयामा आएपछि बालाजुको विस्तारित बैठक, खरिपाटीको राष्ट्रिय भेला, पालुङटारको विस्तारित बैठक र बिराटनगर राष्ट्रिय सम्मेलनको दौरान विचार, नीति र संगठनमा सम्झौता गर्दै जाँदा समस्या भएको उनको ठहर छ ।
शान्तिप्रकृयापछि वाद-प्रतिवाद-संवादको द्वन्द्वात्मक प्रक्रिया अवरुद्ध हुँदा विचारको विकास पनि हुन नसकेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘बालाजु विस्तारित बैठकको ‘मुखमा चुनाव, दिमागमा विद्रोह’ को सारसंग्रहवादी संश्लेषणबाट सुरु हुँदै राष्ट्रियस्तरको छलफल विना नै प्रचण्डपथको स्थगन हुँदा गम्भीर विचलन पैदा भयो ।’
चितवनमा सम्पन्न एकता महाधिवेशन, चौथो विस्तारित बैठक, दोस्रो राष्ट्रिय सम्मेलन र फुन्टीवाङ बैठकमा संघर्ष निकै चर्को भएको स्मरण गर्दै उनले त्यसबेला पार्टीले विचार र नीतिमा सम्झौता नभएको उल्लेख गरेका छन् ।
त्यसैको परिणाममा नेतृत्वको स्थापना, प्रचण्डपथको रुपमा विचारको संश्लेषण, दुम्ला बैठकको २१औं शताब्दीमा जनवादको विकास र फुन्टीवाङ र लावाङको संघर्षलाई झेल्दै चुनवाङ बैठकमा संश्लेषित लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिसम्ममा वैचारिक विकास र स्पष्टताले मूर्त रुप लिएको उनको ठहर छ ।
तर, शान्तिप्रकृयामा आएपछि माओवादीमा सिद्धान्त र व्यावहारको सन्तुलन कमजोर हुँदै गएको उनको निष्कर्ष छ ।अनलाइन खबरबाट साभार
फेसबुक प्रतिक्रियाहरु